+
+
Shares

राष्ट्रिय राजमार्गका विभिन्न आयोजनामा देखिएका समस्या समाधान गर्न निर्देशन

सम्बन्धित सडकखण्डमा पोल स्थानान्तरणका लागि आवश्यक साइट उपलब्ध गराउन सडक विभागलाई निर्देशन दिइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १७ गते १७:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वाधार विकास समितिको बैठकले कमला–ढल्केबर–बागमती सडकखण्डका विद्युत् पोल दुई महिनाभित्र सार्न ऊर्जा मन्त्रालय र प्राधिकरणलाई निर्देशन दिएको छ ।
  • समितिले नागढुङ्गा–मुग्लिन सडकखण्डका विद्युत् पोल एक महिनाभित्र स्थानान्तरण गर्न र सडक विभागलाई आवश्यक साइट उपलब्ध गराउन भनेको छ ।
  • बैठकले बुटवल–गोरुसिङ्गे सडकखण्डका पोल दुई महिनाभित्र सार्न निर्देशन दिँदै रुख कटानमा ढिलाइबारे कृषि, वन तथा पर्यावरण मन्त्रालयलाई पहल गर्न अनुरोध गरेको छ ।

१७ कात्तिक, काठमाडौं । पूर्वाधार विकास समितिले सडक आयोजनाका छुट्टाछुट्टै समीक्षा बैठक राखिरहेको छ ।

समिति सभापति आशिष गजुरेलले आह्वान गरेको मंगलबारको बैठकमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कमला–ढल्केबर–बागमती सडकखण्डको हालसम्मको प्रगति, निर्माण कार्यमा देखिएका अवरोध तथा सम्बन्धित निकायको भूमिकाबारे विस्तृत छलफल भएको छ ।

बैठकमा पूर्वाधार विकास समिति सदस्य राजकिशोर महतो, मिथिला नगरपालिका प्रमुख महेन्द्र महतो, सडक विभाग महानिर्देशक डा. विजय जैसी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ, पूर्वाधार विकास मन्त्रालयका सचिवालय सदस्य दिनेश चमार, कमला–ढल्केबर–बागमती आयोजना प्रमुख राजेशकुमार दास तथा नागढुङ्गा–मुग्लिन पश्चिम खण्ड आयोजना प्रमुख सजना अधिकारी लगायत सम्बन्धित निकायका प्रतिनिधि उपस्थित  थिए ।

बैठकले सडक निर्माणमा अवरोध सिर्जना गरिरहेका विद्युत् पोल तथा रुख व्यवस्थापनका विषयमा महत्त्वपूर्ण निर्णय गर्दै सम्बन्धित मन्त्रालय र निकायलाई समयसीमाभित्र समस्या समाधान गर्न निर्देशन दिएको छ ।

बैठकले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कमला–ढल्केबर–बागमती सडकखण्डमा रहेका विद्युत् पोल दुई महिनाभित्र स्थानान्तरण गर्न तथा नागढुङ्गा–मुग्लिन सडकखण्डमा रहेका विद्युत् पोल एक महिनाभित्र सार्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिने उल्लेख छ ।

साथै, सम्बन्धित सडकखण्डमा पोल स्थानान्तरणका लागि आवश्यक साइट उपलब्ध गराउन सडक विभागलाई निर्देशन दिइएको छ ।

त्यसैगरी राजमार्गका विभिन्न खण्डमा रहेका रुख समयमै कटान हुन नसक्दा सडक निर्माण कार्यमा ढिलाइ तथा अवरोध उत्पन्न भइरहेको विषय गम्भीर लिँदै यसको शीघ्र समाधानका लागि कृषि, वन तथा पर्यावरण मन्त्रालयलाई आवश्यक पहल गर्न अनुरोध गर्ने निर्णय भएको छ ।

बैठकले बुटवल–गोरुसिङ्गे सडकखण्डमा रहेका विद्युत् पोलसमेत दुई महिनाभित्र स्थानान्तरण गर्न ऊर्जा मन्त्रालय र प्राधिकरणलाई निर्देशन दिने तथा सडक विभागलाई आवश्यक साइट उपलब्ध गराउन निर्देशन दिएको छ ।

बैठकमा सडक पूर्वाधार निर्माण क्रममा देखिएका अन्तरनिकायगत समन्वयका समस्या समाधान गर्दै आयोजना निर्धारित समयमै सम्पन्न गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?