+
+
Shares

चीन र रुसमाथि पनि जासुसी गरिरहेको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले अमेरिकाको जासुसी गरिरहेको भए पनि अमेरिकाले उनीहरूको निगरानी गरिरहेको र यसमा आफूहरू अझ सक्षम रहेको दाबी गरेका छन्। 

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १६ गते १५:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोवामा चीन र रुसले अमेरिकाको जासुसी गरिरहेको भए पनि अमेरिका पनि उनीहरूको जासुसी गरिरहेको बताएका छन्।
  • अमेरिकी न्याय मन्त्रालयका अनुसार चिनियाँ नागरिक लिरेन ‘रायन’ लाइ र युएन्स चेनलाई चीनका लागि गुप्तचर गतिविधि गरेको अभियोगमा अक्टोबर ३० मा जनही ३० महिनाको जेल सजाय सुनाइएको छ।
  • उनीहरूले अमेरिकी सेनाभित्र स्रोत भर्ती गर्ने, संवेदनशील सूचना दिने व्यक्तिलाई रकम दिने र सैन्य प्रतिष्ठानका तस्बिर तथा व्यक्तिगत विवरण सङ्कलन गरेको अदालतका कागजातमा उल्लेख छ।

१६ कात्तिक, आयोवा (अमेरिका) (रासस/एएनआई)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले अमेरिकाको जासुसी गरिरहेको भए पनि अमेरिकाले उनीहरूको निगरानी गरिरहेको र यसमा आफूहरू अझ सक्षम रहेको दाबी गरेका छन्।

आइतबार आयोवामा रिपब्लिकन उम्मेदवारहरूको चुनावी सभालाई सम्बोधन गर्दै उनले चीन र रुसले अमेरिकामाथि जासुसी गरिरहेको प्रसङ्ग उल्लेख गरे । “उनीहरूले हाम्रो जासुसी गरिरहेका छन्, तर हामी पनि उनीहरूको जासुसी गर्छौं र अझ राम्रोसँग गर्छौं”, ट्रम्पले भनेका थिए।

अमेरिकी सैन्य कर्मचारी र प्रतिष्ठानलाई लक्षित गरी चीनले गुप्तचर गतिविधि सञ्चालन गरेको आरोपबारे अनुसन्धान भइरहेका बेला उनको यस्तो भनाइ आएको हो ।

अमेरिकी न्याय मन्त्रालयका अनुसार चिनियाँ नागरिक लिरेन ‘रायन’ लाइ र युएन्स चेनलाई चिनियाँ सरकारको एजेन्टका रूपमा काम गर्ने षड्यन्त्र गरेको अभियोगमा अक्टोबर ३० मा जनही ३० महिनाको जेल सजाय सुनाइएको थियो ।

उनीहरूले चीनको राज्य सुरक्षा मन्त्रालयको निर्देशनमा अमेरिकी सेनाभित्र गुप्तचर स्रोत भर्ती गर्ने प्रयास गर्नुका साथै संवेदनशील सूचना उपलब्ध गराउने व्यक्तिलाई गोप्य रकम दिने व्यवस्था मिलाएका थिए ।

अदालतका कागजातअनुसार उनीहरूले सन् २०२२ जनवरीमा क्यालिफोर्नियाको लिभरमोरमा ‘डेड ड्रप’ विधिबाट करिब १० हजार अमेरिकी डलर भुक्तानीको व्यवस्था गरेका थिए । उनीहरूले अमेरिकी सैन्य प्रतिष्ठान, नौसेनाका कर्मचारी र सैनिक भर्ती केन्द्रका तस्बिर तथा सम्भावित गुप्तचर लक्ष्यका व्यक्तिगत विवरणसमेत सङ्कलन गरेका थिए ।

अमेरिकी सङ्घीय अनुसन्धान ब्युरोले सन् २०२५ जुन २७ मा दुवैलाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?