+
+
Shares
विचार :

किन आवश्यक छ मौसम विज्ञानको सबलीकरण ?

प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चहरूमा गरेको जलवायु प्रतिबद्धतालाई व्यवहारमा उतार्न नेपालले आफ्नो मौसम विज्ञानको संस्थागत क्षमता, वैज्ञानिक अवलोकन र पूर्वसूचना प्रणालीलाई सबल बनाउनुपर्छ । मौसम विज्ञानलाई परम्परागत दैनिक वर्षाको पूर्वानुमानमा मात्र सीमित राखेर बुझ्नु पर्याप्त हुँदैन।

प्रा.डा. विनोद दवाडी प्रा.डा. विनोद दवाडी
२०८३ कात्तिक १७ गते १२:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले जलवायु परिवर्तनको जोखिम सामना गर्न विश्वसनीय मौसम अवलोकन सञ्जाल, आधुनिक पूर्वानुमान प्रविधि र सुदृढ राष्ट्रिय मौसम विज्ञान संस्था आवश्यक भएको लेखमा उल्लेख छ।
  • लेखले नेपाल मौसम विज्ञान विभागलाई अनुसन्धानमुखी, प्रविधिमैत्री र बहुक्षेत्रीय सेवा प्रणालीमा सुदृढ गर्न पञ्चवर्षीय वैज्ञानिक मार्गचित्र प्रस्ताव गरेको छ।

जलवायु परिवर्तनका कारण तीव्र बन्दै गएको हिमाली हिमनदीको क्षयीकरण, अत्यधिक वर्षा, आकस्मिक बाढी, पहिरो, खडेरी, तापक्रम वृद्धि तथा अन्य विषम मौसमी घटनाहरूले नेपालको जनजीवन, अर्थतन्त्र, जैविक विविधता र विकास पूर्वाधारमा गम्भीर चुनौती थपिरहेका छन्। यस्तो अवस्थामा मौसम विज्ञानलाई परम्परागत दैनिक वर्षाको पूर्वानुमानमा सीमित राखेर बुझ्नु पर्याप्त हुँदैन। आधुनिक मौसम विज्ञान भनेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन, हवाई उड्डयन सुरक्षा, कृषि उत्पादन, जलविद्युत् विकास, पर्यटन, स्वास्थ्य तथा वैज्ञानिक अनुसन्धानको साझा आधारभूत सेवा प्रणाली हो।

विश्व मौसम सङ्गठन (डब्लूएमओ) को सन् २०२६ मा प्रकाशित ‘स्टेट अफ द ग्लोबल क्लाइमेट २०२५’ प्रतिवेदनअनुसार सन् २०१५ देखि २०२५ सम्मका ११ वर्ष अभिलेखमा रहेका सर्वाधिक तातो वर्षहरू हुन्। सन् २०२५ को विश्वव्यापी औसत तापक्रम औद्योगिकीकरणपूर्वको तुलनामा करिब १.४३ डिग्री सेल्सियस बढी थियो। एसियाको जलवायु परिवर्तनसम्बन्धी डब्लूएमओको अध्ययनले यस क्षेत्रको तीव्र तापक्रम वृद्धि, हिमनदी क्षय तथा चरम मौसमी जोखिमप्रति गम्भीर ध्यानाकर्षण गराएको सर्वविदितै छ।

यसै सन्दर्भमा नेपालका प्रधानमन्त्रीले २४ सेप्टेम्बर २०२६ मा संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा हिमालय जलवायु उत्थानशीलता संयन्त्र, सीमापार भू–उपग्रह तथ्याङ्क साझेदारी, हिमताल अनुगमन र संयुक्त पूर्वसूचना प्रणाली विकासको प्रस्ताव प्रस्तुत गर्नुभएको छ। यस अन्तर्राष्ट्रिय अवधारणालाई व्यवहारमा रूपान्तरण गर्न नेपालसँग विश्वसनीय अवलोकन सञ्जाल, ऐतिहासिक जलवायु तथ्याङ्क, आधुनिक पूर्वानुमान प्रविधि, विशिष्टीकृत दक्ष जनशक्ति तथा प्रभावकारी राष्ट्रिय मौसम विज्ञान संस्था आवश्यक पर्छ।

नेपालमा एक दशकदेखि विकसित मौसम अवलोकन केन्द्रहरू, मौसम राडार, रेडियोसोन्ड, गणितीय मौसम पूर्वानुमान, डिजिटल तथ्याङ्क प्रणाली र हवाई मौसम सेवाले यसका लागि महत्त्वपूर्ण वैज्ञानिक आधार निर्माण गरेका छन्। नेपाल सरकारको पछिल्लो प्रशासनिक पुनःसंरचनाबाट स्थापित नेपाल मौसम विज्ञान विभागको संस्थागत निरन्तरता र सुदृढीकरणलाई यसै राष्ट्रिय वैज्ञानिक क्षमताको संरक्षण तथा विस्तारको अवसरका रूपमा लिन आवश्यक छ।

यो लेख नेपालको विद्यमान मौसम विज्ञान पूर्वाधार, विभागीय प्रतिवेदन, डब्लूएमओ तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईसीएओ) का मापदण्ड, वैज्ञानिक अनुसन्धान र अन्तर्राष्ट्रिय जलवायु प्रतिबद्धताको समीक्षामा आधारित छ। यसले नेपालको राष्ट्रिय मौसम विज्ञान सेवालाई अनुसन्धानमुखी, प्रविधिमैत्री, बहुक्षेत्रीय र परिणाममुखी बनाउने नीतिगत मार्गचित्र प्रस्ताव गर्दछ।

बदलिँदो हिमाली जलवायु र नेपालको बढ्दो वैज्ञानिक आवश्यकता

हिमालय विश्वको महत्त्वपूर्ण उच्च पर्वतीय पर्यावरणीय प्रणाली हो। यहाँ सञ्चित हिउँ, हिमनदी, हिमताल र मौसमी जलचक्रले नेपालसहित दक्षिण एसियाको जलस्रोत, पारिस्थितिक प्रणाली, कृषि, ऊर्जा उत्पादन र जनजीवनमा प्रत्यक्ष प्रभाव पार्छ। उचाइमा ठूलो भिन्नता, जटिल पर्वतीय भूगोल, मनसुनी प्रणाली तथा स्थानीय वायुमण्डलीय प्रक्रियाका कारण नेपालको मौसम प्रणाली स्वभावतः जटिल छ। जलवायु परिवर्तनले यस जटिलतालाई थप चुनौतीपूर्ण बनाउँदै लगेको छ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को सन् २०२३ को वाटर, आइस, सोसाइटी, एन्ड इकोसिस्टम इन द हिन्दुकुश हिमालय रिपोर्टले सन् २०११ देखि २०२० को दशकमा हिन्दुकुश हिमालय क्षेत्रको हिमनदीको क्षय अघिल्लो दशकको तुलनामा ६५ प्रतिशत तीव्र भएको देखाएको छ। उक्त अध्ययनले उत्सर्जनको वर्तमान प्रवृत्ति कायम रहे यस शताब्दीको अन्त्यसम्म हिमनदीको ठूलो हिस्सा गुम्न सक्ने जोखिम औँल्याएको छ। यो समग्र हिन्दुकुश हिमालय क्षेत्रको निष्कर्ष हो, नेपालका सबै हिमनदीमा एउटै दर लागू भएको भन्ने अर्थमा भने बुझ्नु हुँदैन।

डब्लूएमओको स्टेट अफ द क्लाइमेट इन एसिया २०२५ प्रतिवेदनले उच्च पर्वतीय एसियामा निगरानी गरिएका सबै २३ हिमनदीमा सन् २०२५ मा हिमद्रव्यमान घटेको जनाएको छ। यसले हिमाली तापक्रम, हिमपात, हिउँ सञ्चिति र हिमनदीसम्बन्धी निरन्तर मापन तथा अनुसन्धानको आवश्यकता थप स्पष्ट गर्दछ।

नेपालमा हिमाली वातावरणको वैज्ञानिक अध्ययन गर्न विशेषगरी चार विषय महत्त्वपूर्ण छन् : पहिलो— उच्च उचाइमा तापक्रम र वर्षाको दीर्घकालीन प्रवृत्ति। दोस्रो— हिउँ, हिमवर्षा तथा हिमनदी प्रणालीमा देखिने परिवर्तन। तेस्रो— वर्षा, तापक्रम र पहाडी भूगोलबीचको अन्तर्सम्बन्ध। चौथो— मौसमी जोखिमको स्थानीय पूर्वानुमान क्षमता।

यी विषयमा वैज्ञानिक निष्कर्ष प्राप्त गर्न अल्पकालीन परियोजना वा छिटपुट मापन पर्याप्त हुँदैन। कम्तीमा दशकौँसम्म निरन्तर र गुणस्तरीय अवलोकन, विश्वसनीय अभिलेखीकरण तथा संस्थागत अध्ययन र अनुसन्धान आवश्यक हुन्छ।

