News Summary
Generated by OK AI. Editorially reviewed.- शाहरुख खानले सन् १९९३ मा ‘बाजीगर’ र ‘डर’मार्फत एन्टी हिरोको भूमिका निर्वाह गर्दै हिन्दी सिनेमामा छुट्टै पहिचान बनाए ।
- वरिष्ठ फिल्म पत्रकार नम्रता जोशीका अनुसार सन् २०२३ मा ‘पठान’ र ‘जवान’मार्फत शाहरुख फेरि नयाँ रूपमा प्रस्तुत हुन सफल भए ।
- फिल्म इतिहासकार अमृत गंगरले ‘बाजीगर’ र ‘डर’मा शाहरुखले परम्परागत हिरोको छवि तोडेर जोखिम मोलेको बताए ।
सन् १९९२ मा टेलिभिजनबाट आएका नयाँ अभिनेता शाहरुख खानको फिल्म ‘दीवाना’ प्रदर्शनमा आउँदा धेरैलाई लागेको थियो, एउटा प्रतिभाशाली कलाकारले दर्शकको मन जित्न थालिसकेको छ । बेपरवाह स्वभाव र विद्रोही राज (शाहरुख) ले ‘दीवाना’ मार्फत फिल्ममा मात्र प्रवेश गरेका थिएनन्, सीधै दर्शकको मनमा ठाउँ बनाएका थिए ।
तर, शाहरुखले वास्तविक अर्थमा बक्स अफिसमा तहल्का मच्चाएको वर्ष थियो सन् १९९३ । त्यस वर्ष उनका ‘बाजीगर’ र ‘डर’ एकपछि अर्को प्रदर्शनमा आए ।
आज शाहरुख खानलाई ‘किङ अफ रोमान्स’ अर्थात् प्रेमका राजा भनेर चिनिन्छ । तर, सफलताको पहिलो खुड्किलो उनले प्रेमकथाबाट होइन, एन्टी हिरो बनेर चढेका थिए ।
सन् १९९३ मा ‘बाजीगर’ बाट सुरु भएको उनको एन्टी हिरोको यात्रा सन् २०२३ मा प्रदर्शनमा आएको ‘जवान’ सम्म आइपुगेको छ । अर्थात्, ३० वर्षको अन्तरालमा शाहरुखले दुई फरक प्रकृतिका एन्टी हिरोको भूमिका निर्वाह गरेका छन् ।
ग्लोबल रोमान्टिक हिरो
वरिष्ठ फिल्म पत्रकार नम्रता जोशीका अनुसार ‘बाजीगर’ र ‘डर’ मा शाहरुखको एन्टीहिरो चरित्र एउटी युवतीप्रतिको प्रेमबाट प्रेरित थियो । तर, पछि उनले आफ्नो नकारात्मक छवि छाड्दै आधुनिक, शहरी र विश्वव्यापी पहिचान भएको रोमान्टिक हिरोको छवि बनाए ।
उनी भन्छिन्, ‘पछिल्ला केही वर्षमा शाहरुखले आफूलाई नयाँ रूपमा प्रस्तुत गर्ने प्रयास गर्दा उनका फिल्मले सफलता पाउन सकेनन् । तर, सन् २०२३ मा ‘पठान’ र ‘जवान’ मार्फत उनी फेरि नयाँ रूपमा प्रस्तुत हुन सफल भए ।’
‘हिन्दी सिनेमाका लागि यो नयाँ कुरा हो कि हामी अहिले जुन परिस्थितिमा बाँचिरहेका छौँ, त्यस्तो अवस्थामा शाहरुखले ‘जवान’ जस्तो फिल्ममा सत्तालाई खुला चुनौती दिएका छन् ।’
‘यसरी सत्ताविरोधी भूमिका निर्वाह गर्नु महत्त्वपूर्ण कुरा हो । ‘बाजीगर’ मा एउटी प्रेमिकाका लागि एन्टी हिरो बन्नु र ‘जवान’ मा सिंगो सत्ता तथा व्यवस्थाविरुद्ध उभिनुमा ठूलो अन्तर छ । यही अन्तरले शाहरुखको यात्रालाई देखाउँछ ।’
‘बाजीगर’ : हिरोको परम्परागत छवि तोड्ने फिल्म
