१७ कात्तिक, काठमाडौं । मीनभवनस्थित निजामती कर्मचारी अस्पतालले पहिलोपटक एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजेनेसन इक्मो सञ्चालनमा ल्याएको छ ।
इन्फ्लुएन्जा भाइरसका कारण गम्भीर प्रकारको एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोमबाट पीडित ४३ वर्षीय पुरुष बिरामी इक्मोसहितको उपचारपछि स्वास्थ्यलाभ गरी अस्पतालबाट मंगलबार साँझ डिस्चार्ज गर्ने तयारी छ ।
उपचामा अस्पतालका सघन उपचार सेवाका प्रमुख डा. प्रदीप तिवारीसहित सघन उपचार विशेषज्ञ डा. आनन्द ठाकुर, डा. सन्तोष आचार्य, डा. वीरेन्द्र राउत, कार्डियोथोरासिक तथा भास्कुलर सर्जन (सीटीभीएस) डा. सम्पूर्ण तुलाधर, पर्फ्युजनिस्ट इशान जोशी तथा एनेस्थेसियोलोजिस्ट डा. दीपक भण्डारी गायतका चिकित्सक र नर्सिङ स्टाफहरू संलग्न थिए ।
आईसीयू विभाग प्रमुख तिवारीका अनुसार इक्मो एक अत्याधुनिक जीवनरक्षक प्रणाली हो । यसले मुटु र फोक्सोमा गम्भीर समस्या भएका बिरामीको फोक्सोको काम र आवश्यकता अनुसार मुटुको अस्थायी रूपमा काम गर्छ ।
इक्मोले शरीरबाट रगतबाट रगत बाहिर निकालेर त्यसमा अक्सिजन थप्छ र कार्बन डाइअक्साइड हटाएर प्रशोधित रगत पुन: शरीरमा पठाउँछ ।
‘सामान्य रुपमा भन्नुपर्दा भाइरल संक्रमणपछि बिरामीको फोक्सोमा देखिएको गम्भिर प्रकारको संक्रमणको उपचारका लागि उहाँको फोक्सोलाई आराम दिन विशेष प्रकारको इक्मो मेसिनको सहायता आवश्यक परेको थियो,’ डा.तिवारीले भने , ‘उहाँलाई इक्मो मेसिनमा जोडिएको थियो । इक्मो मेसिनमा जोडिएपछि उहाँको फोक्सोलाई मेसिनले सपोर्ट गर्न थालेको थियो ।’
ती बिरामीलाई ११ दिन इक्मोको साहयता तथा १४ दिन भेन्टिलेटरको साहयतामा उपचार गरी असोज १७ गते सघन उपचार कक्ष (आईसीयू)बाट डिस्चार्ज गरी मंगलबार घर पठाउने तयारी छ ।
उपचारमा संलग्न इक्मो स्पेसलिस्ट तथा क्रिलिकल केयर विशेषज्ञ डा. आनन्द ठाकुरका अनुसार ईक्मो प्रणाली एआरडीएस, पलमोनरी इम्बोलिजम, गम्भीर हृदयघात र मुटु फोक्सो प्रत्यारोपण जस्ता रोगहरूमा प्रयोग गरिन्छ ।
‘यस उपलब्धिसँग जोडिएको अर्को महत्त्वपूर्ण पक्ष भनेको इक्मो रिट्रिभल सेवा हो । इक्मो रिट्रिभलमा इक्मो आवश्यकता रहेका गम्भीर बिरामी उपचाररत अस्पतालसम्मै विशेषज्ञ टोली आवश्यक उपकरणका साथ पुगी उपयुक्त अवस्थामा उपचार सुरु गर्ने तथा आवश्यकताअनुसार बिरामीलाई इक्मो सेवा उपलब्ध केन्द्रसम्म सुरक्षित रूपमा ल्याउने प्रक्रिया हो,’ ठाकुरले भने ।
उनका अनुसार यस्तो सेवा सञ्चालनका लागि बिरामीको तत्काल मूल्याङ्कन, उद्धारको योजना, दक्ष जनशक्ति, विशेष उपकरण र उपचारका विभिन्न चरणमा प्रभावकारी समन्वय आवश्यक हुन्छ ।
‘नेपालमै यस्तो सेवा सञ्चालन हुनु देशको क्रिटिकल केयर सेवालाई थप सक्षम बनाउने दिशामा महत्त्वपूर्ण कदम हो । यो नेपालकै पहिलो इक्मो रिट्रिभल केस पनि हो,’ उनले भने ।
प्रतिक्रिया 4