यसैले हिमालयको जलवायु अध्ययनका लागि राष्ट्रिय मौसम विज्ञान अवलोकन प्रणालीको निरन्तरता स्वयं वैज्ञानिक आवश्यकता हो। कुनै मौसम केन्द्र लामो समय बन्द हुँदा केवल तत्कालीन तथ्याङ्क छुट्दैन; जलवायु परिवर्तनको दीर्घकालीन प्रवृत्ति पहिचान गर्ने तथ्याङ्क शृङ्खलामा समेत रिक्तता उत्पन्न हुन्छ। हामीले बुझ्नुपर्ने कुरा के हो भने, अनुसन्धानका लागि यस्तो अभाव पछि सहजै पूर्ति गर्न सकिँदैन।

जलवायु कूटनीतिबाट वैज्ञानिक कार्यान्वयनतर्फ

नेपालले अन्तर्राष्ट्रिय जलवायु मञ्चहरूमा हिमालय संरक्षण, जलवायु न्याय, अनुकूलन वित्त तथा जलवायुजन्य क्षति र नोक्सानीका विषय निरन्तर उठाउँदै आएको छ। सन् २०२३ मा संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले हिमालयको हिउँ र हिमनदीको क्षयीकरण, तल्लो तटीय क्षेत्रका करोडौँ नागरिकको जोखिम, जलवायु वित्त तथा अनुकूलनका विषयलाई प्रस्तुत गरेका थिए ।

यस प्रतिबद्धतालाई थप वैज्ञानिक तथा क्षेत्रीय सहकार्यको दिशामा अघि बढाउँदै सम्माननीय प्रधानमन्त्री  बालेन शाहले २४ सेप्टेम्बर २०२६ मा संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपाल, भारत र चीनको नेतृत्वदायी सहकार्यमा हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापना गर्ने प्रस्ताव गरे। उक्त सम्बोधनमा भू–उपग्रह तथ्याङ्क तथा विशेषज्ञता साझेदारी, जोखिमपूर्ण हिमतालको निगरानी, संयुक्त पूर्वसूचना प्रणाली र सीमापार विपद् सहयोगलाई प्रमुख विषय बनाइएको छ। प्रधानमन्त्रीले विपद्पछिको प्रतिक्रियाबाट पूर्वतयारीको संस्कृतितर्फ अघि बढ्नुपर्ने र जीवनरक्षा गर्ने पूर्वसूचना प्रणाली निर्माण गर्नुपर्ने आवश्यकता पनि औँल्याएका छन् ।

सम्माननीय प्रधानमन्त्रीको यस प्रस्तावको कार्यान्वयनमा कम्तीमा तीनवटा वैज्ञानिक तथा संस्थागत प्रश्न उठ्छन् :

१. नेपालले हिमालयको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय छलफलमा कति विश्वसनीय राष्ट्रिय तथ्याङ्क प्रस्तुत गर्न सक्छ ?

२. नेपालले प्राप्त गर्ने भू–उपग्रह, हिमाली मौसम, राडार तथा अन्य अवलोकन तथ्याङ्कलाई आफ्नै वैज्ञानिक प्रणालीबाट कति प्रभावकारी रूपमा विश्लेषण गर्न सक्छ ?

३. सीमापार मौसमी जोखिमको वैज्ञानिक सूचना समयमै उत्पादन र आदानप्रदान गर्न नेपालसँग कस्तो संस्थागत क्षमता छ ?

यी प्रश्नको उत्तर सबल राष्ट्रिय मौसम विज्ञान प्रणालीसँग प्रत्यक्ष सम्बन्धित छ।

सम्माननीय प्रधानमन्त्रीले प्रस्ताव गर्नुभएको हिमालय जलवायु उत्थानशीलता संयन्त्र कार्यान्वयन गर्न नेपाल मौसम विज्ञान विभाग एक्लैले मात्र सम्भव छैन। यसमा सरकारमातहतका अन्य निकाय (भूगर्भ विज्ञान, जलविज्ञान र विपद् व्यवस्थापनसम्बन्धी सरकारी निकाय) तथा विश्वविद्यालयसहित क्षेत्रीय संस्थाहरूबीच बहुविषयगत सहकार्य आवश्यक हुन्छ।

यसमा नेपाल मौसम विज्ञान विभागले वायुमण्डलीय अवलोकन, मौसम तथा जलवायु विश्लेषण, गणितीय पूर्वानुमान, मौसमजन्य जोखिम सूचना र अन्तर्राष्ट्रिय मौसम तथ्याङ्क आदानप्रदानको प्राविधिक भूमिका निर्वाह गर्न सक्छ। त्यसैगरी परराष्ट्र मन्त्रालयबाट अघि बढाइने जलवायु कूटनीति तथा अन्तर्राष्ट्रिय वित्तीय सहयोगका प्रस्तावलाई वैज्ञानिक प्रमाण उपलब्ध गराउन पनि राष्ट्रिय मौसम तथा जलवायु तथ्याङ्क अत्यावश्यक हुन्छ।

जलवायु न्यायको अन्तर्राष्ट्रिय दाबी केवल नैतिक आधारमा मात्र सम्भव छैन। हामीले जोखिम, संवेदनशीलता, ऐतिहासिक जलवायु प्रवृत्ति तथा सम्भावित प्रभावको वैज्ञानिक मूल्याङ्कनबाट समेत बलियो बनाउनु जरुरी छ। त्यसका लागि वैज्ञानिक अध्ययन, सूचना विश्वसनीयता र अन्तर्राष्ट्रिय स्तरमा स्वीकार्य तथ्याङ्क उत्पादन गर्ने संस्थाको संस्थागत क्षमता वृद्धि गर्नु अति आवश्यक छ। यस अर्थमा नेपालले अन्तर्राष्ट्रिय जलवायु प्रतिबद्धतालाई व्यवहारमा उतार्न जलवायु कूटनीति र राष्ट्रिय वैज्ञानिक क्षमताबीच स्पष्ट संस्थागत सम्बन्ध स्थापित गर्नुपर्छ।

नेपालको मौसम अवलोकन सञ्जाल

नेपालमा मौसम विज्ञान सेवाको महत्त्वपूर्ण उपलब्धि देशभर फैलिएको मौसम अवलोकन सञ्जाल हो। परम्परागत मौसम तथा वर्षामापन केन्द्रबाट सुरु भएको प्रणाली क्रमशः स्वचालित मौसम केन्द्र, राडार, रेडियोसोन्ड, भू–उपग्रह सञ्चार र गणितीय मौसम पूर्वानुमानसम्म विस्तार भएको देखिन्छ। यी नेपालका गहन उपलब्धि हुन्। विभागीय तथ्याङ्कअनुसार नेपालमा ५०७ म्यानुअल मौसम केन्द्र तथा करिब ४०० स्वचालित मौसम केन्द्र स्थापना गरिएको तथ्याङ्क छ। यद्यपि, हाल विभागले कति सञ्चालनमा ल्याउन सकेको छ भन्ने प्रश्न छ। यी केन्द्रहरूको नियमित सञ्चालनमा धेरै लगानी पनि आवश्यक हुन्छ।

यी केन्द्रहरूको वैज्ञानिक उपयोगिता सङ्ख्यामा मात्र सीमित छैन। वर्षाको भौगोलिक वितरण, मनसुनी प्रवृत्ति, स्थानीय तापक्रम भिन्नता, खडेरी, अत्यधिक वर्षा, शीतलहर, गर्मी र हिमाली मौसमको अध्ययनमा यिनै अवलोकन तथ्याङ्क आधार बन्छन्। विभागले स्वचालित मौसम केन्द्र, रेडियोसोन्ड, मौसम राडार, भू–उपग्रह सञ्चार, न्युमेरिकल वेदर प्रेडिक्सन र हाइ–रिजोल्युसन कम्प्युटिङ प्रणालीमार्फत मौसम तथा जलवायु सूचना उत्पादन गर्ने गरेको आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।

यसले नेपालको मौसम विज्ञान सेवा परम्परागत अवलोकनबाट आधुनिक वैज्ञानिक सूचना प्रणालीतर्फ विस्तार भइसकेको देखाउँछ। उच्च हिमाली क्षेत्रमा विभाग, त्रिभुवन विश्वविद्यालय तथा अन्य सहकार्यकारी संस्थामार्फत झन्डै ५,००० मिटरभन्दा माथि ६ वटा मौसम केन्द्र स्थापना गरिएका छन्। तैपनि कैयौँ उच्च र हिमाली भूभागमा अहिले पनि पर्याप्त मौसम अवलोकन हुन सकेको छैन। मौसम अवलोकन सञ्जाललाई थप विस्तार गर्नुपर्ने देखिन्छ।

नेपालको सबैभन्दा महत्त्वपूर्ण वैज्ञानिक कार्यमध्ये एउटा राष्ट्रिय मौसम तथा जलवायु तथ्याङ्क भण्डारको दीर्घकालीन संरक्षण हो। पुराना म्यानुअल अभिलेखको डिजिटाइजेसन, केन्द्र स्थानान्तरणको इतिहास, उपकरण परिवर्तन, मापन विधि, तथ्याङ्कको गुणस्तर नियन्त्रण र दीर्घकालीन समानुपातिक विश्लेषण विना जलवायु प्रवृत्तिको सही निष्कर्ष प्राप्त गर्न कठिन हुन्छ।