अब्बास-मस्तानको निर्देशनमा बनेको फिल्म ‘बाजीगर’ ३० वर्षअघि अर्थात् सन् १९९३ नोभेम्बर १३ मा प्रदर्शनमा आएको थियो ।
त्यतिबेला केही टेलिशृंखला र एक-दुई फिल्ममा मात्र काम गरेका नयाँ अभिनेता शाहरुख खानले यति क्रूर हत्याराको भूमिका निर्वाह गर्लान् भनेर सायदै कसैले सोचेको थियो । त्यो पात्रले एकपछि अर्को हत्या गर्छ, तर उसलाई आफ्नो अपराधप्रति कुनै पछुतो हुँदैन ।
फिल्मको सुरुवातमा शाहरुख र शिल्पा शेट्टीबीच दुईवटा रोमान्टिक गीत देखाइन्छन् । त्यसपछि उनीहरू कोर्ट म्यारिज गर्न जान्छन् । तर, अचानक शाहरुखले शिल्पालाई अग्लो भवनबाट तल खसालिदिन्छन् ।
रोमान्स चलिरहेका बेला अचानक आउने यो दृश्यले दर्शकलाई स्तब्ध बनाएको थियो । त्यसबेलाको हिन्दी सिनेमाका लागि यो निकै फरक र चकित पार्ने दृश्य थियो ।
त्यतिबेला सलमान खान ‘मैने प्यार किया’मा प्रेमका लागि हरेक परीक्षा पार गर्न तयार थिए । आमिर खान ‘कयामत से कयामत तक’मा प्रेमका लागि ज्यान दिन तयार थिए। तर, ‘बाजीगर’मा अजय शर्मा अर्थात् विक्की मल्होत्रा बनेका शाहरुखले हिन्दी फिल्मका हिरोको परम्परागत छविलाई नै चुनौती दिए।
फरक भूमिका निर्वाह गर्ने आँट
फिल्म इतिहासकार अमृत गंगर भन्छन्, ‘शाहरुखले परम्परागत शैलीभन्दा फरक फिल्मबाट आफ्नो यात्रा सुरु गरेका थिए । उनले मणि कौलको फिल्म ‘अहमक’ र ‘माया मेमसाब’मा काम गरे । ‘सर्कस’जस्तो टेलिशृंखलामा पनि अभिनय गरे। तर, ‘बाजीगर’ ठूलो व्यावसायिक सफल भयो र उनलाई एन्टी हिरोका रूपमा स्थापित गर्यो ।’
‘म यसलाई शाहरुखको अभिनय क्षमताका रूपमा हेर्छु । यसले उनको अभिनयको दायरा देखाउँछ । साथै, हिन्दी फिल्मको कास्टिङमा देखिने परम्परागत सोचलाई तोड्ने उनको क्षमता पनि यसले प्रमाणित गर्छ । ‘डर’मा पनि यश चोपडाले उनलाई नकारात्मक भूमिका दिएका थिए, जुन त्यतिबेला हिरोका लागि वर्जितजस्तै मानिन्थ्यो ।’
‘बाजीगर’को पात्र यति नकारात्मक थियो कि धेरै ठूला अभिनेताले समेत उक्त भूमिका निर्वाह गर्न अस्वीकार गरेका थिए । फिल्म उद्योगमा नयाँ हुँदाहुँदै पनि शाहरुखले यस्तो जोखिम मोल्ने आँट देखाए ।
‘बाजीगर’ प्रदर्शनमा आएको करिब एक महिनापछि सन् १९९३ डिसेम्बर २४ मा यश चोपडाको फिल्म ‘डर’ प्रदर्शनमा आयो । यसमा शाहरुखले मानसिक रूपमा अस्थिर युवकको भूमिका निर्वाह गरेका थिए । एकतर्फी प्रेमले उसलाई यस्तो हदसम्म पुर्याउँछ, जहाँ ऊ आफू र आफूले प्रेम गर्ने युवती दुवैका लागि खतरा बन्छ । आजको भाषामा भन्ने हो भने ‘डर’को राहुल एक स्टकर थियो ।
‘डर’मा शाहरुखले निर्वाह गरेको भूमिका सुरुमा यश चोपडाले ऋषि कपूरलाई दिएका थिए । ऋषि कपूरले आफ्नो आत्मकथा ‘खुल्लम खुल्ला’मा यसबारे लेखेका छन् ।
उनका अनुसार यश चोपडाले भूमिका प्रस्ताव गर्दा उनले आफूले खलनायकको भूमिकालाई न्याय गर्न नसक्ने बताएका थिए ।
ऋषिले भनेका थिए, ‘मैले तपाईंसँग भर्खरै ‘चाँदनी’जस्तो रोमान्टिक फिल्म गरेको छु। ‘खोज’मा नकारात्मक भूमिका निर्वाह गरेको थिएँ, तर त्यो फिल्म चलेन । तपाईं शाहरुखलाई लिन सक्नुहुन्छ। मैले उनीसँग काम गरेको छु । उनी प्रतिभाशाली र चलाख छन् ।’
त्यसपछि उक्त भूमिका आमिर खान र अजय देवगनसम्म पुग्यो । दुवैले अस्वीकार गरेपछि अन्ततः शाहरुखले त्यो भूमिका निर्वाह गरे ।
‘बाजीगर’को विक्की होस् वा ‘डर’को राहुल, दुवै पात्रले गर्ने कामले दर्शकमा घृणा पैदा गर्नुपर्ने हो । तर, यी दुवै फिल्मको रोचक पक्ष के थियो भने दर्शक शाहरुखका पात्रप्रति नै आकर्षित भए । उनीहरू फिल्मका अन्य पात्रको पक्षमा भन्दा शाहरुखकै पक्षमा देखि ए।
यसको श्रेय फिल्मका पटकथा लेखक वा निर्देशकलाई दिन सकिएला । तर, दर्शकले पर्दामा देखेका शाहरुखलाई नै सम्झिए ।
परिवर्तनको दशक र शाहरुखको फरक पहिचान
अमृत गंगर भन्छन्, ‘सन् १९९० को दशक परिवर्तनको समय थियो । दर्शक शाहरुखको व्यक्तित्वसँग आफूलाई जोड्न सक्थे । उनका नकारात्मक भूमिकामा प्रेम र यौन आकर्षणका भावना पनि मिसिएका थिए ।’
‘ती भूमिकामा एक किसिमको पागलपन थियो । युवाहरूले खोजिरहेको केही फरकपन त्यहाँ थियो । उदाहरणका लागि ‘डर’मा देखाइएको भावना त्यतिबेलाका हिन्दी फिल्ममा सामान्य थिएन । पर्दामा शाहरुखको युवावस्थाको आकर्षण र चञ्चलताले एउटा रहस्य सिर्जना गरेको थियो ।’
‘डर’को त्यो दृश्य सम्झनुहोस्, जहाँ शान्त र एक्लै बस्न रुचाउने राहुल (शाहरुख) फोनमा आफ्नी आमासँग कुरा गर्छन्, जबकि उनकी आमाको धेरै पहिले नै मृत्यु भइसकेको हुन्छ ।
अर्को दृश्यमा उनी छुरीले आफ्नो छातीमा ‘किरण’ लेख्छन् । त्यस्तै, जूही चावलाका प्रेमी सन्नी देओलले भेष बदलेर बसेका शाहरुखलाई देखेपछि उनीहरूको पछिपछि दौडिने दृश्य पनि निकै चर्चित छ ।
करिब तीन मिनेट लामो त्यो दौडको दृश्यमा शाहरुखको पात्र गलत छ भन्ने थाहा हुँदाहुँदै पनि धेरै दर्शक उनकै पक्षमा देखिन्छन् ।
यद्यपि, धेरैले ‘डर’को पात्रलाई विषाक्त व्यवहार भएको भन्दै फिल्मको आलोचना पनि गरेका थिए । तर, ‘डर’ होस् वा ‘बाजीगर’, दुवै फिल्ममा एन्टी हिरोको भूमिका निर्वाह गरेर शाहरुखले आफ्नो छुट्टै पहिचान बनाए। त्यो पनि त्यस्तो समयमा, जतिबेला धेरै स्थापित अभिनेताले यस्ता भूमिका अस्वीकार गरिसकेका थिए ।
यसरी बने शाहरुख खान ‘किङ खान’
‘दिलवाले दुल्हनिया ले जायेंगे’, ‘दिल तो पागल है’ र ‘कुछ कुछ होता है’जस्ता फिल्म पछि आए। यिनै फिल्मले शाहरुखलाई ‘किङ खान’ बनाए ।
तर, किङ खान बन्ने बाटो तयार पार्न उनका एन्टी हिरो भूमिकाको ठूलो योगदान थियो । यिनै भूमिकाले शाहरुखका लागि सफलताको जग बसाले । साथै, जोखिम मोल्न सक्ने एक फरक अभिनेताका रूपमा उनलाई दर्शकमाझ चिनाए ।
त्यसपछि उनले ‘अञ्जाम’, ‘माया मेमसाब’ र ‘ओ डार्लिङ ! ये है इन्डिया’जस्ता फिल्ममा पनि फरक भूमिका निर्वाह गरे ।
यद्यपि, सुपरस्टार बन्ने उनको यात्रामा सधैँ सफलता मात्र थिएन । सुरुवाती चरणमा उनका केही फिल्म असफल भए । सुपरस्टारको छविभन्दा फरक पात्रमा देखिने गरेको भन्दै उनको आलोचना पनि भयो ।
उनले बक्स अफिसका धेरै कीर्तिमान बनाए । तर, एक समय यस्तो पनि आयो, जतिबेला दर्शकले शाहरुखको समय सकिएको टिप्पणी गर्न थाले । उनी फिल्मको पर्दामा लामो समय देखिएनन् । बरु टेलिभिजनमा विमल इलाइचीको विज्ञापन गर्दै देखिन्थे ।
यसबीच उनका अभिव्यक्तिलाई लिएर राजनीतिक विवाद पनि भए । उनका छोरा जेलसमेत पुगे। तर, शाहरुख भने लामो समय मौन रहे ।
सन् २०२३ मा ‘पठान’ र त्यसपछि ‘जवान’मार्फत उनले आफ्नो शैलीमा जवाफ दिए । ‘जवान’को चर्चित संवाद थियो, ‘बेटेलाई हात लगाउनुअघि बाउसँग कुरा गर ।’
यस संवादलाई दर्शकले आ–आफ्नै राजनीतिक र सामाजिक अर्थमा व्याख्या गरे ।
‘बाजीगर’ र ‘डर’का पात्रजस्तै ‘जवान’का आजाद राठौर पनि एक किसिमका एन्टी हिरो हुन् । तर, आजाद सन् १९९० को दशकका एन्टी हिरोभन्दा फरक छन् ।
आजादले समाजमा व्याप्त भ्रष्टाचारलाई एउटा समूह बनाएर चुनौती दिन्छन्। उनी कानुन आफ्नै हातमा लिन्छन्। शासनका नियम र कानुनलाई पनि खासै महत्त्व दिँदैनन् ।
तर, ‘बाजीगर’का विक्की वा ‘डर’का राहुलजस्तो उनी मानिसको ज्यान लिँदैनन् । बरु मानिसको ज्यान बचाउन अघि सर्छन् ।
यद्यपि, फिल्म पत्रकार नम्रता जोशीलाई ‘जवान’प्रति केही असन्तुष्टि पनि छ ।
उनी भन्छिन्, ‘जवान’ सफल फिल्म हो । तर, फिल्मका रूपमा यसले मलाई खासै प्रभावित गर्दैन । यो पुरुषप्रधान फिल्म हो । शाहरुखले महिलालाई पनि स्थान दिने प्रयास गरेका छन् । तर, मलाई ‘चक दे इन्डिया’जस्तो फिल्ममा शाहरुख बढी मन पर्छ, जहाँ उनले महिलाको एउटा टोलीलाई जितसम्म पुर्याउँछन् । ‘जवान’मा लैंगिक समानता देखाउने प्रयास गरिएको छ, तर त्यो प्रभावकारी भएको मलाई लाग्दैन ।’
‘बाजीगर’ कसरी बन्यो ?
कुरा ‘बाजीगर’बाट सुरु भएको थियो, त्यसैले यसको निर्माणसँग जोडिएको एउटा रोचक प्रसंगबाट लेख टुंग्याऔँ ।
फिल्मको छायांकन सन् १९९२ डिसेम्बरमा सुरु भएको थियो । तर, त्यसपछि मुम्बई दंगाको चपेटामा पर्यो । त्यसैले केही महिनासम्म फिल्मको छायांकन रोकियो र पछि पुनः सुरु गरियो ।
फिल्मका लागि श्रीदेवी, माधुरी दीक्षितलगायत धेरै अभिनेत्रीहरूसँग कुरा भएको थियो । श्रीदेवीले त दुवै दिदीबहिनी अर्थात् काजोल र शिल्पाको भूमिका आफैँ निर्वाह गर्न चाहेको बताएकी थिइन् । तर, निर्देशकलाई शाहरुखले श्रीदेवीजस्ती स्थापित अभिनेत्रीको हत्या गरेको दृश्य दर्शकले स्वीकार नगर्लान् भन्ने लागेको थियो ।
फिल्ममा दिलीप ताहिलले मदन चोपडाको भूमिका निर्वाह गरेका थिए । उनीसँग बदला लिन शाहरुखका पात्र अजय शर्मा आफ्नो पहिचान बदलेर विक्की अर्थात् बाजीगर बन्छन् ।
केही समयअघि ‘द अनट्रिगर्ड’ नामक पोडकास्टमा दिलीप ताहिलले एउटा रोचक अनुभव सुनाएका थिए । उनका अनुसार उनी लन्डनको हिथ्रो विमानस्थलमा थिए । त्यही बेला एउटी युवती उनीनजिक आइन् र सोधिन्, ‘तपाईंले ‘बाजीगर’मा शाहरुख खानलाई किन यति धेरै पिट्नुभएको ? आखिर किन ?’
दिलीपका अनुसार ती युवती शाहरुखको ठूलो प्रशंसक बनिसकेकी थिइन् ।
‘बाजीगर’ र ‘डर’मा हत्यारा तथा नकारात्मक चरित्रलाई समेत केही हदसम्म मानवीय बनाउन सक्नु शाहरुखको अभिनयको विशेषता थियो ।
यसबीच उनी ‘दिलवाले दुल्हनिया ले जायेंगे’का राज बने । भारतीय क्रिकेट टोलीका प्रशिक्षक कबिर खान बने । ‘स्वदेश’मा स्वदेश फर्कने मोहन बने । ‘पहेली’मा गाउँका किशनलाल बने । ‘यस बोस’मा चन्द्रतारा झारेर ल्याउने सपना देख्ने राहुल बने। ‘हे राम’मा अमजद अली खान बने । त्यस्तै, ‘जिरो’मा बौवा सिंह बने ।
वास्तविक जीवन र पर्दाको जीवनबीचका यिनै फरक पात्रमा कसैले शाहरुखभित्र आफ्नो हिरो भेटे। कसैले खलनायक त कसैले एन्टी हिरो ।
तर, यी सबै भूमिकाले एउटा कुरा प्रमाणित गरेका छन्शा-हरुख खान एउटै छविमा सीमित रहने अभिनेता होइनन् । उनले जोखिम मोले, फरक पात्र रोजे र त्यही यात्राबाट बलिउडका सबैभन्दा ठूला सुपरस्टारमध्ये एक बने ।
बिबिसीबाट
प्रतिक्रिया 4