+
+
Shares

कांग्रेस महामन्त्री पौडेलले भने– सरकार स्वेच्छाचारी भयो

‘सरकार स्वेच्छाचारी भयो । संविधान र कानुनको बेवास्ता गरियो,’ संसदीय दलको बैठकमा कांग्रेस महामन्त्री पौडेलले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १६ गते १०:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकार स्वेच्छाचारी भएको बताउँदै संविधान र कानुनको बेवास्ता गरेको आरोप लगाएका छन् ।
  • उनले अदालतमा सेटिङ प्रकरणमा न्यायाधीश, सरकार प्रमुख र प्रहरी मुछिएको विषयको छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन गर्नुपर्ने बताएका छन् ।
  • पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक आह्वानको माग गर्न तथा प्रतिपक्षी दलहरूसँग सहकार्य गरेर अघि बढ्न दललाई आग्रह गरेका छन् ।

१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकार स्वेच्छाचारी भएको बताएका छन् । कांग्रेस संसदीय दलको बैठकमा उनले सरकारले संविधान र कानुनको बेवास्ता गरेको बताए ।

कानुनी व्यवस्थालाई कमजोर बनाएर सरकारले सत्ताको दुरुपयोग गरेको उनको भनाइ थियो । ‘सरकार स्वेच्छाचारी भयो । संविधान र कानुनको बेवास्ता गरियो,’ सिंहदरबारमा जारी संसदीय दलको बैठकमा सहभागी स्रोतले महामन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘कानुनी व्यवस्थालाई कमजोर बनायो र सत्ताको दुरुपयोग गर्‍यो ।’

स्रोतका अनुसार महामन्त्री पौडेलले बैठकमा अन्य प्रतिपक्षी दलहरूसँग पनि सहकार्य गरेर अघि बढ्नु पर्ने धारणा राखेका छन् । उनले दललाई प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक आह्वानको माग गर्न पनि भनेका छन् ।

अदालतमा सेटिङ प्रकरणमा विचौलियासँग न्यायाधीश, सरकार प्रमुख र प्रहरी मुछिएको विषयको छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन हुनुपर्ने महामन्त्री पौडेलको भनाइ थियो ।

‘सरकारले नै यसबारे निष्पक्ष छानबिन गर्नेमा विश्वास छैन,’ स्रोतका अनुसार महामन्त्रीले बैठकमा भने, ‘प्रतिपक्षी, संसद्, जनता र प्रेसमाथि सरकारले हेप्यो र ज्यादती बढ्यो । राज्यका संवैधानिक अंगहरूलाई कमजोर बनाइयो ।’

कांग्रेस संसदीय दलको बैठक जारी छ । महामन्त्री पौडेल भने धारणा राखेर बाहिरिसकेका छन् ।

प्रमुख सचेतक बासना थापाले बैठकमा समसामयिक राजनीतिक विषय, पत्रकारमाथि राज्यको बढ्दो ज्यादती, कर्मचारीमाथि सिर्जना गरिएको त्रासदी तथा संसदीय दल र पार्टीबीचको सम्बन्धलगायत विषयमा छलफल हुने बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?