मौसम विज्ञान र जलविज्ञान अलग वैज्ञानिक विधामा आधारित भए पनि तिनका धेरै प्रयोग परस्पर सम्बन्धित छन्। वर्षाको पूर्वानुमानविना बाढी पूर्वानुमान प्रभावकारी नहुन सक्छ। वास्तविक समय वर्षाको तथ्याङ्क साझेदारी निरन्तर आवश्यक हुन्छ।

विशेषगरी कुनै क्षेत्रको औसत तापक्रममा आएको परिवर्तन वास्तविक जलवायु परिवर्तनका कारण हो वा मौसम केन्द्रमा राखिने उपकरण विश्व मौसम सङ्गठनको मापदण्डबमोजिम नभएकोले हो वा केन्द्र विस्तार भएको समय लामो नभएकोले हो वा आसपासको भूसतह बदलिएको कारण हो भन्ने छुट्याउन वैज्ञानिक तथ्याङ्क व्यवस्थापन आवश्यक हुन्छ। नेपालले अब मौसम केन्द्र विस्तार मात्र होइन— प्रत्येक केन्द्रको तथ्याङ्क गुणस्तर, मर्मतसम्भार, सञ्चालन नियमितता र अनुसन्धानमा उपयोगको परिणामसमेत मूल्याङ्कन गर्नुपर्छ।

यसका लागि पर्याप्त जलवायु मापन केन्द्र सबै (७५३ वटै) स्थानीय तहको सहकार्यमा स्थापना गर्न सकिन्छ। स्थानीय तहसँगको सहकार्यबाट प्राप्त भएको तथ्याङ्कले स्थानीय तहको जलवायु अनुकूलन तथा विपद् व्यवस्थापनका लागि वैज्ञानिक आधारका रूपमा महत्त्वपूर्ण भूमिका खेल्छन्। उक्त तथ्याङ्कहरू स्थानीय विद्यालयको पाठ्यक्रममा समावेश गरी विद्यार्थीमार्फत समुदायस्तरमा जलवायु परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रममा महत्त्वपूर्ण योगदान दिन सकिन्छ।

त्यसका लागि विश्वविद्यालयले स्थानीय तहको जलवायु मापन केन्द्रको स्थापना, मर्मतसम्भार, तथ्याङ्क विश्लेषण तथा व्यवस्थापन गरी उक्त तथ्याङ्कलाई राष्ट्रिय सूचना प्रणालीमा आबद्ध गर्न सके हाल सञ्चालित करिब ४०० स्वचालित मौसमी केन्द्रहरू ११०० भन्दा बढी भई राष्ट्रिय क्षमता विकासमा अभिन्न अङ्ग बन्न सक्दछन्। यसरी केन्द्रहरू स्थापना गर्दा भौगोलिक उचाइ, विद्यमान केन्द्रको दूरी, जलवायु क्षेत्र, विपद् जोखिम तथा वैज्ञानिक पर्यवेक्षण, अनुसन्धान तथा सिफारिसका आधारमा उक्त सञ्जाल विकास र विस्तार गर्दै जानु उपयुक्त हुन्छ।

वैज्ञानिक अवलोकन र पूर्वसूचनाको वास्तविक उपयोगिता

मौसम विज्ञानमा गरिएको लगानीको प्रत्यक्ष उपयोगिता बुझ्न सन् २०२४ जुलाईमा कञ्चनपुरमा भएको अत्यधिक वर्षाको घटना महत्त्वपूर्ण अध्ययन उदाहरण हो। नेपालको साबिक जल तथा मौसम विज्ञान विभागले २०८१ सालमा प्रकाशन गरेको रेकर्ड ब्रेक वर्षासम्बन्धी स्थलगत अनुगमन प्रतिवेदन अनुसार असार २३ गते बिहान ८:४५ देखि असार २४ गते बिहान ८:४५ बजेसम्मको २४ घण्टामा दोधारामा ६२४.० मि.मि., हनुमाननगरमा ५७३.६ मि.मि. र सुन्दरपुरमा करिब ५५६ मि.मि. वर्षा मापन गरिएको देखाउँछ।

उक्त घटनाको अध्ययनमा दोधाराको स्वचालित वर्षामापक उपकरणको स्थलगत परीक्षण गरिएको र परीक्षणमा औसत मापन त्रुटि करिब ०.५ प्रतिशत पाइएको तथा उपकरणको कार्यावस्था उपयुक्त रहेको प्रतिवेदनले निष्कर्ष निकालेको छ। यसले चरम वर्षाका घटनाको विश्वसनीय अभिलेख राख्न उपकरणको क्यालिब्रेसन तथा स्थलगत प्रमाणीकरण कति आवश्यक हुन्छ भन्ने पनि देखाउँछ।

यो घटना मौसम विज्ञानको अर्को महत्त्वपूर्ण पक्षसँग जोडिएको छ। विभागले स्थानीय पालिकासँगको सहकार्यमा सो मनसुनबाट कञ्चनपुर क्षेत्रमा प्रभावमा आधारित मौसम पूर्वानुमान परीक्षण गरिरहेको थियो। विभागीय प्रतिवेदनमा स्थानीय निकाय तथा समुदायसँग उक्त सेवाको प्रभावकारिता सम्बन्धमा छलफल तथा पृष्ठपोषण सङ्कलन गरिएको उल्लेख छ।

यस अनुभवले पूर्वानुमान प्रणालीलाई दुई तहमा बुझ्नुपर्ने देखाउँछ। पहिलो, मौसम विज्ञानले कति वर्षा हुन सक्छ, कहाँ हुन सक्छ र कति समयसम्म हुन सक्छ भन्ने वैज्ञानिक पूर्वानुमान दिन्छ। दोस्रो, उक्त वर्षाबाट कुन बस्ती, सडक, कृषि क्षेत्र वा सार्वजनिक पूर्वाधार प्रभावित हुन सक्छ र के तयारी आवश्यक हुन्छ भन्ने जानकारी स्थानीय जोखिम तथा संवेदनशीलताका आधारमा तयार गर्नुपर्छ। त्यसैले प्रभावमा आधारित पूर्वानुमानको उद्देश्य मौसमको अवस्थाबारे मात्र जानकारी दिनु होइन— सम्भावित असरको आधारमा निर्णय लिन सहयोग गर्नु हो।

कञ्चनपुरको अनुभवले अवलोकन, पूर्वानुमान, स्थानीय तहसँगको समन्वय तथा पूर्वतयारीलाई एउटै प्रणालीमा जोड्ने अवसर देखाएको छ। यसको राष्ट्रिय महत्त्व के हो भने, वैज्ञानिक पूर्वानुमान स्थानीय तहसम्म पुगेपछि र स्थानीय निकायले त्यसलाई कार्ययोजनामा रूपान्तरण गरेपछि मौसम सूचना वास्तविक सार्वजनिक सुरक्षाको साधन बन्न सक्छ।

मौसम पूर्वानुमानको नयाँ युग

आधुनिक मौसम विज्ञानको अवसर गणितीय मौसम पूर्वानुमान रहेको छ। यस प्रणालीले तापक्रम, वायुचाप, हावा, आर्द्रता तथा अन्य वायुमण्डलीय अवस्थाका भौतिक समीकरणलाई कम्प्युटरमार्फत समाधान गरी भविष्यको मौसम अनुमान गर्दछ। तर नेपालको भौगोलिक जटिलताका कारण विश्वव्यापी मौसम मोडेलबाट प्राप्त पूर्वानुमानलाई सीधै स्थानीय तहमा प्रयोग गर्दा ठ्याक्कै नमिल्न सक्छन्, किनभने पहाडी भूभाग, उपत्यकाको हावाको प्रवाह, मनसुनी बादल निर्माण, स्थानीय मेघगर्जन तथा अत्यधिक वर्षाका घटना नेपालमा अस्वाभाविक छन्।

यसलाई अझ सटीक रूपमा प्रस्तुत गर्न उच्च विभेदनयुक्त क्षेत्रीय मोडेल आवश्यक पर्छ। यसका लागि उच्च क्षमताको कम्प्युटिङ प्रणाली, स्थानीय अवलोकन तथ्याङ्क, वैज्ञानिक दक्षता र निरन्तर मोडेल प्रमाणीकरण चाहिन्छ।

नेपालले विकास गर्नुपर्ने मौसम तथा जलवायु पूर्वानुमान क्षमता मुख्यतः तीन तहमा आधारित हुन सक्छ :

१. अति छोटो अवधिको पूर्वानुमान: यसअन्तर्गत मौसम राडार, भू–उपग्रह, चट्याङ अनुगमन प्रणाली तथा सतही मौसम अवलोकनका तथ्याङ्क प्रयोग गरी आगामी केही मिनेटदेखि केही घण्टासम्म हुन सक्ने तीव्र वर्षा, आँधी, मेघगर्जन तथा चट्याङसम्बन्धी तत्कालीन पूर्वानुमान र चेतावनी जारी गर्न सकिन्छ।

२. छोटो तथा मध्यम अवधिको मौसम पूर्वानुमान : यसअन्तर्गत उच्च विभेदनयुक्त गणितीय मौसम पूर्वानुमान तथा सम्भावनामा आधारित बहुसदस्यीय पूर्वानुमान प्रणाली प्रयोग गरी आगामी १ देखि ७ दिनसम्मको स्थानविशेष मौसम पूर्वानुमान विकास गर्न सकिन्छ।

