News Summary
Generated by OK AI. Editorially reviewed.- पाथीभरा क्षेत्र विकास समितिका अनुसार मंगलबार एकैदिन १० हजार ६ सय १६ जनाले मन्दिरमा दर्शन गरेर यस वर्षको सबैभन्दा ठूलो भीड बनाएका छन्।
- मौसममा सुधार आएपछि पाथीभरामा भक्तजनको आवागमन बढेको छ, र आइतबार ६ सय ४० तथा सोमबार ३ हजार ५ सय ९० जनाले दर्शन गरेका थिए।
- दर्शनार्थीको चाप बढेसँगै फुङलिङ, सुकेटार, काफ्लेपाटी, तल्लोफेदी र माथिल्लोफेदीका होटल भरिएका छन् भने मेची राजमार्ग र तमोर करिडोरमा सवारी चाप बढेको छ।
१८ कात्तिक, तेह्रथुम । मध्यरातको सन्नाटा, चिसो मौसम र उकालो पदमार्ग । हातमा टर्चलाइट बोकेर लामबद्ध रूपमा अघि बढिरहेका दर्शनार्थी । कसैको ओठमा देवीको नाम छ भने कसैको मनमा वर्षौंदेखि साँचेको भाकल पूरा हुने विश्वास । रातभरको पैदल यात्रा र कठिन उकालो पार गर्दै बिहानको उज्यालो नहुँदै दर्शनार्थीहरू ताप्लेजुङको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) पुगिरहेका हुन्छन् ।
पूर्वी नेपालको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक तीर्थस्थल पाथीभरामा यतीबेला दर्शनार्थीको चहलपहल बढेको छ । नेपालका विभिन्न जिल्ला तथा छिमेकी देश भारतबाट समेत ठूलो संख्यामा भक्तजन दर्शनका लागि पुग्ने गरेका छन् । यस वर्ष भने कात्तिक तेस्रो सातामा दर्शनार्थीको सङ्ख्याले नयाँ रेकर्ड कायम गरेको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार मंगलबार एकैदिन १० हजार ६ सय १६ जनाले मन्दिरमा दर्शन गरेका छन् । यस वर्ष एकैदिन दर्शन गर्ने भक्तजनको यो सबैभन्दा ठूलो संख्या हो ।
केही दिनअघिसम्म सुनसानजस्तै रहेको पाथीभरामा मौसममा सुधार आएसँगै दर्शनार्थीको भीड लागेको हो । समितिका अनुसार आइतबार ६ सय ४० र सोमबार ३ हजार ५ सय ९० जना भक्तजनले दर्शन गरेका थिए । नवरात्र सुरु हुँदा अस्त शुक्रलगायत ज्योतिषीय कारण र वर्षाको सम्भावनाका कारण दर्शनार्थीको आवागमन अपेक्षाकृत कम रहेको थियो । मौसम अनुकूल बनेपछि भने एकाएक भक्तजनको चाप बढेको हो ।
पाथीभरा दर्शनका लागि आउने अधिकांश भक्तजनले रातिको समयलाई यात्राका लागि रोज्ने गरेका छन् । लामो दूरीबाट आउने दर्शनार्थीहरू पहिलो दिन काफ्लेपाटी र ठूलोफेदीमा बास बसेर भोलिपल्ट बिहानै मन्दिरतर्फ लाग्छन् । धेरैजसो राति १ देखि २ बजेदेखि नै यात्रा सुरु गर्छन् भने कतिपय रातभर हिँडेर बिहानै मन्दिर पुग्ने गरेका छन् ।

तल्लोफेदीसम्म सवारीसाधनमा पुगेपछि सुरु हुने पैदल यात्रामा उकालो बाटो पार गर्दै ठूलोफेदी पुग्न करिब एक घण्टा लाग्छ । त्यहाँबाट कान्छीथान हुँदै मन्दिर पुग्न थप दुईदेखि तीन घण्टा पैदल हिँड्नुपर्छ । समुद्री सतहबाट करिब ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको मन्दिर पुग्ने बाटो सहज छैन । चिसो मौसम, उचाइ र कठिन भूगोलका बीच पनि देवीप्रतिको आस्था र मनोकामना पूरा हुने विश्वासले भक्तजनलाई यात्रामा अघि बढाइरहेको हुन्छ ।
