News Summary
Generated by OK AI. Editorially reviewed.- ऐश्वर्या राय बच्चनले ५३औँ जन्मदिन मनाउँदै गर्दा उनका पछिल्ला वर्षमा हिन्दी फिल्मको सक्रियता कम भएको छ ।
- सन् १९९४ मा मिस वर्ल्ड जितेपछि उनले ‘हम दिल दे चुके सनम’, ‘ताल’ र ‘देवदास’ मार्फत बलिउडकी शीर्ष अभिनेत्रीको पहिचान बनाइन् ।
- सन् २०२२ र २०२३ मा ‘पोन्नियिन सेल्वन’ का दुई भागमार्फत ऐश्वर्याले दक्षिण भारतीय सिनेमामा पुनरागमन गर्दै उत्कृष्ट अभिनेत्रीको पुरस्कार जितिन् ।
ऐश्वर्या राय बच्चन आज आफ्नो ५३औँ जन्मदिन मनाउँदैछिन् । सन् १९९४ मा मिस वर्ल्डको उपाधि जित्नुअघि नै उनलाई फिल्ममा अभिनय गर्ने प्रस्ताव आएका थिए । तर उनले त्यतिबेला फिल्मभन्दा पढाइ र मिस इन्डिया प्रतियोगितालाई प्राथमिकता दिइन् ।
त्यसपछि तमिल र हिन्दी फिल्मबाट अभिनय यात्रा सुरु गरेकी ऐश्वर्या ‘हम दिल दे चुके सनम’, ‘ताल’ र ‘देवदास’ जस्ता फिल्ममार्फत बलिउडकी शीर्ष अभिनेत्रीमध्ये एक बनिन् ।
एक समय कान्सदेखि हलिउडसम्म चर्चामा रहेकी ऐश्वर्याको फिल्मी सक्रियता अहिले भने निकै कम भएको छ ।
बलिउडमा उनका लागि पहिले जस्तै दमदार भूमिका आउन छाडेका हुन् कि उनले आफैँ आफ्नो फिल्मी यात्रा सुस्त बनाएकी हुन् ?
१.मिस वर्ल्ड बन्नुअघि ४ फिल्मका प्रस्ताव
ऐश्वर्या रायको फिल्मी यात्रा मिस वर्ल्डको ताज जितेपछि मात्रै सुरु भएको होइन । फिल्ममा प्रवेश गर्नुअघि नै उनी मोडलिङ क्षेत्रमा आफ्नो पहिचान बनाइसकेकी थिइन् । सन् १९९१ मा उनले फोर्ड सुपरमोडल प्रतियोगितामा सहभागिता जनाएकी थिइन् । त्यसपछि विभिन्न ठूला ब्रान्डका विज्ञापन र फेसन म्यागजिनमा देखिन थालिन् ।
सन् १९९० को दशकको सुरुवातमै उनलाई फिल्ममा अभिनय गर्ने प्रस्ताव आउन थालेका थिए । सन् २०१२ मा ‘भोग इन्डिया’ लाई दिएको अन्तर्वार्तामा ऐश्वर्याले मिस इन्डिया र मिस वर्ल्ड प्रतियोगितामा सहभागी हुनुअघि नै आफूलाई कम्तीमा ४ फिल्मका प्रस्ताव आएको बताएकी थिइन् ।

उनका अनुसार त्यतिबेला उनले फिल्ममा प्रवेश गर्नुभन्दा मिस इन्डिया प्रतियोगितामा सहभागी हुने निर्णय गरिन् । उनी केही समय फिल्म क्षेत्रबाट टाढा रहेर करियरका अन्य सम्भावना पनि खोज्न चाहन्थिन् ।
उनले मिस इन्डिया प्रतियोगितामा सहभागी नभएको भए आमिर खानसँगको फिल्म ‘राजा हिन्दुस्तानी’ आफ्नो पहिलो फिल्म हुन सक्ने बताएकी थिइन् । सन् १९९६ मा प्रदर्शन भएको उक्त फिल्ममा पछि करिश्मा कपुरले अभिनय गरेकी थिइन् ।