३. उपऋतुगत तथा ऋतुगत पूर्वानुमान : यसले आगामी केही हप्तादेखि महिनौँ तथा ऋतुसम्मको तापक्रम, वर्षा, खडेरी तथा अन्य जलवायु अवस्थाको सम्भावित प्रवृत्ति मूल्याङ्कन गरी कृषि, जलविद्युत्, जलस्रोत व्यवस्थापन तथा विपद् पूर्वतयारीका लागि दीर्घकालीन योजना र निर्णय प्रक्रियामा सहयोग पुर्‍याउन सक्छ।

यी तीनवटै पूर्वानुमान प्रणालीको उद्देश्य, समयावधि, स्थानिक विवरण तथा विश्वसनीयताको स्तर फरक–फरक हुन्छ। विशेषगरी पूर्वानुमानको अवधि बढ्दै जाँदा कुनै निश्चित स्थानमा वर्षा हुने वा नहुने, तापक्रम कति पुग्ने, हावाहुरी चल्ने वा चट्याङ पर्नेजस्ता घटनाबारे निश्चित दाबी गर्नुभन्दा तिनको सम्भावना, अनिश्चितता तथा जोखिमको स्तर स्पष्ट रूपमा प्रस्तुत गर्नु वैज्ञानिक दृष्टिले बढी उपयुक्त हुन्छ।

यसका लागि नियमित पूर्वानुमान परीक्षण तथा प्रमाणीकरण, स्थानीय तथ्याङ्कको उपयोग र सम्भावनामा आधारित सूचना सम्प्रेषणलाई सुदृढ गर्दै लैजानु आवश्यक छ। यसका लागि राज्यले प्रारम्भिक चरणमा मौसम प्रविधि सञ्चालन र विश्लेषण गर्ने जनशक्तिमा लगानी बढाउनु उपयुक्त छ। यद्यपि प्रणालीमा स्थायित्व भएपछि उक्त लगानी कम हुँदै जान सक्छ।

नेपालले सुर्खेत, पाल्पा तथा उदयपुरमा तीनवटा सी–ब्यान्ड मौसम राडार स्थापना गरिसकेको छ। उक्त राडारहरूमध्ये दुई वटा सञ्चालनमै रहेको र सुर्खेतस्थित राडार हाल मर्मतसम्भारका क्रममा रहेको देखिन्छ। नेपालका लागि राडार स्थापना मात्र पर्याप्त हुँदैन। यसको नियमित सञ्चालन, उपकरण मर्मत, समयमै क्यालिब्रेसन, तथ्याङ्क प्रशोधन, वर्षा अनुमानको प्रमाणीकरण तथा पूर्वानुमानकर्ताको व्यावहारिक उपयोग र बजेट पर्याप्त उपलब्ध हुन सक्ने/नसक्नेले महत्त्व राख्दछ।

हाल तीनवटै राडार मर्मतसम्भार, सिस्टम परीक्षण तथा क्यालिब्रेसनका लागि अन्तर्राष्ट्रिय स्तरको परामर्श सेवासम्बन्धी खरिद प्रक्रिया अघि बढाएको तथ्य विभागीय वेबसाइटमा प्रकाशित छ।

विशेषगरी नेपालको पर्वतीय भूगोलमा राडार किरणको अवरोध, उचाइ, दूरी तथा वर्षाका प्रकारअनुसार मापनमा सीमा रहन सक्छ। त्यसैले राडार तथ्याङ्कलाई जमिनमा मापन भएको वर्षा तथा भू–उपग्रह अवलोकनसँग एकीकृत गर्नुपर्छ। यसैगरी काठमाडौँ उपत्यका, उच्च हिमाल र संवेदनशील क्षेत्रमा आवश्यकताका आधारमा एक्स–ब्यान्ड लगायतका उपयुक्त राडार प्रविधि, विन्ड प्रोफाइलर र अन्य वायुमण्डलीय अवलोकन प्रणाली विस्तार गर्नुपर्ने हुन सक्छ। विभागलाई हालको राडारको नियमित सञ्चालन गर्न नै बजेट व्यवस्थापनमै समस्या भएकोले थप राख्नेतर्फ सोच नबनाएको हुन सक्छ। तर नेपालले अब यता पनि सोच बनाएर अघि बढ्ने समय आएको छ।

भविष्यमा विभागले एआई तथा मेसिन लर्निङको उपयोगले मौसम तथ्याङ्क गुणस्तर नियन्त्रण, मौसम राडार विश्लेषण, वर्षा र तापक्रमको स्थानविशेष पूर्वानुमान तथा मोडेलको त्रुटि सुधारमा कार्य अघि बढाउनुपर्ने समय आएको छ। यसका लागि अध्ययन–अनुसन्धानमा जोड दिनुपर्छ। नेपालको भविष्यको मौसम पूर्वानुमान प्रणाली अवलोकन, गणितीय मोडेल, मौसम राडार, अध्ययन–अनुसन्धान र पूर्वानुमानकर्ताको वैज्ञानिक निर्णयको क्षमता बढाउनुपर्छ।

हवाई उड्डयन सुरक्षा : मौसम विज्ञानको अन्तर्राष्ट्रिय दायित्व

हवाई मौसम सेवा राष्ट्रिय मौसम विज्ञान विभागको एउटा सामान्य एकाइ मात्र नभई अन्तर्राष्ट्रिय मापदण्ड र उड्डयन सुरक्षासँग जोडिएको अत्यन्त विशिष्टीकृत वैज्ञानिक सेवा हो। नेपालको हवाई उड्डयन प्रणालीमा मौसम सेवाको महत्त्व अन्य धेरै देशको तुलनामा अझै अत्यन्तै महत्त्वपूर्ण छ। नेपालमा उच्च हिमाल, साँघुरा उपत्यका, तीव्र भूआकृतिक परिवर्तन, स्थानीय हावाको अस्थिरता, न्यून दृश्यता, बादलको न्यून आधार, हिमपात र अन्य प्रतिकूल मौसमले विशेषगरी पहाडी तथा छोटो धावनमार्ग भएका विमानस्थलको सञ्चालन थप चुनौतीपूर्ण रहेको छ।

सुरक्षाका दृष्टिले मौसम सूचनाविना हवाई उडान गर्न नहुने मान्यता छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईसीएओ) को एनेक्स ३ को उद्देश्य हवाई उड्डयनको सुरक्षा, नियमितता र दक्षतामा योगदान पुर्‍याउनु हो। सन् २०२५ मा प्रकाशित यसको २१औँ संस्करण तथा PANS-MET (Doc 10157) ले हवाई मौसम सेवासम्बन्धी मापदण्ड र कार्यविधिको आधार प्रदान गरेका छन्। यस अन्तर्राष्ट्रिय व्यवस्थाअनुसार विभागको मौसम अवलोकन, उड्डयन मौसम पूर्वानुमान तथा चेतावनी, हवाई मार्गका जोखिमसम्बन्धी सूचना, उडानपूर्व मौसम जानकारी र सम्बद्ध सेवा–प्रदायकसँग समन्वय अति महत्त्वपूर्ण छ।

नेपालले हवाई मौसम सेवा सुदृढीकरणमा विशेषगरी METAR/SPECI, TAF, SIGMET, Aerodrome Warning, उडानपूर्व ब्रिफिङ, डिजिटल फ्लाइट फोल्डर प्रदान गर्दै आएको देखिन्छ। तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलहरू काठमाडौँ, पोखरा र भैरहवाबाट आईसीएओको मापदण्डबमोजिमको सेवा प्रदान गरिरहेको देखिन्छ। थप विशेष मौसम सूचनाहरू अझै विस्तार गर्न सकेको देखिँदैन। यसका अतिरिक्त प्रमुख तथा पहाडी विमानस्थलमा आवश्यकतानुसार विन्ड सियर निगरानी, वायुमण्डलीय हावाको ठाडो संरचना अध्ययन तथा अन्य स्थानविशेष प्रविधि विस्तार गर्न सकेको देखिँदैन।

नेपालका आन्तरिक हवाई मार्गहरूका लागि हवाई मौसम सूचना सेवाको गुणस्तर सुधार तथा विस्तार गर्न आवश्यक छ। विशेषगरी नेपालको जटिल हिमाली तथा पहाडी भूगोलका कारण उडान मार्गको एक स्थानमा मौसम अनुकूल हुँदाहुँदै अर्को उपत्यका वा पहाडी क्षेत्रमा प्रतिकूल मौसम अवस्था सिर्जना हुन सक्छ। यस्तो अवस्थामा विमानस्थलमा गरिने मौसम अवलोकन मात्र पर्याप्त नहुन सक्ने भएकाले उडान मार्गविशेष मौसम सूचना तथा पूर्वानुमान सेवा विकास र विस्तार गर्नुपर्ने हुन्छ।

