+
+
Shares

आर्थिक अभावले उपचारबाट वञ्चित बिरामीको नि:शुल्क शल्यक्रिया

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १६ गते ९:०७

१६ कात्तिक, धनकुटा । आर्थिक अभाव, विशेषज्ञ चिकित्सकको सीमित पहुँच र उपचारका लागि टाढा जानुपर्ने बाध्यताका कारण लामो समयदेखि रोग पालेर बसेका धेरै बिरामीका लागि धनकुटामा सञ्चालित नि:शुल्क बृहत् शल्यक्रिया स्वास्थ्य शिविरले राहत दिएको छ ।

सामान्यदेखि जटिल प्रकृतिका स्वास्थ्य समस्या लिएर अस्पताल पुगेका सयौँ नागरिकले एउटै शिविरबाट उपचार सेवा पाएका छन् । धनकुटा जिल्ला अस्पतालमा कात्तिक ९ गतेदेखि सञ्चालन भएको शिविरबाट ९७२ जनाले विभिन्न प्रकारका शल्यक्रिया तथा स्वास्थ्य उपचार सेवा लिएका छन् । अलोहा मेडिकल मिसन, हवाई अमेरिकाको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा १ हजार १७ जनाले नाम दर्ता गराएका थिए ।

शिविरमा आएका बिरामीमध्ये ७६ जनाको जटिल र ४ सय ५३ जनाको सामान्य शल्यक्रिया गरिएको शिविर सञ्चालन तथा व्यवस्थापन मूल समितिका संयोजक रोशेष श्रेष्ठले जानकारी दिए । यसबाहेक अन्य बिरामीलाई स्वास्थ्य परीक्षण, स्क्रिनिङ तथा आवश्यक उपचार सेवा प्रदान गरिएको उनले बताए ।

शिविरमा विभिन्न प्रकृतिका रोगबाट पीडित बिरामीले उपचार पाएका छन् । हर्नियाका २७, हाइड्रोसिलका ६, पित्तथैलीको पत्थरीका १०, पाठेघर खस्ने समस्याका १४, जनरल सर्जरीका १४ र फिस्टुलाका ५ जना बिरामीको उपचार गरिएको आयोजकले जनाएको छ ।

त्यस्तै, गाँठागुठीको समस्या भएका २ सय २८ र पायल्सबाट पीडित १ सय ७८ जनाले उपचार सेवा पाएका छन् । नाक, कान तथा घाँटीसम्बन्धी समस्या भएका ४७ जनाले पनि शिविरबाट सेवा लिएका छन् ।

विशेषगरी शल्यक्रियाका लागि लामो समय कुर्नुपर्ने वा आर्थिक अवस्थाका कारण उपचार गराउन नसकेका बिरामीका लागि यस्तो शिविर उपयोगी बनेको आयोजकको दावी छ । शिविरमा ४ सय ४१ जनाले स्क्रिनिङ तथा अन्य उपचार सेवा पाएका छन् भने दुई जनालाई कृत्रिम हातसमेत प्रदान गरिएको छ । शिविरमा धनकुटा जिल्लाका नागरिक मात्र नभई अन्य जिल्लाबाट आएका बिरामीले समेत उपचार सेवा लिएको आयोजकको तथ्यांकमा उल्लेख छ ।

स्वास्थ्य उपचार महँगो बन्दै गएको अवस्थामा नि:शुल्क शल्यक्रिया शिविरले आर्थिक रुपमा कमजोर तथा उपचारको पहुँचबाट टाढा रहेका नागरिकलाई ठूलो सहयोग पुगेको श्रेष्ठले बताए । विशेषगरी सामान्य ठानिएका तर लामो समयसम्म उपचार नगर्दा जटिल बन्न सक्ने स्वास्थ्य समस्याको समयमै पहिचान र उपचार हुनु शिविरको महत्वपूर्ण पक्ष रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?