News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल आयल निगमले ग्यास उद्योगलाई मासिक कोटाको ३० प्रतिशत ग्यास अनिवार्य व्यावसायिक मूल्यमा खरिदबिक्री गर्नुपर्ने प्रस्ताव गरेको छ ।
- शुक्रबार निगम र नेपाल एलपी ग्यास उद्योग संघबीचको बैठकमा व्यावसायिक प्रयोजनका लागि फरक क्षमताका सिलिन्डर नआउन्जेल यही व्यवस्था लागु गर्ने प्रस्ताव पेस भएको हो ।
- ग्यास उद्योगीहरूले एक हप्ताभित्र आपसी छलफल गरी निगमलाई जानकारी गराउने निर्णय गरेका छन् ।
१६ कात्तिक, काठमाडौं । घरायसी र व्यावसायिक ग्यासको मूल्य र प्रयोग व्यवस्थित गर्न नेपाल आयल निगमले नयाँ नीति अघि सारेको छ ।
निगमले ग्यास उद्योगहरूलाई उनीहरूको मासिक कोटाको ३० प्रतिशत ग्यास अनिवार्य व्यावसायिक मूल्यमा खरिदबिक्री गर्नुपर्ने प्रस्ताव गरेको हो ।
शुक्रबार निगम र नेपाल एलपी ग्यास उद्योग संघ पदाधिकारीबीच भएको बैठकमा यो प्रस्ताव पेस भएको हो । प्रस्ताव अनुसार व्यावसायिक प्रयोजनका लागि फरक क्षमताका सिलिन्डर बजारमा नआउन्जेलसम्म उद्योगहरूले ३० प्रतिशत कोटा निगमबाटै व्यावसायिक मूल्यमा उठाउनुपर्ने छ ।
त्यस्तै उक्त ग्यास व्यावसायिक प्रयोजनमै बेच्ने वा निश्चित ब्रान्ड तोकेरमात्र व्यावसायिक बिक्री गर्ने व्यवस्था मिलाउनुपर्ने छ ।
यस विषयमा ग्यास उद्योगीहरूले एक हप्ताभित्र आपसी छलफल गरी निगमलाई जानकारी गराउने निर्णय भएको छ ।
यसबाहेक बैठकमा ग्यास उद्योगहरूको सञ्चालन लागत घटाउन र बजार व्यवस्थित गर्न ‘मर्जर’ मा जाने र देशभरि ‘सिंगल लोगो’ मा ग्यास सिलिन्डर बिक्री वितरण गर्ने एजेन्डामा समेत छलफल भएको थियो ।
निगम सञ्चालक समिति सदस्य नमराज घिमिरे र निगमका कार्यकारी निर्देशक नागेन्द्र साहको उपस्थितिमा भएको बैठकमा ग्यास उद्योग संघका तर्फबाट अध्यक्ष दिवान चन्दसहित पदाधिकारी सहभागिता थिए ।
प्रतिक्रिया 4