१५ कात्तिक, स्याङ्जा । स्याङ्जाको वालिङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।
हुवासबाट वालिङतर्फ आउँदै गरेको ट्याक्टर आइतबार साँझ वालिङ नगरपालिका–९ गाइस्वारामा पल्टिएको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीका अनुसार ग १ त ५७६९ नम्बरको ट्याक्टर साँझ करिब ६:५० बजे सडकको बायाँ किनारमा पल्टिएको थियो ।
दुर्घटनामा ट्याक्टरमा सवार वालिङ नगरपालिका–१० का ६१ वर्षीय नन्दलाल बुढामगरको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पुर्याइएको थियो । जहाँ साँझ ७:३५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा ट्याक्टर चालक दाङको शान्तिनगर गाउँपालिका–१ का ३७ वर्षीय धनवीर पुनमगर घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, पर्वत घरभई हाल वालिङ–१० बस्ने ४३ वर्षीय प्रेम रानामगर गम्भीर घाइते भएका छन् । उनको टाउको र शरीरको भित्री भागमा चोट लागेको छ । उनी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
वालिङ–१० कै २० वर्षीय सुलभ परियारको बायाँ हात, खुट्टा र कम्मरमा चोट लागेको छ । सोही ठाउँका ४६ वर्षीय झकबहादुर थापाको दाहिने हात र ढाडमा चोट लागेको छ । दुवैको अवस्था मध्यम रहेको छ ।
घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ । वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी टोली घटनास्थल पुगेर दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया 4