ऐश्वर्याका पढाइ बीचमै छाडेर फिल्ममा आउन चाहन्नथिन् । आफ्नो निर्णयले आफूलाई आदर्श मान्ने युवाहरूमा प्रभाव पार्न सक्ने उनलाई लाग्थ्यो । आफ्नो सफलता देखेर अरूले पनि पढाइ छाडेर सिधै ग्ल्यामर क्षेत्रमा प्रवेश गर्ने निर्णय नगरून् भन्ने उनको चाहना थियो ।
२.वर्ल्ड बनिन्, विश्वभर चिनिइन्
ऐश्वर्या रायले सन् १९९४ को जनवरीमा मिस इन्डिया प्रतियोगितामा सहभागिता जनाएकी थिइन् । उक्त प्रतियोगितामा उनी सुष्मिता सेनपछि दोस्रो स्थानमा रहेकी थिइन् । नोभेम्बरमा उनले दक्षिण अफ्रिकाको सन सिटीमा आयोजित मिस वर्ल्ड प्रतियोगितामा भारतको प्रतिनिधित्व गरिन् ।
प्रतियोगितामा ८६ देशका प्रतिस्पर्धी सहभागी थिए । सबैलाई पछि पार्दै ऐश्वर्याले मिस वर्ल्ड १९९४ को उपाधि जितिन् । उनी रीता फारियापछि मिस वर्ल्ड बन्ने दोस्रो भारतीय महिला बनिन् ।
प्रतियोगिताको अन्तिम चरणमा उनलाई मिस वर्ल्डमा कस्ता गुण हुनुपर्छ भन्ने प्रश्न सोधिएको थियो । जवाफमा उनले करुणा, दुख:मा परेका मानिसप्रतिको संवेदनशीलता तथा राष्ट्रियता, वर्ण र सामाजिक हैसियतभन्दा माथि उठेर मानिसलाई हेर्न सक्ने दृष्टिकोण हुनुपर्ने बताएकी थिइन् ।

उनको यो जवाफले पनि विश्वभर चर्चा पायो । मिस वर्ल्ड बनेपछि उनको जीवनले नयाँ मोड लियो । अन्तर्राष्ट्रिय मञ्चमा भारतको प्रतिनिधित्व गर्ने अवसर पाइन् । फेसन शो, सञ्चारमाध्यमसँगको अन्तर्वार्ता, सामाजिक कार्यक्रम र विभिन्न देशको भ्रमणले उनलाई अन्तर्राष्ट्रिय सेलिब्रिटीका रूपमा स्थापित गर्न मद्दत गर्यो ।
मिस वर्ल्ड संगठनका अनुसार आफ्नो कार्यकालमा ऐश्वर्याले विभिन्न देशको भ्रमण गर्नुका साथै सामाजिक गतिविधिमा पनि सहभागिता जनाएकी थिइन् । यसले उनको अन्तर्राष्ट्रिय पहिचान थप बलियो बनायो ।
३.पहिलो फिल्मबाटै प्रशंसा
सन् १९९७ मा उनले मणिरत्नमको तमिल फिल्म ‘इरुवर’ बाट अभिनय यात्रा सुरु गरिन् । फिल्ममा उनीसँगै मोहनलाल र प्रकाश राज पनि थिए । फिल्मले समीक्षकबाट राम्रो प्रतिक्रिया पायो ।
त्यही वर्ष उनको पहिलो हिन्दी फिल्म ‘और प्यार हो गया’ प्रदर्शनमा आयो । यसमा उनी बबी देओलसँग देखिएकी थिइन् । फिल्मले बक्स अफिसमा ठूलो सफलता हासिल गर्न नसके पनि ऐश्वर्याको सुन्दरता र पर्दामा देखिने प्रभावको चर्चा हुन थाल्यो ।
