News Summary
Generated by OK AI. Editorially reviewed.- कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगबारे सत्तापक्षको धारणा र तयारी हेरेपछि मात्रै प्रतिपक्षी दलहरूले धारणा बनाउने बताएका छन्।
- उनले महाअभियोगजस्तो गम्भीर विषयमा पार्टीगत रूपमा पर्याप्त छलफल हुनुपर्ने र पार्टी तथा संसदीय दलको धारणा एकै दिशामा हुनुपर्ने जोड दिएका छन्।
- आङ्देम्बेले रास्वपाले विश्वसनीय धारणासहित प्रस्तुत भएपछि प्रतिपक्षी दलहरू बसेर साझा धारणा तय गर्ने बताएका छन्।
१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगको विषयमा सत्तापक्षको धारणा र तयारी हेरेपछि मात्रै प्रतिपक्षी दलहरूले आफ्नो धारणा बनाउने बताएका छन् ।
कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार बसेको प्रतिपक्षी दलहरूको बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिने क्रममा सोधिएको प्रश्नको जवाफमा उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
महाअभियोग लगाउने विषयमा सत्तापक्षभित्रै टुंगो लागिनसकेको उल्लेख गर्दै नेता आङ्देम्बेले सत्तापक्षले विषयलाई कसरी उठान गर्छ भन्ने कुरा आफूहरूले हेरिरहेको बताए ।
उनले महाअभियोगजस्तो गम्भीर विषयमा पार्टीगत रूपमा पर्याप्त छलफल हुनुपर्नेमा जोड दिए । पार्टीले एउटा धारणा व्यक्त गर्ने तर संसदीय दल अर्कै दिशामा अघि बढ्ने अवस्था भए त्यसको अर्थ नरहने आङ्देम्बेको भनाइ छ ।
आङ्देम्बेले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दिएको निर्देशन संसदीय दलले पालना गरिरहेको छ कि छैन भन्ने विषयमा पनि आफूहरू स्पष्ट नरहेको बताए ।
‘उहाँहरूले दिएको निर्देशन उहाँहरूको संसदीय दलले मानिरहेको छ कि छैन भन्ने कुरा पनि हामीलाई थाहा छैन,’ आङ्देम्बेले भने, ‘यस्तो गम्भीर र महत्वपूर्ण विषयमा संसद्भित्र रहेका दलका पार्टीहरूले कसरी चासो व्यक्त गर्छन् र त्यो चासोलाई संसद्ले कसरी ग्रहण गरेर अघि बढ्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।’
रास्वपाले महाअभियोगका लागि विश्वसनीय धारणासहित प्रस्तुत भएपछि प्रतिपक्षी दलहरू बसेर साझा धारणा तय गरिने उनले बताए ।
‘उहाँहरू विश्वसनीय धारणासहित प्रस्तुत हुनुहोस् । त्यसपछि हामी प्रतिपक्षी दलहरू बसेर आफ्नो धारणा बनाउँछौं,’ नेता आङ्देम्बेले भने, ‘साझा धारणा बनिसकेपछि राम्रा कामका लागि हामी हिजो पनि साथमा थियौं, आज पनि साथमा छौं ।’
प्रतिक्रिया 4