विश्वसनीय तथा समयमै उपलब्ध हुने हवाई मौसम सूचनाले उडान सुरक्षा अभिवृद्धि, मौसमजन्य उडान जोखिम न्यूनीकरण तथा हवाई सेवाको नियमितता र विश्वसनीयता बढाउन सहयोग पुर्‍याउँछ। यसबाट सुरक्षित हवाई यात्राप्रति यात्रु तथा पर्यटकको विश्वास बढ्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुग्न सक्छ। साथै, अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईसीएओ) का मापदण्ड तथा राष्ट्रिय नागरिक उड्डयनसम्बन्धी व्यवस्थाअनुरूप हवाई मौसम सेवाको नियमित गुणस्तर व्यवस्थापन, कर्मचारीको प्राविधिक दक्षता अभिवृद्धि, मौसम उपकरणको नियमित क्यालिब्रेसन, व्यवस्थित अभिलेख प्रणाली तथा विमानस्थलको आवश्यकता र जोखिममा आधारित सेवा मूल्याङ्कनलाई संस्थागत रूपमा सुदृढ गर्नुपर्ने देखिन्छ।

जलवायु तथ्याङ्कलाई राष्ट्रिय विकासको निर्णय प्रणालीसँग जोड्ने

नेपालमा जलवायु परिवर्तनसम्बन्धी अध्ययन तथा अनुकूलन योजना निर्माणका लागि विगतदेखिको मौसम तथ्याङ्कको उपयोग गर्नुपर्ने देखिन्छ। विश्व मौसम सङ्गठनको ग्लोबल फ्रेमवर्क फर क्लाइमेट सर्भिसेजले जलवायु तथ्याङ्कलाई कृषि, जलस्रोत, स्वास्थ्य, ऊर्जा, विपद् व्यवस्थापन तथा अन्य क्षेत्रको निर्णय प्रक्रियामा प्रयोग गर्नुपर्ने अवधारणा अघि सारेको छ। यस अवधारणाअन्तर्गत उच्च गुणस्तरको जलवायु तथ्याङ्क, प्रयोगकर्ताको आवश्यकता, वैज्ञानिक विश्लेषण, सूचना प्रणाली तथा संस्थागत सहकार्य छन्।

नेपालका लागि पनि यो राष्ट्रिय जलवायु सेवा संरचना उपयोगी हुन सक्छ। यसअन्तर्गत नेपाल मौसम विज्ञान विभाग, जलविज्ञानसम्बन्धी निकाय, कृषि, स्वास्थ्य, ऊर्जा, वन, पर्यटन, पूर्वाधार, स्थानीय तह तथा विश्वविद्यालयहरूलाई एकीकृत जलवायु सूचना प्रणालीसँग जोड्न सकिन्छ।

जलवायु तथ्याङ्कको प्रयोगका केही महत्त्वपूर्ण उदाहरण छन् :

• कृषि क्षेत्रमा : बाली रोप्ने उपयुक्त समय, सिँचाइको आवश्यकता, तापक्रम तथा वर्षा जोखिम, रोगकीराको मौसमअनुकूलता र कृषक परामर्श प्रणाली विकास गर्न सकिन्छ।

• ऊर्जा क्षेत्रमा : वर्षा, हिमपात तथा मौसमी पूर्वानुमानलाई जलप्रवाहसम्बन्धी अध्ययनसँग एकीकृत गरेर जलविद्युत् उत्पादन योजना र आयोजना सुरक्षामा उपयोग गर्न सकिन्छ।

• स्वास्थ्य क्षेत्रमा : लू, शीतलहर, अत्यधिक तापक्रम तथा वायु प्रदूषण अनुकूल मौसमको पूर्वानुमानका आधारमा जोखिम समूहका लागि पूर्वसावधानी सूचना तयार गर्न सकिन्छ।

• पर्यटन क्षेत्रमा : पर्वतारोहण, पदयात्रा, हिमाली हावाको अवस्था, हिमपात र दृश्यता जोखिमसम्बन्धी स्थानविशेष सूचना प्रदान गर्न सकिन्छ।

• पूर्वाधार विकासमा : दीर्घकालीन वर्षा, तापक्रम तथा चरम मौसमी घटनाका तथ्याङ्कलाई सडक, पुल, भवन, जलविद्युत् आयोजना र सहरी जलनिकास प्रणालीको डिजाइनमा उपयोग गर्न सकिन्छ।

• वन तथा प्राकृतिक सम्पदा व्यवस्थापनमा : सुक्खापन, तापक्रम, हावा र आर्द्रताका आधारमा वन डढेलोको सम्भावित मौसमीय अनुकूलता मूल्याङ्कन गर्न सकिन्छ। यद्यपि वास्तविक डढेलो जोखिम निर्धारण गर्न वनस्पति, इन्धनको अवस्था र मानवीय गतिविधिजस्ता अन्य सूचना पनि आवश्यक पर्छन्।

यी सबै सेवाको प्रभावकारिता मौसम तथा जलवायु विज्ञानमा आफ्नो प्राविधिक नेतृत्व कायम राख्दै सम्बन्धित विषयगत निकायसँग सहकार्यमा हुने गर्दछ। यसका लागि सुरक्षित ‘एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस’ (एपीआई), मानकीकृत तथ्याङ्क, प्रयोगकर्ता–अनुकूल पोर्टल, तथ्याङ्कको गुणस्तर विवरण तथा सेवाको उत्तरदायित्व स्पष्ट गर्ने व्यवस्था विकास गर्नुपर्छ।

नेपालको राष्ट्रिय अनुकूलन योजना (एनएपी), राष्ट्रिय अनुकूलन कार्यक्रम (एनएपीए), स्थानीय अनुकूलन कार्ययोजना (एलएपीए), राष्ट्रिय निर्धारित योगदानले तय गरेका सम्बन्धित विधाका लक्ष्य प्राप्तिका लागि तथा अन्य विकास योजनामा प्रयोग हुने मौसम तथा जलवायु विश्लेषण एउटै विश्वसनीय राष्ट्रिय तथ्याङ्क प्रणालीसँग आधारित हुन सके नीतिगत निर्णय थप प्रमाणमुखी बन्न सक्ने देखिन्छ।

बहुप्रकोपीय पूर्वसूचना : वैज्ञानिक पूर्वानुमानदेखि नागरिकको सुरक्षा

विश्व मौसम सङ्गठन तथा संयुक्त राष्ट्रसङ्घले अघि सारेको ‘अर्ली वार्निङ्स फर अल’ पहलले सन् २०२७ सम्म सबै नागरिकलाई पूर्वसूचना प्रणालीको पहुँचमा ल्याउने लक्ष्य राखेको छ। यस पहलले प्रभावकारी बहुप्रकोपीय पूर्वसूचना प्रणालीका चार आधारभूत पक्ष निर्धारण गरेको छ :

१. जोखिमसम्बन्धी ज्ञान

२. जोखिमको अनुगमन तथा पूर्वानुमान

३. चेतावनी सम्प्रेषण

४. पूर्वतयारी तथा प्रतिकार्य क्षमता

डब्लूएमओले दोस्रो पक्ष (अनुगमन, विश्लेषण र पूर्वानुमान) मा अन्तर्राष्ट्रिय नेतृत्वदायी भूमिका निर्वाह गर्दछ। नेपालमा यस अवधारणालाई लागू गर्दा मौसम विज्ञान, जलविज्ञान, भूगर्भ, स्वास्थ्य, वन, कृषि तथा विपद् व्यवस्थापनसम्बन्धी निकायहरूको वैज्ञानिक र सञ्चालनगत जिम्मेवारी स्पष्ट तोक्नुपर्छ।

मौसमजन्य भारी वर्षा, हिमपात, आँधी, मेघगर्जन, चट्याङ, लू र शीतलहरका सम्भावनाबारे मौसम विज्ञान निकायले प्राविधिक सूचना उत्पादन गर्दछ। तर बाढीको जलप्रवाह, पहिरोको भौगर्भिक संवेदनशीलता, हिमताल विस्फोटको जोखिम वा स्वास्थ्यमा पर्ने प्रभाव निर्धारण गर्न अन्य विषयगत निकायको विशेषज्ञता आवश्यक हुन्छ।

यसकारण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा सम्बन्धित प्राविधिक निकायहरूको भूमिका स्पष्ट गर्दै एकीकृत सूचना प्रवाह तथा पूर्वतयारी प्रणाली विकास गर्नु उपयुक्त हुन्छ।

राष्ट्रिय स्तरमा मौसम तथा विपद् जोखिमको पूर्वानुमान गर्ने प्राविधिक निकाय र स्थानीय स्तरमा नागरिकको सुरक्षा तथा विपद् व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्ने निकायबीच प्रभावकारी संस्थागत समन्वय अनि सूचना प्रवाह प्रणाली विकास गर्न आवश्यक छ।

उदाहरणका लागि, कुनै क्षेत्रमा अत्यधिक वर्षा, खडेरी वा चट्याङको सम्भावना देखिएमा नेपाल मौसम विज्ञान विभागले सम्भावित मौसम अवस्था, पूर्वानुमान तथा त्यसमा निहित अनिश्चिततासहितको सूचना उपलब्ध गराउने, जलविज्ञानसम्बन्धी निकायले नदीको प्रवाह तथा बाढी जोखिम मूल्याङ्कन गर्ने र भूगर्भ तथा अन्य सम्बन्धित प्राविधिक निकायले पहिरोलगायतका जोखिमको संवेदनशीलता विश्लेषण गर्ने व्यवस्था हुनुपर्छ।

