+
+
Shares

कञ्चनपुरका किसानलाई फूल टिप्न र बेच्न भ्याइनभ्याइ

कुनै समय तिहारका लागि आवश्यक फूल तथा माला भारतबाट आयात गर्नुपर्ने अवस्था थियो । कृत्रिम फूलमालामा प्रतिबन्ध र आयातित फूलको उपलब्धतामा कमी आएपछि स्थानीय उत्पादनको माग बढ्न थालेको हो ।

केशब भट्ट केशब भट्ट
२०८३ कात्तिक १७ गते १७:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तिहार नजिकिँदै गर्दा कञ्चनपुरमा सयपत्री फूलको माग बढेपछि किसानले फूल टिप्न र बिक्रीको तयारी थालेका छन्।
  • भीमदत्त नगरपालिका–१ की सिर्जना जोशीले १५ कट्ठामा फूलखेती विस्तार गरी तिहारमा चार क्विन्टल बिक्री गर्ने लक्ष्य राखेकी छिन्।
  • भीमदत्त नगरपालिका–१५ की मेघा रावलले चार कट्ठामा २ हजार ४ सय बोट रोपी २५ हजार रुपैयाँ लगानीमा फूलखेती सुरु गरेकी छिन्।

१७ कात्तिक,कञ्चनपुर । तिहार नजिकिएसँगै कञ्चनपुर किसानलाई सयपत्री फूल टिप्न र बिक्रीको तयारी गर्न भ्याइनभ्याइ छ । यस वर्ष तिहारअघि नै फूलको माग आउन थालेपछि किसान उत्साहित भएका छन् ।

विगतमा उत्पादन गरेको फूलले बजार नपाउँदा बारीमै कुहिने समस्या भोग्दै आएका किसान अहिले भने बजारको माग बढ्न थालेपछि फूलखेती विस्तार गर्न थालेका छन् ।

स्थानीय उत्पादनले बजार पाउन थालेसँगै कञ्चनपुरमा व्यावसायिक फूलखेतीप्रति किसानको आकर्षण पनि बढ्दै गएको छ ।

कुनै समय तिहारका लागि आवश्यक फूल तथा माला भारतबाट आयात गर्नुपर्ने अवस्था थियो । कृत्रिम फूलमालामा प्रतिबन्ध र आयातित फूलको उपलब्धतामा आएको कमीपछि स्थानीय उत्पादनको माग बढ्न थालेको हो । यसले कञ्चनपुरमा फूलखेतीलाई व्यावसायिक रूपमा अघि बढाउने सम्भावना बढाएको छ ।

भीमदत्त नगरपालिका–१ कि सिर्जना जोशी सात वर्षदेखि पुष्प व्यवसाय गर्दै आएकी छिन् । ३०० बोटबाट सुरु गरेको उनको फूलखेती अहिले १५ कट्ठा क्षेत्रफलमा फैलिएको छ ।

गत वर्ष १० कट्ठामा फूलखेती गरेकी सिर्जनाले यस वर्ष बजारको सम्भावना देखेर खेती विस्तार गरेकी हुन् ।

गत वर्ष फूल बिक्रीबाट कर्मचारी तथा मजदुरको खर्च कटाएर करिब डेढ लाख रुपैयाँ आम्दानी भएको सिर्जना बताउँछिन् । यस वर्ष तिहारमा मात्रै चार क्विन्टल फूल बिक्री गर्ने उनको लक्ष्य छ । अहिले फूल प्रतिकिलो ५०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

‘अघिल्ला वर्षमा फूल उत्पादन गरे पनि बजारको समस्या हुन्थ्यो । अहिले भने माग आउन थालेको छ,’ उनी भन्छिन् ।

नयाँ किसान पनि आकर्षित

फूलखेतीबाट आम्दानी गर्न सकिने सम्भावना देखेपछि नयाँ किसानसमेत यस व्यवसायमा जोडिन थालेका छन् । भीमदत्त नगरपालिका–१५ कि मेघा रावलले आफ्नै चार कट्ठा जग्गामा दुई हजार ४०० बोट फूल रोपेकी छिन् ।

करिब २५ हजार रुपैयाँ लगानी गरेर फूलखेती सुरु गरेकी मेघाले यस वर्षको उत्पादनबाट फूलले राम्रो मूल्य र बजार पाए आगामी वर्ष खेती विस्तार गर्ने योजना बनाएकी छिन् ।

फूलखेतीमा ठूलो लगानी नचाहिने र उचित बजार पाए आम्दानी गर्न सकिने सम्भावनाले पनि किसानलाई आकर्षित गरेको छ ।

चाडपर्वमा बढ्छ फूलको माग

तिहारमा सयपत्री फूलको प्रयोग माला बनाउन मात्र सीमित छैन । पूजाआजा, घर तथा कार्यालय सजावट र विभिन्न सांस्कृतिक कार्यक्रममा पनि प्रयोग हुने भएकाले चाडपर्वका बेला फूलको माग बढ्ने गर्छ ।

तिहारसँगै विवाह, धार्मिक अनुष्ठान तथा अन्य समारोहमा समेत सयपत्री फूलको प्रयोग हुने भएकाले बजार विस्तारको सम्भावना छ । यही मागलाई ध्यानमा राखेर किसानले चाडपर्व लक्षित फूलखेती गर्दै आएका छन् ।

कञ्चनपुरमा फूलखेतीप्रति आकर्षण बढ्दै गए पनि दिगो व्यवसाय बनाउन बजार व्यवस्थापन, गुणस्तरीय बीउबिजन र प्राविधिक सहयोग आवश्यक देखिन्छ । उत्पादन भएको फूल समयमै बिक्री गर्न नसके किसानको लगानी र मिहिनेत खेर जाने जोखिम रहन्छ ।

त्यसैले, चाडपर्वको समयमा मात्रै फूलको माग बढ्ने अवस्थालाई वर्षभरि बजार रहने वातावरणमा रूपान्तरण गर्न आवश्यक छ ।

स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, किसानलाई खेतीसम्बन्धी प्राविधिक सहयोग उपलब्ध गराउने र बिक्री वितरणलाई व्यवस्थित बनाउने हो भने फूलखेती ग्रामीण क्षेत्रका किसानका लागि आम्दानीको भरपर्दो माध्यम बन्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?