सन् १९९८ मा तमिल फिल्म ‘जीन्स’ बाट उनले दक्षिण भारतीय सिनेमामा पनि पहिचान बनाइन् । त्यसपछि ऋषि कपुरको निर्देशनमा बनेको फिल्म ‘आ अब लौट चलें’ मा अक्षय खन्नाको जोडीका रूपमा देखिइन् । यद्यपि उक्त फिल्म सफल हुन सकेन ।
सन् १९९९ मा सञ्जय लीला भन्सालीको ‘हम दिल दे चुके सनम’ उनको करियरकै महत्त्वपूर्ण फिल्म बन्यो । त्यही वर्ष उनले सुभाष घईको फिल्म ‘ताल’ मा पनि अभिनय गरिन् । फिल्मका गीत र ऐश्वर्याको पर्दामा देखिने आकर्षणले उनलाई देशभर चिनायो । ‘हम दिल दे चुके सनम’ का लागि उनले फिल्मफेयरको उत्कृष्ट अभिनेत्रीको पुरस्कार जितिन् ।
सन् २००० मा उनी ‘मोहब्बतें’, ‘जोश’ र ‘हमारा दिल आपके पास है’ जस्ता फिल्ममा देखिइन् । यी फिल्मले ऐश्वर्या सुन्दरताका साथै फरक–फरक भूमिकामा पनि आफूलाई प्रस्तुत गर्न सक्ने अभिनेत्री हुन् भन्ने प्रमाणित गरायो ।
४.‘देवदास’ले पुर्यायो कान्ससम्म
ऐश्वर्याको करियरका महत्त्वपूर्ण फिल्ममध्ये सञ्जय लीला भन्सालीको ‘देवदास’ पनि एक हो । सन् २००२ मा प्रदर्शन भएको यस फिल्ममा उनले पारोको भूमिका निर्वाह गरेकी थिइन् । शाहरुख खान र माधुरी दीक्षितसँगै उनको अभिनयलाई दर्शक तथा समीक्षकले रुचाए ।
फिल्म सन् २००२ को कान्स फिल्म फेस्टिभलमा समेत प्रदर्शन भएको थियो । त्यसपछि ऐश्वर्याको अन्तर्राष्ट्रिय पहिचान थप बलियो बन्यो ।

सन् २००३ मा उनी कान्स फिल्म फेस्टिभलको निर्णायक मण्डलमा सहभागी हुने पहिलो भारतीय अभिनेत्री बनिन् । यो भारतीय सिनेमाका लागि पनि ठूलो उपलब्धि थियो । उनको पहिचान बलिउड अभिनेत्रीमा मात्रै सीमित रहेन, अन्तर्राष्ट्रिय फिल्म महोत्सव, फेसन कार्यक्रम र विश्वव्यापी ब्रान्डहरूबीच पनि चिनिन थालिन् ।
सन् २००४ मा उनलाई ‘टाइम’ म्यागजिनले सार्वजनिक गरेको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश गर्यो । यही अवधिमा युरोप र अमेरिकामा पनि उनको लोकप्रियता तीव्र रूपमा बढ्यो ।
५.‘ब्राइड एन्ड प्रेजुडिस’ बाट अंग्रेजी फिल्मको यात्रा
ऐश्वर्याले अन्तर्राष्ट्रिय फिल्ममा काम गर्ने निर्णय हलिउडमा स्थान बनाउने उद्देश्यले मात्रै गरेकी थिइनन् । उनी विभिन्न भाषा र देशका सिनेमामा काम गर्न चाहन्थिन्।
सन् २००४ मा गुरिन्दर चड्डाको अंग्रेजी फिल्म ‘ब्राइड एन्ड प्रेजुडिस’ प्रदर्शनमा आयो । यो जेन अस्टिनको चर्चित उपन्यास ‘प्राइड एन्ड प्रेजुडिस’ लाई भारतीय पृष्ठभूमिमा आधुनिक ढङ्गले प्रस्तुत गरिएको फिल्म थियो । यसमा ऐश्वर्याले ललिता बक्शीको भूमिका निर्वाह गरेकी थिइन् ।
