+
+
Shares

तीन वर्षमा बन्नुपर्ने संसद् भवन सात वर्षसम्म बनेन, संसदीय समितिको चासो

दुई वटा संसदीय समितिका सभापतिसहित सांसदहरूको टोलीले नयाँ संसद भवनस्थित निर्माणस्थलको अनुगमन गरेको छ ।  टोलीले निर्माण कार्यमा भएको लामो ढिलाइप्रति गम्भीर चासो व्यक्त गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १७ गते १७:१९

१७ कात्तिक, काठमाडौं । काठमाडौंको सिंहदरबारभित्र निर्माणाधीन नयाँ संघीय संसद् भवन सम्झौताअनुसार तीन वर्षमा सम्पन्न हुनुपर्ने थियो । तर, सात वर्ष पुग्न लाग्दा समेत निर्माणाधीन नै छ ।

यो विषयप्रति संसदीय समितिले चासो लिएका छन् । मंगलबार दुई वटा संसदीय समितिका सभापतिसहित सांसदहरूको टोलीले नयाँ संसद भवनस्थित निर्माणस्थलको अनुगमन गरेको छ ।  टोलीले निर्माण कार्यमा भएको लामो ढिलाइप्रति गम्भीर चासो व्यक्त गरेको छ ।

पूर्वाधार विकास समितिका सभापति आशीष गजुरेल र कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोक कुमार चौधरीसहित सांसद अरविन्द शाह तथा पारसमणि गेलाललगायतले निर्माणाधीन संसद् भवनको स्थलगत अवलोकन गरेका हुन् ।

अनुगमनका क्रममा टुन्डी कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर, इन्टेरियर निर्माण व्यवसायीका प्रोजेक्ट म्यानेजर तथा नेपाल सरकारका प्रतिनिधि रञ्जन दासको उपस्थिति रहेको थियो ।

निर्माण पक्षले उपलब्ध गराएको विवरणअनुसार संसद् भवनको संरचनागत निर्माणतर्फ ९२ प्रतिशत र इन्टेरियरतर्फ ७५ प्रतिशत भौतिक प्रगति भएको पाइएको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति चौधरीले जानकारी दिए ।

निर्धारित समयभन्दा चार वर्ष बढी बितिसक्दा पनि संसद भवन निर्माण सम्पन्न हुन नसक्नुले आयोजना व्यवस्थापन, कार्यान्वयन र जवाफदेहितामाथि प्रश्न उठाएको पनि उनले बताए ।

राष्ट्रिय महत्वको संसद भवन निर्माणमा भएको लामो ढिलाइलाई सामान्य रूपमा लिन नसकिने उनको भनाइ छ ।

उनका अनुसार संसदीय टोलीले निर्माण कार्यमा थप गति, प्रभावकारी समन्वय र समयसीमाभित्र सम्पन्न गर्ने सुनिश्चितता आवश्यक रहेको औँल्याएको छ ।

टोलीले निर्माण पक्षलाई बाँकी काम तत्काल तीव्र गतिमा अघि बढाउन तथा घोषित समयसीमा भित्र निर्माण सम्पन्न गर्न निर्देश पनि गरेको छ ।

२०७६ असोज १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको यो आयोजना २०७९ साल असोजभित्रै सकिनुपर्ने थियो । तर, अझै निर्माण सम्पन्न भएको छ ।

कुल १७३ रोपनी जग्गामा फैलिएको यस अत्याधुनिक संसद् परिसरमा १२ वटा ठूला भवनहरू रहनेछन् ।

संसद्को आफ्नै भवन नहुँदा विगत २०६४ सालदेखि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई वार्षिक करोडौँ रुपैयाँ भाडा तिरेर संसद् बैठक सञ्चालन गरिँदै आइएको थियो ।

उक्त भवन गत वर्षको जेनजी आन्दोलनका क्रममा जलेको थियो । त्यसपछि नयाँ संसद् भवनमै संसद् बैठक बस्दै आएको छ ।

निर्माणमा भएको ढिलाइकै कारण नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा अस्थायी रूपमा संसद्का बैठकहरू बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?