यसरी विषयगत निकायबाट प्राप्त पूर्वानुमान तथा जोखिमसम्बन्धी सूचनालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा स्थानीय विपद् व्यवस्थापन संयन्त्रसँग आबद्ध गरी जोखिममा रहेका बस्ती तथा समुदायसम्म समयमै पुर्‍याउने र आवश्यक पूर्वतयारी तथा प्रतिकार्य सञ्चालन गर्ने एकीकृत प्रणाली विकास गर्नुपर्छ।

सूचना सम्प्रेषणलाई प्रभावकारी र सर्वसुलभ बनाउन एसएमएस, सेल ब्रोडकास्ट, मोबाइल एप, रेडियो, टेलिभिजन, डिजिटल प्लेटफर्म तथा स्थानीय जनप्रतिनिधि र समुदायमा आधारित सञ्जालको उपयोग गर्न सकिन्छ। यसबाट वैज्ञानिक पूर्वानुमानलाई नागरिकको जीवनरक्षा तथा विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्यमा रूपान्तरण गर्न सहयोग पुग्नेछ।

तर सूचना पठाइएको सङ्ख्या मात्रै पूर्वसूचनाको सफलता मापन गर्ने पर्याप्त आधार होइन। नागरिकले सूचना पाए कि पाएनन्, बुझ्न सके कि सकेनन्, समयमै निर्णय गरे कि गरेनन् र त्यसबाट जोखिम कति घट्यो भन्ने विषयको मूल्याङ्कन पनि आवश्यक हुन्छ। यसतर्फ पनि अध्ययन–अनुसन्धान गरी प्राप्त सुझावबमोजिम सुधार पनि आवश्यक छ।

डब्लूएमओले प्रस्तुत गरेका अध्ययनमा केही प्रकारका जोखिममा २४ घण्टाअघि दिइएको प्रभावकारी चेतावनीले सम्भावित क्षति उल्लेखनीय रूपमा घटाउन सक्ने देखाइएको छ। तर यस्तो प्रभाव मौसमीय घटना, नागरिकको पहुँच, पूर्वतयारी तथा स्थानीय कार्यक्षमतामा निर्भर हुने भएकाले नेपालका लागि छुट्टै परिणाम मूल्याङ्कन आवश्यक पर्छ।

अनुसन्धानबाट नियमित सेवा

विकसित मौसम विज्ञान प्रणाली भएका देशहरूको एउटा महत्त्वपूर्ण विशेषता सञ्चालनगत मौसम सेवा र वैज्ञानिक अनुसन्धानबीचको बलियो सम्बन्ध हो। मौसम विज्ञान स्थिर ज्ञानमा आधारित सेवा होइन। वायुमण्डलीय प्रक्रियाको अध्ययन, नयाँ उपकरणको विकास, गणितीय मोडेलको सुधार, तथ्याङ्क विश्लेषण र अनुसन्धानबाट प्राप्त निष्कर्षको आधारमा यसको कार्यक्षमता निरन्तर परिवर्तन हुन्छ।

नेपालमा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित जल तथा मौसम विज्ञान केन्द्रीय विभागलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालय र अनुसन्धान केन्द्र अनि विभिन्न सङ्घसंस्थासँग दीर्घकालीन संस्थागत सहकार्य आवश्यक हुन्छ। यस्तो सहकार्यलाई राष्ट्रिय माग र अनुसन्धान प्राथमिकताका आधारमा सञ्चालन गर्नुपर्छ।

नेपालका लागि प्राथमिकताका विषय हिमाली मौसम तथा जलवायु प्रक्रिया, उच्च उचाइको तापक्रम र वर्षा प्रवृत्ति, मनसुनी वर्षाको स्थानीय विशेषता, मेघगर्जन तथा चरम वर्षा, हवाई मार्गको मौसम जोखिम, एनडब्लूपी मोडेलको सुधार, राडार तथ्याङ्क विश्लेषण तथा जलवायु परिवर्तनको स्थानीय प्रभाव देखिएका छन्।

विभाग र विश्वविद्यालयबीच संस्थागत समझदारी गरी संयुक्त अनुसन्धान कार्यक्रम, विद्यार्थी इन्टर्नसिप, स्नातकोत्तर तथा विद्यावारिधि अनुसन्धान, वैज्ञानिक प्रकाशन, उपकरण परीक्षण तथा प्रयोगशाला विकासका कार्यक्रम सञ्चालन गर्न सकिन्छ।

अनुसन्धानका लागि विभागले गुणस्तर सुनिश्चित गरिएको मौसम तथा जलवायु तथ्याङ्क उपलब्ध गराउने र विश्वविद्यालयले वैज्ञानिक अध्ययन, विश्लेषण तथा नयाँ प्रविधिको विकासमा योगदान पुर्‍याउने व्यवस्था उपयोगी हुन्छ। त्यसपछि अनुसन्धानबाट प्राप्त निष्कर्ष विभागले आफ्नो नियमित प्रणालीमा परीक्षण, प्रमाणीकरण र कार्यान्वयन गर्न सक्छ। यसलाई अन्तर्राष्ट्रिय रूपमा ‘रिसर्च टु अपरेसन्स’ अवधारणासँग जोड्न सकिन्छ।

विशेषगरी नेपालजस्तो दक्ष वैज्ञानिक जनशक्ति र अनुसन्धान बजेट सीमित भएको देशमा उपलब्ध विश्वविद्यालय, सरकारी निकाय र अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाबीच स्रोत तथा पूर्वाधारको सहकार्य प्रभावकारी रणनीति हुन सक्छ। यसका लागि दीर्घकालीन अनुसन्धान समझदारी, संयुक्त कार्ययोजना, वार्षिक अनुसन्धान बजेट, साझा प्रयोगशाला, तथ्याङ्क उपयोगको नीति र अनुसन्धानका निष्कर्षलाई सञ्चालनगत रूपमा लागू गर्न एउटा संयन्त्र विकास गर्दा राम्रो हुन्छ।

अन्तर्राष्ट्रिय अनुभव

विश्वका विकसित तथा विकासशील देशहरूले मौसम विज्ञान सेवालाई राष्ट्रिय सुरक्षा, आर्थिक विकास, वैज्ञानिक अनुसन्धान र नागरिक सेवाको महत्त्वपूर्ण सार्वजनिक पूर्वाधारका रूपमा विकास गरेका छन्। छिमेकी मुलुकहरू भारतको ‘भारत मौसम विज्ञान विभाग (आईएमडी) र चीनको ‘चाइना मेटेरोलोजिकल एडमिनिस्ट्रेसन (सीएमए)’, पाकिस्तान मेटेरोलोजिकल विभाग (पीएमडी), बङ्गलादेश मेटेरोलोजिकल विभाग (बीएमडी), मेटेरोलोजिकल विभाग श्रीलङ्का र अफगानिस्तान मेटेरोलोजिकल विभाग क्रियाशील छन्।

त्यस्तै जापानको ‘जापान मेटेरोलोजिकल एजेन्सी (जेएमए)’, दक्षिण कोरियाको ‘कोरिया मेटेरोलोजिकल एडमिनिस्ट्रेसन (केएमए)’, सिङ्गापुरको ‘मेटेरोलोजिकल सर्भिस (एमएसएस)’, साउदी अरबस्थित ‘नेसनल सेन्टर फर मेटेरोलोजी (एनसीएम)’, युनाइटेड अरब इमिरेट्सको ‘नेसनल सेन्टर फर मेटेरोलोजी’, कतारको ‘सेन्टर फर मेटेरोलोजी’, बेलायतको ‘युके मेट अफिस’, अस्ट्रेलियाको ‘ब्युरो अफ मेटेरोलोजी’, न्युजिल्यान्डको ‘मेटेरोलोजिकल सर्भिस अफ न्युजिल्यान्ड’ तथा अमेरिकाको ‘नेसनल वेदर सर्भिस’, क्यानडाको ‘इन्भाइरोमेन्ट एन्ड क्लाइमेट क्यानडा’ ले महत्त्वपूर्ण राष्ट्रिय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेका छन्।

बङ्गलादेश, पाकिस्तानलगायत अधिकांश सबै देशमा मौसम, जलवायु तथा सम्बन्धित सार्वजनिक सूचना सेवाका महत्त्वपूर्ण संस्थाका रूपमा रहेका छन्। युरोपमा कार्यरत मेटेरोस्विस, मिटियोफ्रान्स, डेनिस मेटेरोलोजिकल इन्स्टिच्युट, मेट नर्वे, रोयल नेदरल्यान्ड्स मेटेरोलोजिकल इन्स्टिच्युट, आइसल्यान्डिक मेट अफिस, फिनिस मेटेरोलोजिकल इन्स्टिच्युट लगायतका संस्थाका कानुनी अवस्था, प्रशासनिक संरचना, कार्यक्षेत्र र वित्तीय व्यवस्था एकअर्कासँग समान नभए पनि जलवायु क्षेत्रको अध्ययनका लागि प्रतिबद्ध रहेका छन्।