तेह्रथुमबाट दर्शनका लागि पुगेका डिकेन कार्की पनि राति २ बजेदेखि यात्रा सुरु गरेर मन्दिर पुगेका हुन् । लामो समयदेखि पाथीभरा दर्शन गर्ने इच्छा राखेका उनी कठिन यात्रा पार गरे पनि देवीप्रतिको विश्वासले आफूलाई उत्साहित बनाएको बताउँछन् ।
‘राति २ बजेदेखि हिँडेर दर्शन गर्न आएको हुँ । देवीप्रति विश्वास छ, आफूले सोचेको र मागेको कुरा पूरा हुन्छ भन्ने आशा छ,’ उनले भने ।
नवरात्रका समयमा दर्शनार्थीको चाप राति १ बजेदेखि दिउँसो २ बजेसम्म रहने गरेको मन्दिरका पुजारी बताउँछन् । दर्शनार्थीको सहजताका लागि पदमार्गका विभिन्न स्थानमा विश्रामस्थल तथा बास बस्ने व्यवस्था गरिएको छ । उकालो बाटोमा हिँड्न कठिन हुने ज्येष्ठ नागरिक, अशक्त तथा बालबालिकासहित आउने परिवारलाई सहयोग गर्न भरियासमेत खटिने गरेका छन् । उनीहरूले यात्राका क्रममा सामान बोक्नेदेखि आवश्यक सहयोग पुर्याउने काम गर्दै आएका छन् ।
दर्शनार्थीको सङ्ख्या बढेसँगै पाथीभरा क्षेत्रका होटल तथा आवासस्थलमा समेत चाप बढेको छ । फुङलिङ बजार, सुकेटार, काफ्लेपाटी, तल्लोफेदी र माथिल्लोफेदीका होटलहरू भरिभराउ भएका छन् । एकैदिन हजारौँ दर्शनार्थी पुग्दा होटल तथा यातायात व्यवसायीलाई व्यवस्थापन गर्नसमेत कठिन भएको छ ।
भक्तजनको आवागमन बढेसँगै मेची राजमार्ग र तमोर करिडोरमा सवारीसाधनको चापसमेत बढेको ताप्लेजुङका पत्रकार कृष्ष फुरुम्बोले बताए ।
स्थानीय विक्रम लिम्बूका अनुसार भाकल तथा मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण पाथीभरा आउने भक्तजनको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ । नेपालका विभिन्न स्थानका साथै भारतबाट समेत दर्शनार्थी आउने गरेका छन् । उनका अनुसार धार्मिक आस्थासँगै प्राकृतिक सौन्दर्य र हिमाली भूगोलले पनि पाथीभरा क्षेत्रको आकर्षण बढाएको छ ।

कञ्चनजङ्घा हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्दै गरिने पदयात्रा पाथीभरा यात्राको अर्को विशेषता हो । धार्मिक आस्थासँगै प्रकृतिको नजिक पुग्ने अवसरसमेत भएकाले यहाँ पुग्ने पर्यटकको आकर्षण बढ्दै गएको छ । नवरात्रबाहेक अन्य चाडपर्व, सार्वजनिक बिदा तथा अनुकूल मौसममा पनि भक्तजनको आवागमन हुने गरेको छ ।
पाथीभरा केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई पूर्वी नेपालको पर्यटन प्रवद्र्धनसँग जोडिएको महत्त्वपूर्ण गन्तव्यसमेत हो । यहाँको बढ्दो चहलपहलले स्थानीय होटल, पसल, यातायात तथा अन्य व्यवसायमा आर्थिक गतिविधि बढाएको छ । तर, दर्शनार्थीको सङ्ख्या बढ्दै जाँदा पदमार्गको स्तरोन्नति, विश्रामस्थलको व्यवस्थापन, सरसफाइ, स्वास्थ्य सेवा र सुरक्षित आवागमनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता पनि देखिएको छ । धार्मिक विश्वास बोकेर कठिन यात्रा गर्दै पुग्ने भक्तजनको सुविधामा ध्यान दिन सके पाथीभरा क्षेत्रको धार्मिक तथा पर्यटकीय रुपमा विकास अझ विस्तार हुने देखिन्छ ।
प्रतिक्रिया 4