फिल्ममा भारतीय संगीत, नृत्य र पश्चिमी कथावस्तुको मिश्रण थियो । यसले ऐश्वर्यालाई बेलायत र अमेरिकाका दर्शकमाझ पुर्यायो ।
सन् २००५ मा उनी ‘द मिस्ट्रेस अफ स्पाइसेज’ मा देखिइन् । यो फिल्म चित्रा बनर्जी दिवाकरुणीको उपन्यासमा आधारित थियो । यसमा उनले तिलो नामकी महिलाको भूमिका निर्वाह गरेकी थिइन् । मानिसका समस्या बुझ्ने र उनीहरूलाई सहयोग गर्ने पात्रका रूपमा उनी प्रस्तुत भएकी थिइन् ।

सन् २००६ मा उनको अंग्रेजी फिल्म ‘प्रोभोक्ड : ए ट्रु स्टोरी’ प्रदर्शनमा आयो । यो किरणजीत अहलुवालियाको वास्तविक जीवनबाट प्रेरित थियो । यसमा ऐश्वर्याले घरेलु हिंसाको सामना गरिरहेकी महिलाको भूमिका निर्वाह गरेकी थिइन् ।
सन् २००७ मा ‘द लास्ट लिजन’ मा उनले बेलायती तथा अन्तर्राष्ट्रिय कलाकारसँग काम गरिन् । फिल्ममा कोलिन फर्थ र बेन किङ्स्ले पनि थिए ।
सन् २००९ मा चर्चित हलिउड कमेडी फ्रेन्चाइज ‘द पिंक प्यान्थर २’ मा देखिइन् । यसमा स्टिभ मार्टिन, जाँ रेनो र एन्डी गार्सियालगायत कलाकार थिए ।
यी फिल्ममार्फत ऐश्वर्याले अंग्रेजी सिनेमामा आफ्नो उपस्थिति बलियो बनाइन् । सबै फिल्मले बक्स अफिसमा समान सफलता हासिल नगरे पनि अन्तर्राष्ट्रिय स्तरमा उनको पहिचान विस्तार भयो ।
६.ठूला हलिउड फिल्मका प्रस्ताव अस्वीकार
ऐश्वर्याको अन्तर्राष्ट्रिय करियरको रोचक पक्ष के हो भने उनलाई हलिउडका केही ठूला फिल्ममा अभिनय गर्ने प्रस्ताव आएको थियो । तर विभिन्न कारणले उनी ती फिल्मको हिस्सा बन्न सकिनन् ।
सन् २००९ मा ‘द नेसनल’ लाई दिएको अन्तर्वार्तामा ऐश्वर्याले निर्देशक ब्रेट र्याटनरले ‘रश आवर’ फ्रेन्चाइजमा काम गर्न दुईपटक आफूलाई सम्पर्क गरेको बताएकी थिइन् । ब्राड पिटको फिल्म ‘ट्रॉय’ मा हेलेनको भूमिकाका लागि पनि उनको नाम चर्चामा आएको थियो ।
उनका अनुसार माइकल डगलस भारत आएर एक पत्रकार सम्मेलनमा आफूलाई फिल्मको स्क्रिप्ट लिएर भेटेको कुरा स्वीकार गरिसकेका थिए । विल स्मिथले पनि ‘ह्यानकक’ र ‘सेभेन पाउन्ड्स’ का लागि दुईपटक आफूलाई सम्पर्क गरेको उनले बताएकी थिइन् ।
ऐश्वर्याले यी फिल्ममा काम नगर्नुको कारण हलिउडप्रतिको अनिच्छा नभएको स्पष्ट पारेकी थिइन् । भारतमा फिल्मको काममा व्यस्त रहनुपर्ने भएकाले अन्तर्राष्ट्रिय परियोजनाका लागि समय निकाल्न कठिन हुने उनको भनाइ थियो ।