उल्लिखित राष्ट्रिय संस्थाहरूको अभ्यासबाट नियमित अवलोकन, वैज्ञानिक पूर्वानुमान, विशेषज्ञ जनशक्तिको निर्माण, अन्तर्राष्ट्रिय तथ्याङ्क आदानप्रदान र नागरिकसम्म आधिकारिक सूचना प्रवाह गर्न आवश्यक रहेको शिक्षा प्राप्त हुन्छ।

इन्डियन जलवायु विज्ञान केन्द्र (भारत) मा मनसुनी वर्षा, उष्णकटिबन्धीय चक्रवात, कृषि मौसम, अत्यधिक वर्षा तथा क्षेत्रीय पूर्वानुमान र चेतावनी सेवा छ। जापान मेटेरोलोजिकल एजेन्सी (जापान) ले मौसम, जलवायु, भूकम्प तथा सुनामीसम्बन्धी विशिष्टीकृत प्राविधिक क्षमतासहित बहुप्रकोपीय सूचना प्रणाली विकास गरेको छ। मेट अफिस (बेलायत) ले उच्च क्षमताको कम्प्युटिङ, विश्वव्यापी तथा क्षेत्रीय मौसम मोडेल, जलवायु अनुसन्धान र सार्वजनिक तथा व्यावसायिक मौसम सेवा विकास गरेको छ। ब्युरो अफ मेटेरोलोजी (अस्ट्रेलिया) ले राष्ट्रिय अवलोकन सञ्जाल, मौसम तथा जलवायु तथ्याङ्क व्यवस्थापन, हवाई मौसम, कृषि तथा जलस्रोतसम्बन्धी सूचना सेवा दिँदै आएको छ।

यी देशहरूले अपनाएको अभ्यास जस्ताको तस्तै नेपालमा लागू गर्नुपर्छ भन्ने होइन। नेपालको भौगोलिक अवस्था, आर्थिक स्रोत, वैज्ञानिक क्षमता तथा प्रशासनिक व्यवस्थाअनुसार उपयुक्त मोडेल विकास गर्नुपर्छ। विश्व मौसम सङ्गठन (डब्लूएमओ) ले राष्ट्रिय मौसम तथा जलवायु सेवाहरूलाई विश्वव्यापी अवलोकन, तथ्याङ्क साझेदारी, पूर्वानुमान तथा जलवायु सेवाको प्रमुख संस्थागत आधारका रूपमा लिएको छ।

नेपालको सन्दर्भमा राष्ट्रिय मौसम विज्ञान सेवालाई समय–समयको प्रशासनिक परिवर्तनका कारण प्राविधिक रूपमा कमजोर हुन नदिई यसको संस्थागत क्षमता, आधिकारिक जिम्मेवारी र स्रोतको निरन्तरता कायम गर्नु आवश्यक देखिन्छ। जलविज्ञानका लागि युनेस्कोको जलविज्ञान कार्यक्रम तथा विभिन्न देशका राष्ट्रिय जलविज्ञान परियोजनाअन्तर्गत काम भइरहेको छ।

संस्थागत पुनःसंरचना : प्रशासनिक परिवर्तन वैज्ञानिक क्षमता विस्तारको अवसर

नेपाल सरकारले हालको संस्थागत पुनःसंरचनाबाट साबिक जल तथा मौसम विज्ञान विभागको मौसम विज्ञानसम्बन्धी कार्यक्षेत्रलाई भर्खरै नेपाल मौसम विज्ञान विभाग स्थापना गरेको छ। विभागको आधिकारिक वेबसाइटमा यसलाई मौसम, हवाई मौसम तथा जलवायु विज्ञानसम्बन्धी सेवा सञ्चालन, विकास, विस्तार तथा नियमन गर्ने राष्ट्रिय निकायका रूपमा उल्लेख गरेको छ। यस परिवर्तनलाई प्रशासनिक संरचनाको पुनर्व्यवस्थापनका रूपमा मात्र नभई विशिष्टीकृत सेवा सुधार तथा राष्ट्रिय वैज्ञानिक क्षमता विस्तारको अवसरका रूपमा उपयोग गर्न सकिन्छ।

मौसम विज्ञान र जलविज्ञान अलग वैज्ञानिक विधामा आधारित भए पनि तिनका धेरै प्रयोग परस्पर सम्बन्धित छन्। वर्षाको पूर्वानुमानविना बाढी पूर्वानुमान प्रभावकारी नहुन सक्छ। वास्तविक समय वर्षाको तथ्याङ्क साझेदारी निरन्तर आवश्यक हुन्छ।

हाल एउटै मन्त्रालयमा आएका दुवै निकायमा तथ्याङ्क साझेदारी सबल बनाउँदै नेपाल मौसम विज्ञान विभागको संस्थागत सुदृढीकरणका लागि स्पष्ट कानुनी कार्यादेश, नियमित सञ्चालन बजेट, वैज्ञानिक जनशक्ति, अनुसन्धान क्षमता, डिजिटल तथ्याङ्क व्यवस्थापन तथा क्षेत्रगत सेवा विकासलाई प्राथमिकता दिनुपर्छ। विशेषगरी एनडब्लूपी, राडार, हवाई मौसम, जलवायु अनुसन्धान, मौसम उपकरण क्यालिब्रेसन, सूचना प्रविधि तथा पूर्वचेतावनीसम्बन्धी विशेषज्ञ समूह विकास गर्न सकिन्छ।

भारत, चीन, अमेरिका, जापान, बेलायत, अस्ट्रेलिया तथा युरोप्लगायतका अन्य देशको अनुभवले पनि नेपालको मौसम विज्ञान सेवालाई विशिष्टीकृत प्राविधिक क्षमतासहित दीर्घकालीन रूपमा विकास गर्नुपर्छ।

एकपटक स्थापना गरिएका मौसम केन्द्र, मौसम राडार तथा डिजिटल सूचना प्रणाली सञ्चालन खर्चको अभावमा निष्क्रिय हुनु राष्ट्रिय लगानीको अपेक्षित प्रतिफल प्राप्त हुन नसक्नु हो। त्यसैले नयाँ पूर्वाधार निर्माण तथा उपकरण खरिदसँगै तिनको नियमित सञ्चालन, मर्मतसम्भार, उपकरण प्रतिस्थापन, क्यालिब्रेसन तथा दक्ष प्राविधिक जनशक्ति विकासका लागि दिगो एवं बहुवर्षीय वित्तीय व्यवस्था सुनिश्चित गर्नु आवश्यक छ।

आधारभूत मौसम पूर्वानुमान, मौसम चेतावनी तथा नागरिक सुरक्षासँग सम्बन्धित सूचना सार्वजनिक सेवाका रूपमा सबै नागरिकलाई सहज, समयमै र निःशुल्क उपलब्ध गराउनुपर्छ। साथै, विश्वविद्यालय तथा प्राज्ञिक अनुसन्धान संस्थाहरूलाई वैज्ञानिक अध्ययन तथा अनुसन्धानका लागि आवश्यक मौसम तथा जलवायु तथ्याङ्क निःशुल्क र सहज रूपमा उपलब्ध गराउने नीतिगत व्यवस्था गर्न सके अनुसन्धान प्रवर्द्धन, नयाँ वैज्ञानिक ज्ञानको विकास, दक्ष जनशक्ति उत्पादन तथा मौसम सेवाको गुणस्तर सुधारमार्फत राज्यले दीर्घकालीन लाभ प्राप्त गर्न सक्छ।

अर्कोतर्फ, कृषि, ऊर्जा, पर्यटन, हवाई उड्डयन, पूर्वाधार तथा अन्य व्यावसायिक क्षेत्रका विशिष्ट आवश्यकताअनुसार मूल्य अभिवृद्धि गरिएका मौसम तथा जलवायु सूचना, विश्लेषण र परामर्श सेवा विकास गरी पारदर्शी शुल्क तथा लागत पुनर्प्राप्ति प्रणालीमार्फत सरकारी राजस्व आर्जन गर्ने अवसरसमेत विस्तार गर्न सकिन्छ। यसरी आधारभूत सार्वजनिक सेवामा निःशुल्क पहुँच, अनुसन्धानका लागि खुला तथ्याङ्क नीति र विशिष्टीकृत व्यावसायिक सेवाबाट राजस्व परिचालन गर्ने सन्तुलित नीतिले मौसम विज्ञान सेवाको सार्वजनिक उपयोगिता, वैज्ञानिक विकास तथा वित्तीय दिगोपना एकसाथ सुदृढ गर्न सक्छ।

मौसम विज्ञान सेवाको पञ्चवर्षीय वैज्ञानिक सुदृढीकरण मार्गचित्र

नेपालमा मौसम तथा जलवायु विज्ञानको क्षेत्रमा हालसम्म गरिएको राष्ट्रिय लगानीको अधिकतम उपयोग गर्दै अन्तर्राष्ट्रिय जलवायु प्रतिबद्धतालाई व्यवहारमा रूपान्तरण गर्न नेपाल मौसम विज्ञान विभागको पञ्चवर्षीय वैज्ञानिक तथा संस्थागत सुदृढीकरण योजना आवश्यक छ। यसका लागि आठवटा रणनीतिक क्षेत्रलाई प्राथमिकता दिन सकिन्छ :

