News Summary
Generated by OK AI. Editorially reviewed.- निरन्तर वर्षाका कारण ललितपुर जावलाखेलमा जारी १९औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको अवधि दुई दिन थपिएको छ ।
- फ्यानका अनुसार कात्तिक १२ देखि १६ सम्म चल्ने तय प्रदर्शनी अब कात्तिक १८ सम्म सञ्चालन हुनेछ ।
- आइतबार साँझसम्म २३ हजारभन्दा बढी दर्शकले मेला अवलोकन गरेका छन् र ७५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
१६ कात्तिक, काठमाडौं । निरन्तर वर्षाका कारण अवलोकनकर्तालाई समस्या भएपछि ललितपुर जावलाखेलमा जारी ‘१९औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी’ अवधि दुई दिन थपिएको छ ।
आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार कात्तिक १२ देखि सुरु भई १६ सम्म चल्ने तय भएको प्रदर्शनी अब कात्तिक १८ सम्म सञ्चालन हुनेछ ।
फ्यान अध्यक्ष राजेशभक्त श्रेष्ठले वर्षाका कारण फूलप्रेमी दर्शकलाई अवलोकनमा असुविधा पुगेकाले समय लम्ब्याउने निर्णय गरिएको बताए ।
‘रोपौं फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने मूल नारासाथ सुरु भएको यस प्रदर्शनीमा विभिन्न प्रजातिका गोदावरी फूल तथा आकर्षक पुष्प सजावटका सामग्री राखिएका छन् ।
फ्यानका वरिष्ठ उपाध्यक्ष एवं मेला संयोजक रामबहादुर तामाङका अनुसार आइतबार साँझसम्म २३ हजारभन्दा बढी दर्शकले मेला अवलोकन गरिसकेका छन् भने ७५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
सदर चिडियाखाना अगाडि जावलाखेल खेलमैदानमा बिहान ९ देखि साँझ ५ बजेसम्म मेला अवलोकन गर्न सकिने छ । प्रदर्शनीले पुष्प व्यवसाय प्रवर्द्धन, फूलको व्यावसायिक उत्पादन र आन्तरिक बजार विस्तारमा महत्त्वपूर्ण सहयोग पुग्ने फ्यान महासचिव हिरामणि शर्माले बताए ।
यस प्रदर्शनीको सहआयोजकमा बागमती प्रदेशको कृषि विकास निर्देशनालय, पुष्प विकास केन्द्र, कृषि विभाग र राष्ट्रिय फलफूल बाली विकास केन्द्र छन् ।
प्रतिक्रिया 4