उनले भारतीय सिनेमामा निरन्तर काम गर्ने कलाकारको कार्यतालिका वर्षौँअघिसम्म व्यस्त हुन सक्ने बताएकी थिइन् । यस्तो अवस्थामा विदेशी फिल्मको छायांकनका लागि समय मिलाउनु सजिलो हुँदैन ।
यसबाट ऐश्वर्याले अन्तर्राष्ट्रिय पहिचान बनाउनकै लागि बलिउड छाड्न नचाहेको बुझ्न सकिन्छ । उनी दुवै क्षेत्रमा आफ्नो रुचि र उपलब्ध समयअनुसार काम गर्न चाहन्थिन् ।
७.बलिउडकी शीर्ष अभिनेत्री
अन्तर्राष्ट्रिय फिल्ममा काम गरे पनि ऐश्वर्या भारतीय सिनेमाबाट टाढा भइनन् । सन् २००६ मा ऋतिक रोशनसँगको फिल्म ‘धूम २’ मा उनको ग्ल्यामरस अवतारलाई दर्शकले निकै रुचाए । फिल्म व्यावसायिक रूपमा पनि सफल भयो ।
सन् २००७ मा मणिरत्नमको ‘गुरु’ मा अभिषेक बच्चनसँग उनको जोडी जम्यो । यही वर्ष उनीहरूले विवाह गरे ।
सन् २००८ मा प्रदर्शन भएको ‘जोधा अकबर’ मा उनले जोधा बाईको भूमिका निर्वाह गरिन् । ऋतिक रोशनसँगको जोडी र फिल्मका भव्य सेटको निकै चर्चा भयो।
सन् २०१० मा उनले ‘रावण’, ‘रोबोट’ र ‘गुजारिश’ जस्ता फिल्ममा काम गरिन् ।

सञ्जय लीला भन्सालीको ‘गुजारिश’ मा उनको अभिनयको विशेष प्रशंसा भयो । यसमा उनले गम्भीर दुर्घटनापछि पक्षघात भएका एक व्यक्तिको स्याहार गर्ने नर्सको भूमिका निर्वाह गरेकी थिइन् ।
यी फिल्मले ऐश्वर्या ग्ल्यामरस भूमिकामा मात्रै सीमित रहन नचाहने अभिनेत्री हुन् भन्ने देखाए । उनले ऐतिहासिक, प्रेमकथा, सामाजिक र गम्भीर विषयवस्तुमा आधारित विभिन्न भूमिकामा आफ्नो अभिनय क्षमता देखाइसकेकी थिइन् ।
८.छोरीको जन्मपछि प्राथमिकता बदलियो
सन् २०११ मा ऐश्वर्या र अभिषेक बच्चनको घरमा छोरी आराध्याको जन्म भयो । त्यसपछि ऐश्वर्याले फिल्मबाट लामो विश्राम लिइन् । उनले यसलाई करियरबाट टाढिने निर्णयभन्दा पनि आफ्नो प्राथमिकताअनुसार लिएको विश्रामका रूपमा व्याख्या गरेकी थिइन् ।
सन् २०१० मा ‘गुजारिश’ पछि उनी करिब पाँच वर्षसम्म नयाँ फिल्ममा देखिइनन् । सन् २०१५ मा सञ्जय गुप्ताको ‘जज्बा’ बाट पुनरागमन गरिन् । यसमा उनले छोरी अपहरणमा परेपछि संघर्ष गर्ने एक वकिलको भूमिका निर्वाह गरेकी थिइन् ।
सन् २०१६ मा ‘सरबजीत’ मा देखिइन् । यसमा उनले सरबजीत सिंहकी बहिनी दलबीर कौरको भूमिका निभाएकी थिइन् । यही वर्ष करण जोहरको ‘ऐ दिल है मुश्किल’ मा उनले सबा नामकी शायिकाको भूमिका निर्वाह गरिन् । रणवीर कपुरसँगका उनका दृश्यको निकै चर्चा भएको थियो ।
