News Summary
Generated by OK AI. Editorially reviewed.- अञ्जन श्रेष्ठले युवा तथा महिला उद्यमशीलता र उद्योग–शिक्षा सहकार्यलाई आर्थिक रूपान्तरणको आधार बनाउनुपर्ने बताएका छन् ।
- उनले स्टार्टअप कर्जाको अवधि ५ वर्षबाट १० वर्ष पुर्याउन र २ करोडदेखि ५ करोडसम्मको कर्जा उपलब्ध गराउनुपर्ने बताए ।
- नेपाल राष्ट्र बैंकले सुदूरपश्चिम प्रदेशको जीडीपी ४ खर्ब ६३ अर्ब र आर्थिक वृद्धिदर ३.२८ प्रतिशत रहने अनुमान गरेको छ ।
१५ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष अञ्जन श्रेष्ठले युवा तथा महिला उद्यमशीलता विकास र उद्योग तथा शैक्षिक क्षेत्रबीचको सहकार्यलाई मुलुकको आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउनुपर्ने बताएका छन् ।
उद्योग वाणिज्य महासंघ, सुदूरपश्चिम विश्वविद्यालय र कैलाली बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा धनगढीमा आयोजित ‘सुदूरपश्चिम प्रदेश नवप्रवर्तन (स्टार्टअप एन्ड इनोभेसन) समिट २०८३’ उद्घाटन सत्रमा अध्यक्ष श्रेष्ठले स्वदेशमै उत्पादन, रोजगारी र उद्यमशीलताको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।
‘हामीले उपभोग गर्ने वस्तुदेखि रोजगारीका अवसरसम्म विदेशकै मुख ताक्नुपर्ने अवस्था छ, यो अवस्था बदल्न अब युवालाई उद्यमशीलतामा जोड्नुपर्छ,’ उनले भने, ‘मुलुकलाई आर्थिक रूपमा सक्षम र आत्मनिर्भर बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आवश्यक छ ।’
नेपाल राष्ट्र बैंकको सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन सम्बन्धी वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८२/८३) का अनुसार यस प्रदेशको कुल गार्हस्थ उत्पादन (जीडीपी) ४ खर्ब ६३ अर्ब र आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ३.२८ प्रतिशत र आधारभूत मूल्यमा २.७१ प्रतिशत रहने अनुमान गरिएको छ भने आधारभूत मूल्यमा प्रदेशको प्राथमिक क्षेत्रको वृद्धिदर २.८ प्रतिशत, द्वितीय क्षेत्रको वृद्धिदर २ प्रतिशत र तृतीय क्षेत्रको वृद्धिदर २.९ प्रतिशत रहने अनुमान छ ।
‘स्टार्टअप सुरु गर्ने युवालाई सुरुवाती चरणमा मात्रै होइन, व्यवसाय विस्तार गर्ने समयसम्म पनि वित्तीय सहयोग र नीतिगत सहजीकरण आवश्यक हुन्छ,’ श्रेष्ठले भने, ‘त्यसैले स्टार्टअप कर्जाको पाँच वर्षको अवधि बढाएर १० वर्ष पुर्याउनुपर्छ, सामूहिक अघि बढाइने ठूला तथा नवप्रवर्तनकारी परियोजनाका लागि २ करोडदेखि ५ करोडसम्मको कर्जा उपलब्ध गराउने व्यवस्था हुनुपर्छ ।’
महासंघको स्टार्टअप एन्ड इनोभेसन कमिटी तथा युवा उद्यमी मञ्चमार्फत प्रत्येक वर्ष १ सयभन्दा बढी नयाँ उद्यमीलाई ‘स्टार्टअप च्यालेन्ज’ का माध्यमबाट पुरस्कृत तथा प्रोत्साहित गर्दै आएको पनि उनले जानकारी दिए ।
प्रतिक्रिया 4