+
+
Shares

नेपालमा विश्वस्तरीय औषधि उद्योग स्थापना गर्न स्विट्जरल्याण्डसँग सहकार्यको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १६ गते १५:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा विश्वस्तरीय औषधि उद्योग स्थापना गर्न स्विट्जरल्याण्डसँग सरकारी तहको सहकार्य प्रस्ताव गरेका छन् ।
  • दाहालका अनुसार स्विट्जरल्याण्डका राष्ट्रिय परिषद् अध्यक्ष पिएरे आन्द्रे पाजले नेपालका आवश्यक औषधि र सहयोगबारे जानकारी दिन आग्रह गर्दै पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
  • भेटमा दुई देशबीच संसदीय मैत्री समूह गठन गरेर संसदीय अभ्यास आदानप्रदान गर्ने विषयमा पनि सहमति भएको दाहालले जानकारी दिए ।

१६ कात्तिक, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा विश्वस्तरीय औषधि उद्योग स्थापना गर्न स्विट्जरल्याण्डसँग सहकार्यको प्रस्ताव राखेका छन् ।

स्विट्जरल्याण्डको नेशनल काउन्सिलका अध्यक्ष पिएरे आन्द्रे पाजसँग सोमवार भएको शिष्टाचार भेटका क्रममा अध्यक्ष दाहालले नेपालमा औषधि उद्योग स्थापना गर्न सरकारी तहबाट पहल गर्न आग्रह गरेका हुन् ।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले स्विट्जरल्याण्डमा विश्वस्तरीय औषधि उद्योग तथा कम्पनीहरू रहेकाले नेपालमा पनि त्यस्ता उद्योग स्थापना गर्न सहकार्यको प्रश्ताव राखेको बताए ।

उनले नेपालमा औषधि उद्योग संचालन गर्न सकेमा नेपाली जनताले सहुलियतमा औषधि प्राप्त गर्न सक्ने बताए ।

उनका अनुसार स्विट्जरल्याण्डका अध्यक्ष पाजले नेपाललाई आवश्यक पर्ने औषधि तथा अन्य सहयोगका विषयमा जानकारी गराउन आग्रह गर्दै त्यसका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

‘हालै भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि स्विट्जरल्यान्डले २ मिलियन अमेरिकी डलर सहयोग गरेकोमा पनि धन्यवाद व्यक्त गरेँ । यसैगरी, नेपाल र स्विट्जरल्याण्डबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा शुभकामना आदानप्रदान गरियो । स्विजरल्याण्डमा राम्रा–राम्रा औषधि उद्योगहरू छन्, कम्पनीहरू छन्, ठूला–ठूला विश्व स्ट्याण्डर्डका । त्यो यदि सम्भव हुन्छ भने सरकारीस्तरबाटै नेपालमा पनि औषधि उद्योग स्थापना गर्न सहयोग भएमा नेपाली जनतालाई अलि सहुलियत हुने थियो भनेर मैले प्रस्ताव गरेको थिएँ,’ उनले भने ।

अध्यक्ष दाहालले नेपाललाई विकास साझेदारका रूपमा स्विजरल्याण्डले सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने अपेक्षा राखेको बताए । विपद्का समयमा स्विजरल्याण्डले गर्दै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर रहने विश्वास व्यक्त पनि गरे ।

हालै भोटेकोशी बाढीबाट प्रभावितका लागि स्विट्जरल्याण्डले २ मिलियन अमेरिकी डलर सहयोग गरेको थियो ।

‘उहाँले सिधै के प्रश्ताव राखिदिनुभयो भने तपाईँहरूलाई के–के हो, तपाईँहरूको आवश्यक्ता भन्नुुस्, हामी त्यसको लागि पहल गर्छौँ भन्ने खालको उहाँले राख्नुभयो । उहाँले नेपालका आवश्यकता पहिचान गरी त्यसका लागि आवश्यक पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । मैले सम्बन्धित निकायसँग यस विषयलाई गम्भीरतापूर्वक राख्ने प्रतिबद्धता व्यक्त गरेँ,’ दाहालले भने, ‘त्यसैगरी, दुई देशबीच संसदीयमैत्री समूह गठन गर्ने विषयमा पनि छलफल भयो । उहाँले स्विट्जरल्यान्डमा पनि संसदीय मैत्री समूह गठन गर्छौ भन्नुभयो, यहाँबाट जाने बित्तिकै हामी बनाउँछौँ भन्नुभएको छ । यो संसदीय समूह मार्फत दुई देशको संसदीय अभ्यासलाई आदानप्रदान गर्ने र सहयोग गर्ने सहमति भएको छ ।’

नेपाल र स्विट्जरल्याण्डबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा दुवै पक्षले शुभकामना आदानप्रदान गरेका थिए । भेटमा दुई देशबीच संसदीय सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको अध्यक्ष दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?