सन् २०१८ मा उनले अनिल कपुर र राजकुमार रावसँग ‘फन्ने खाँ’मा काम गरिन् । त्यसपछि हिन्दी फिल्ममा उनको सक्रियता फेरि कम हुँदै गयो ।

ऐश्वर्याले आफ्नो करियरमा हरेक वर्ष धेरै फिल्म गर्ने नीति अपनाइनन् । सन् २००३ मा ‘टाइम’ म्यागजिनलाई दिएको अन्तर्वार्तामा उनले बिस्तारै कम फिल्ममा काम गर्न चाहेको बताएकी थिइन् । यसो गर्दा आफ्नो भूमिका र फिल्म निर्माण प्रक्रियामा बढी ध्यान दिन सकिने उनको भनाइ थियो ।
सन् २०२२ मा कान्सका क्रममा उनले आफ्नो करियरको सुरुवातदेखि नै आफूलाई ‘प्रोभर्बियल टर्टल’ अर्थात् बिस्तारै तर निरन्तर अघि बढ्ने कछुवाका रूपमा लिएको बताएकी थिइन् । उनका अनुसार आफूले कामको गति आफैँ निर्धारण गर्छिन् । हरेक वर्ष कति फिल्म प्रदर्शन भए भन्ने आधारमा सफल करियरको मूल्याङ्कन गर्न उनी चाहन्नन् ।
९.के बलिउडले ऐश्वर्यालाई किनारामा पारेको हो ?
बलिउडका ठूला फिल्ममा मुख्य भूमिका निर्वाह गर्ने अभिनेत्री ऐश्वर्या अहिले पहिलेको तुलनामा कम फिल्ममा किन देखिन्छिन् ? के उनलाई पहिले जस्ता सशक्त भूमिका आउन छाडेका हुन् ?
यस विषयमा ऐश्वर्याले सन् २०२३ मा आफ्नो धारणा सार्वजनिक गरेकी थिइन् । कान्स फिल्म फेस्टिभलमा उनलाई हिन्दी सिनेमाले ‘पोन्नियिन सेल्वन’ जस्ता गहिराइ भएका भूमिका किन दिन नसकेको भन्ने प्रश्न गरिएको थियो ।
जवाफमा उनले भनेकी थिइन्, ‘यो एउटा यस्तो मौन प्रश्न हो, जुन मलाई लाग्छ सबै सिर्जनात्मक क्षेत्रका मानिसले आफैँलाई सोधिरहेका हुन्छन् ।’
उनले महिला कलाकारका लागि जटिल र प्रभावशाली भूमिका लेख्ने निर्देशकहरू पनि रहेको बताएकी थिइन् । मणिरत्नमजस्ता निर्देशकको प्रशंसा गर्दै उनले उनीहरूसँग काम गर्नु कलाकारका लागि सन्तुष्टिदायी अनुभव हुने धारणा राखेकी थिइन् ।
ऐश्वर्याको यो अभिव्यक्तिले उनको करियरको वर्तमान अवस्थालाई बुझ्न मद्दत गर्छ । उनी अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान कायम राखिरहेकी छन् । तर हिन्दी सिनेमामा लामो समयदेखि कुनै ठूलो फ्रेन्चाइज वा मुख्य भूमिकामा देखिएकी छैनन् ।
बलिउडले उनलाई पूर्ण रूपमा किनारामा पारेको भन्नु भने उचित हुँदैन । फिल्मबीचको लामो अन्तरालको एउटा कारण उनको आफ्नै प्राथमिकता र काम गर्ने शैली पनि हो । तर सन् २०२३ को उनको अभिव्यक्तिले महिला कलाकारले उमेर र करियरको फरक–फरक चरणमा चुनौतीपूर्ण भूमिका पाउने विषय उनका लागि महत्त्वपूर्ण रहेको देखाउँछ ।
१०.‘पोन्नियिन सेल्वन’ की नन्दिनी
हिन्दी फिल्मबाट टाढा रहेकै समयमा ऐश्वर्याले दक्षिण भारतीय सिनेमामा पुनरागमन गरिन् । सन् २०२२ मा मणिरत्नमको फिल्म ‘पोन्नियिन सेल्वन : पार्ट १’ प्रदर्शनमा आयो । यसमा उनले नन्दिनीको भूमिका निर्वाह गरेकी थिइन् ।
यो ऐतिहासिक कथामा चोल साम्राज्यको राजनीति, सत्ता संघर्ष र षड्यन्त्रलाई प्रस्तुत गरिएको थियो । ऐश्वर्याले निर्वाह गरेको नन्दिनी फिल्मको महत्त्वपूर्ण पात्रमध्ये एक थियो ।
सन् २०२३ मा फिल्मको दोस्रो भाग ‘पोन्नियिन सेल्वन : पार्ट २’ प्रदर्शनमा आयो । यसमा ऐश्वर्याले नन्दिनीसँगै मन्दाकिनी देवीको भूमिका पनि निर्वाह गरेकी थिइन्।
यी दुवै भूमिकामार्फत उनले आफू सुन्दरता र ग्ल्यामरमा मात्रै सीमित नभई जटिल पात्रलाई पनि जीवन्त बनाउन सक्षम अभिनेत्री भएको प्रमाणित गरिन् ।
फिल्मका लागि उनले ठूलो प्रशंसा पाइन् । सन् २०२४ मा आयोजित आइफा उत्सवममा ‘पोन्नियिन सेल्वन : पार्ट २’ का लागि उनले उत्कृष्ट अभिनेत्रीको पुरस्कारसमेत जितिन् ।
यो पुनरागमनले ऐश्वर्या आज पनि दर्शकलाई आकर्षित गर्न सक्ने अभिनेत्री हुन् भन्ने देखाउँछ । आवश्यकता भनेको उनको अभिनय क्षमतालाई पूर्ण रूपमा उपयोग गर्न सक्ने भूमिका र निर्देशकको हो ।
११.कान्समा कायम छ ऐश्वर्याको चमक
ऐश्वर्याको विश्वव्यापी पहिचानको ठूलो हिस्सा कान्स फिल्म फेस्टिभलसँग जोडिएको छ । सन् २००२ मा ‘देवदास’ सँगै उनले कान्समा आफ्नो उपस्थिति जनाएकी थिइन् । सन् २००३ मा उनी फेस्टिभलको निर्णायक मण्डलमा सहभागी भइन् ।
त्यसयता उनी कान्सको रेड कार्पेटमा भारतको प्रतिनिधित्व गर्दै आएकी छिन् । उनका पहिरन, लुक र रेड कार्पेट उपस्थितिको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चा हुने गरेको छ ।उनी ठूला फेसन ब्रान्ड र अन्तर्राष्ट्रिय कार्यक्रममा पनि देखिँदै आएकी छन् । लोरियल पेरिससँगको उनको सम्बन्ध विश्वव्यापी ब्रान्ड पहिचानको महत्त्वपूर्ण हिस्सा बनेको छ ।
सन् २००९ मा भारत सरकारले उनलाई पद्मश्रीबाट सम्मानित गरेको थियो । सन् २०१२ मा फ्रान्स सरकारले उनलाई ‘अर्डर अफ आर्ट्स एन्ड लेटर्स’ सम्मान प्रदान गरेको थियो । ऐश्वर्याको पहिचान फिल्ममा मात्रै सीमित छैन । उनी भारतीय सिनेमा, फेसन, सौन्दर्य र अन्तर्राष्ट्रिय सांस्कृतिक मञ्चमा भारतको प्रतिनिधित्व गर्ने प्रमुख अनुहारमध्ये एक हुन् ।
प्रतिक्रिया 4