१. देशभर स्थापित मौसम अवलोकन केन्द्रहरूको विकास, विस्तार, नियमित सञ्चालन, मर्मतसम्भार, क्यालिब्रेसन तथा आवश्यकताका आधारमा अवलोकन सञ्जाल विस्तार गर्ने।

२. ऐतिहासिक मौसम तथा जलवायु तथ्याङ्कको सङ्कलन, डिजिटाइजेसन, गुणस्तर नियन्त्रण, एकीकृत राष्ट्रिय डाटाबेस र एपीआई आधारित तथ्याङ्क साझेदारी प्रणाली विकास गर्ने।

३. उच्च विभेदनयुक्त गणितीय मौसम पूर्वानुमान, सम्भावनामा आधारित पूर्वानुमान, तथ्याङ्क समाहित गर्ने प्रणाली, उच्च कार्यक्षमताको कम्प्युटिङ तथा विश्वविद्यालयसँगको वैज्ञानिक अनुसन्धान सहकार्य विस्तार गर्ने।

४. सुर्खेत, पाल्पा र उदयपुरमा स्थापित तीनवटा मौसम राडारको दिगो सञ्चालन सुनिश्चित गरी तीव्र वर्षा, आँधी तथा चट्याङसम्बन्धी तत्कालीन पूर्वानुमान क्षमता विकास गर्ने।

५. उच्च हिमाली मौसम अवलोकन तथा जलवायु अध्ययनलाई सुदृढ गर्दै राष्ट्रिय जलवायु सेवा संरचना मार्फत कृषि, ऊर्जा, स्वास्थ्य, पर्यटन, पूर्वाधार तथा वन डढेलो व्यवस्थापनका लागि विशिष्टीकृत मौसम तथा जलवायु सेवा विस्तार गर्ने।

६. आईसीएओका मापदण्डअनुसार हवाई मौसम सेवाको गुणस्तर सुधार, विमानस्थल मौसम अवलोकन प्रणाली सुदृढीकरण, पहाडी हवाई मार्गका लागि मौसम सूचना सेवा विस्तार तथा प्राविधिक जनशक्ति विकास गर्ने।

७. प्रभावमा आधारित मौसम पूर्वानुमान, बहुप्रकोपीय पूर्वसूचना, जोखिम नक्साङ्कन तथा एसएमएस, सेल ब्रोडकास्ट लगायतका माध्यमबाट स्थानीय तहसम्म समयमै चेतावनी पुर्‍याउने प्रणाली विकास गर्ने।

८. दक्ष वैज्ञानिक जनशक्ति, विश्वविद्यालय तथा अन्तर्राष्ट्रिय अनुसन्धान सहकार्य, डब्लूएमओ र छिमेकी राष्ट्रसँग मौसम तथ्याङ्क आदानप्रदान तथा बहुवर्षीय वित्तीय व्यवस्थामार्फत संस्थागत क्षमता र दिगोपना सुनिश्चित गर्ने।

अन्य अवसरको खोजी गरी मौसम र जलवायु सेवाको विकास तथा विस्तारमा राज्यले ध्यान दिनु जरुरी छ। यस मार्गचित्रलाई कार्यान्वयनयोग्य बनाउन प्रत्येक रणनीतिक प्राथमिकताअन्तर्गत विद्यमान अवस्था, मापनयोग्य लक्ष्य, जिम्मेवार निकाय, आवश्यक बजेट, कार्यसम्पादन सूचक तथा वार्षिक समीक्षा प्रणाली स्पष्ट निर्धारण गर्नुपर्छ।

विशेषगरी मौसम केन्द्रहरूको सञ्चालन उपलब्धता र तथ्याङ्कको गुणस्तर, गणितीय पूर्वानुमानको शुद्धता तथा विश्वसनीयता, राडारको सञ्चालन निरन्तरता, हवाई मौसम सेवाको मापदण्ड अनुपालन, पूर्वचेतावनीको पहुँच तथा नागरिकको पूर्वतयारीलाई प्रमुख परिणाम सूचकका रूपमा लिन सकिन्छ।

यसरी पञ्चवर्षीय योजनाको सफलता अब मौसम तथा जलवायु विज्ञानमा गरिएको लगानीले नागरिकको जीवनरक्षा, विपद् जोखिम न्यूनीकरण, क्षेत्रगत सेवा सुधार र राष्ट्रिय अर्थतन्त्रमा कति ठोस योगदान पुर्‍यायो भन्ने आधारमा मूल्याङ्कन गर्दै अघि बढ्नुपर्छ।

राष्ट्रिय वैज्ञानिक क्षमताको निरन्तरता

जलवायु परिवर्तनको चुनौती केवल वातावरण संरक्षणमा सीमित छैन। यसले नागरिकको सुरक्षा, खाद्य उत्पादन, जलविद्युत्, हवाई उड्डयन, पर्यटन, सार्वजनिक स्वास्थ्य, पूर्वाधार र राष्ट्रिय विकासको दीर्घकालीन स्थायित्वसँग प्रत्यक्ष सम्बन्ध राख्छ। नेपालजस्तो हिमाली तथा भौगोलिक रूपमा संवेदनशील देशका लागि मौसम तथा जलवायु विज्ञान राष्ट्रिय विकासको आधारभूत वैज्ञानिक आवश्यकता हो।

नेपालले दशकौँदेखि मौसम अवलोकन, ऐतिहासिक तथ्याङ्क सङ्कलन, गणितीय पूर्वानुमान, राडार, हवाई मौसम सेवा तथा जलवायु अध्ययनमा महत्त्वपूर्ण लगानी गरिसकेको छ। यी उपलब्धि कुनै एक प्रशासनिक संरचनाको मात्र सम्पत्ति नभई राष्ट्रको साझा वैज्ञानिक सम्पत्ति हुन्। तिनको संरक्षण, प्रभावकारी सञ्चालन, आधुनिकीकरण र निरन्तर विकास गर्नु राज्यको दीर्घकालीन दायित्व हो।

प्रधानमन्त्रीबाट संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा प्रस्ताव गरिएको हिमालय जलवायु उत्थानशीलता संयन्त्र, सीमापार तथ्याङ्क साझेदारी र संयुक्त पूर्वसूचना प्रणाली नेपालको भविष्यका लागि महत्त्वपूर्ण अन्तर्राष्ट्रिय पहल हुन सक्छ। यसलाई कार्यान्वयनमा लैजान बलियो राष्ट्रिय वैज्ञानिक आधार, विश्वसनीय तथ्याङ्क, दक्ष प्राविधिक जनशक्ति र स्पष्ट संस्थागत नेतृत्व आवश्यक हुन्छ।

त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित जल तथा मौसम विज्ञान केन्द्रीय विभागको समन्वयमा स्थापित र सञ्चालनमा रहेको ‘चाइनिज एकेडेमी अफ साइन्सेस’ र त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित संयुक्त अनुसन्धान केन्द्र काठमाडौँ सेन्टर फर रिसर्च एन्ड एजुकेसनमा आवश्यक भौतिक तथा वैज्ञानिक संरचना उपलब्ध भइसकेको हुनाले यस केन्द्रलाई नेपाल र चीनको संयुक्त हिमाली जलवायु तथा विपद् अनुसन्धान केन्द्रका रूपमा थप विकसित गर्न सकिन्छ।

भारत, चीन, अमेरिका, जापान, बेलायत, अस्ट्रेलिया तथा युरोप्लगायतका अन्य देशको अनुभवले पनि नेपालको मौसम विज्ञान सेवालाई विशिष्टीकृत प्राविधिक क्षमतासहित दीर्घकालीन रूपमा विकास गर्नुपर्छ।

नेपालमा हाल स्थापित नेपाल मौसम विज्ञान विभागको निरन्तरता र सुदृढीकरणलाई कुनै निकायको प्रशासनिक अस्तित्वको प्रश्नका रूपमा मात्र बुझ्नु हुँदैन। यो हिमालय जलवायु अध्ययन, ऐतिहासिक वैज्ञानिक अभिलेख, अन्तर्राष्ट्रिय प्रतिबद्धता, हवाई उड्डयन सुरक्षा, नागरिकको जीवनरक्षा र राष्ट्रिय विकास प्रणालीको विश्वसनीयता कायम राख्ने विषय हो।

नेपाल सरकारले विभागलाई स्पष्ट कार्यादेश, वैज्ञानिक जनशक्ति, आधुनिक उपकरण, नियमित तथा बहुवर्षीय बजेट, विश्वविद्यालयसँग अनुसन्धान सहकार्य, अन्तर्राष्ट्रिय समन्वय र बहुक्षेत्रीय सेवा विस्तारको अवसर प्रदान गर्न सके मौसम तथा जलवायु विज्ञानबाट प्राप्त लाभ देशका सबै क्षेत्र तथा नागरिकसम्म विस्तार गर्न सकिन्छ। मौसम विज्ञानका क्षेत्रमा गरिने लगानी आजको मौसम जानकारीका लागि मात्र होइन— भोलिको विपद्बाट नागरिकको जीवन जोगाउन, विकासका उपलब्धि सुरक्षित राख्न र जलवायु परिवर्तनका बीच नेपालको समृद्ध भविष्य निर्माण गर्न गरिने दीर्घकालीन राष्ट्रिय लगानी हो।

(लेखक त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्राध्यापक हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?