+

मझिया स्मृति कपको उपाधि सातदोबाटो युथ क्लबलाई, तेह्रथुम उपविजेता

२०८३ कात्तिक  १५ गते १४:४० २०८३ कात्तिक १५ गते १४:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संखुवासभाको मादी नगरपालिका–३ मा आयोजित प्रथम मझिया स्मृति कप महिला फुटबलको उपाधि सातदोबाटो युथ क्लब, ललितपुरले जितेको छ।
  • फाइनलमा सातदोबाटोले फेदाप गाउँपालिका, तेह्रथुमलाई टाइब्रेकरमा ४–३ गोलले हराएको हो।
  • विजेता सातदोबाटोले तीन लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता फेदापले एक लाख ५० हजार रुपैयाँ पाएको छ।

१५ कात्तिक, काठमाडौं । संखुवासभाको मादी नगरपालिका–३, मूलखर्कमा आयोजित प्रथम मझिया स्मृति कप आमन्त्रित ९ ए साइड महिला फुटबल प्रतियोगिताको उपाधि सातदोबाटो युथ क्लब, ललितपुरले जितेको छ ।

शनिबार सम्पन्न फाइनलमा फेदाप गाउँपालिका, पोक्लावाङ, तेह्रथुमलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्दै सातदोबाटोले उपाधि जितेको हो । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । फेदाप उपविजेतामा सीमित भयो ।

यसअघि शुक्रबारका लागि तय भएको फाइनल खेल निरन्तर वर्षा र प्रतिकूल मौसमका कारण स्थगित गरिएको थियो । स्थगित खेल शनिबार सञ्चालन गरिएको हो ।

फाइनलमा उत्कृष्ट प्रदर्शन गरेकी फेदापकी गोलरक्षक करुणा बुढाथोकी प्लेयर अफ द म्याच घोषित भइन् ।

प्रतियोगिताको विजेता सातदोबाटोले तीन लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता फेदापले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सातदोबाटोकी कप्तान वर्षा मगर घोषित भइन् । उनले २१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । ओखलढुंगाको पदमा स्पोर्ट्स क्लबकी सिम्राङ गुरुङ सर्वाधिक गोलकर्ता बनिन् भने सातदोबाटोकी अस्मिता नेपाली उत्कृष्ट गोलरक्षक घोषित भइन् । सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही १० हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गरे ।

स्वर्गीय मानबहादुर जिमी ‘मझिया’को स्मृतिमा आयोजित प्रतियोगिता मझिया मानबहादुर जिमी स्मृति प्रतिष्ठानको आयोजना तथा हाङ्थुम क्लबको सह–आयोजनामा सञ्चालन भएको हो । प्रतियोगितामा आठ टोली सहभागी थिए । प्रतिष्ठानका अनुसार प्रतियोगिता प्रत्येक तीन वर्षमा आयोजना गरिनेछ ।

समापन समारोहमा प्रतिनिधिसभा सदस्य डा. अर्जुनकुमार कार्की प्रमुख अतिथि तथा प्रतिष्ठानका अध्यक्ष रामकुमार जिमी सभाध्यक्ष रहेका थिए ।

मझिया स्मृति कप महिला फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय