+
+
Shares

भोटेकोशी बाढीबारे चीनले तत्काल सूचना दिन सकेन : परराष्ट्र सचिव राई

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १६ गते १४:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • परराष्ट्र सचिव अमृतबहादुर राईले गत भदौ १० को भोटेकोशी बाढीबारे चीनले तत्काल सूचना दिन नसकेको बताएका छन् ।
  • उनले चिनियाँ पक्षले पनि जानकारी नपाएको र आफ्ना नागरिकलाई समेत सूचना दिन नभ्याएको जवाफ दिएको समितिलाई बताए ।
  • बाढीको जानकारी पाएपछि नेपाल प्रहरीले तटीय क्षेत्रमा माइकिङ गर्दै स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरेको उनले बताए ।

१६ कात्तिक, काठमाडौं । परराष्ट्र सचिव अमृतबहादुर राईले गत भदौ १० गते आएको भोटेकोशी बाढीबारे चीन सरकारले तत्काल सूचना दिन नसकेको बताएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी कोरिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा उनले चिनियाँ पक्षले नेपाललाई तत्काल सूचना उपलब्ध गराउन नसकेको बताएका हुन् ।

यसबारे चिनियाँ पक्षलाई आफूले ध्यानाकर्षण गराएको पनि समितिलाई जानकारी गराए ।

‘मलाइ लाग्छ त्यो सूचना उहाँहरूले प्राप्त गरेर उहाँहरूको मान्छेलाई पनि त्यो भन्न भ्याउनुभएको थिएन । चाइनिज साइडबाट हामीलाई भएको कुरा चाहीँ यही हो । उहाँहरुले नि त आफ्ना मान्छे बचाउनुहुन्थ्यो,’ उनले भने, ‘त्यति सर्टेन हिसाबले त्यो इन्सिडेन्ट भएको देखिन्छ, त्यसले गर्दा पूर्वसूचना दिने समय नै भएन । अब भइसकेपछाडि यस्तो भएको भए भन्ने कुरा त बेग्लै हो ।’

चिनियाँ पक्षले आफैंले पनि जानकारी नपाएको कारण नेपाललाई जानकारी दिन नसकेको जवाफ दिएको उनको भनाइ छ । नेपालतर्फ घटना भएकाले पनि चीनलाई समेत बाढीको पूर्वसूचना नभएको हुनसक्ने उनले बताए ।  चिनियाँ पक्षले पनि आफ्नै नागरिकलाई सूचना दिन नभ्याएको कारण धेरै जनधनको क्षति भएको जानकारी आफूलाई दिएको उनले बताए ।

‘त्यो सायद त्यति धेरै समय त्यहाँ थिएन होला । त्यसले गर्दाखेरि त्यो तत्कालको पूर्वसूचना आएको होइन । सूचना पाईसकेपछि तलको तटीय क्षेत्रमा हाम्रै प्रहरीहरूले पनि बाढी आउँदैछ भाग्नुस् भनेर चाहीँ माइकिङ गर्दै हिंड्या हो । तर त्यहाँको तटीय क्षेत्रमा बस्ने मान्छेहरूले त्यो पत्याउँदै पत्याउनुभएन । बाढी त सधैँ आएको हो नि भनेर उहाँहरु भाग्नुभएन,’ उनले भने ।

बाढीको प्रकृति र घटनाको तीव्रताका कारण तत्काल सूचना आदानप्रदान हुन नसकेको उनको भनाइ छ । घटना भइसकेपछि त्यसबारे विभिन्न प्रश्न उठाउनु स्वाभाविक भएपनि त्यसबेला पूर्वसूचना दिने पर्याप्त समय नरहेको उनले बताए ।

‘त्यसैले ठ्याक्कै त्यो बेला त्यही दिन नै सूचना सेयर चाहिँ भएको होइन, त्यसरी हाम्रो संयन्त्र पनि थिएन । तर मलाई लाग्छ त्यो यदि उनीहरूसँग पहिले नै त्यो जानकारी भएको भए, उनीहरूले कम्तीमा आफ्नो हिस्सा त बचाउन सक्थे नि, त्यो पनि भएन नि त । त्यसबाट स्विप्ट गएर जम्मै एकैचोटि गरेको न हो,’ उनले भने ।

उनले बाढीको जानकारी पाएपछि तल्लो तटीय क्षेत्रमा नेपाल प्रहरी परिचालन गरी माइकिङमार्फत स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिएपनि कतिपयले अटेर गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?