News Summary
Generated by OK AI. Editorially reviewed.- मानव सभ्यताको इतिहास प्रश्नले बनेको भन्दै लेखले प्रश्न सोध्ने विवेक हराउँदा समाज विघटनतिर जाने तर्क गरेको छ।
- लेखका अनुसार परिवार, विद्यालय, विश्वविद्यालय र राजनीतिले बाल्यकालको जिज्ञासालाई दबाएर आज्ञाकारी दास उत्पादन गरिरहेका छन्।
- विज्ञान, धर्म र सत्ता मिलेर प्रश्न थुन्ने संस्कार बलियो बनाएको भन्दै लेखले मौनताको मुकुण्डो फालेर विवेकपूर्ण प्रश्न सोध्न आह्वान गरेको छ।
मानव सभ्यता जिज्ञासा र ती मेटाउन गरिने प्रश्नहरूले निर्माण गरेको इतिहास हो। ढुङ्गे युगका मानिसले ‘आगो किन बल्छ ?’ भनेर सोधेकाले आगो जतन गर्न सिके। घुमन्ते युगमा बोटबिरुवा र जनावर एक ठाउँमा सधैँ एकै मौसममा फल्ने, फुल्ने र हुर्किएको देखेर आफूलाई घरपालुवा बनाए खानाको बन्दोबस्त सहज हुने थाहा पाए। सुकरातले एथेन्सको बजारमा सोधेका प्रश्नले दर्शन जन्मियो।
प्रश्न भनेको केवल जानकारी पाउनु मात्र होइन, यो स्थापित मान्यता, सत्ता, शक्ति र ज्ञानलाई चुनौती दिने वैचारिक हतियार हो। तर, अहिले यो हतियार भुत्ते भएको छ। अहिले हाम्रा प्रश्नहरू गहिरो चिरनिद्रामा छन् भने जिज्ञासा बरालिएका छन्। समाज मसानघाटको भिडमा देखिने मुर्दा शान्तिजस्तै मौन छ।
यो राजनीतिक असफलताको एउटा बलियो प्रमाण हो। जब व्यक्ति वा समाजले प्रश्न सोध्ने चेत र विवेक गुमाउँछ, उक्त समाजको विघटन यात्रा सुरु हुन्छ। यस अर्थमा हामी विकसित हुन नसकेको मात्र होइन, हाम्रो समाज निरन्तर विघटित भइरहेको छ।
हाम्रो समाजमा प्रश्नहरू सकिएका होइनन्, न त सोध्ने आवश्यकता घटेर नै यस्तो भएको हो। यो त प्रश्न सोध्ने विवेकमा धार लगाउनुपर्ने राजनीतिले धार बलियो बनाउने, पाइन चढाउनुको साटो यसलाई झनै भुत्ते बनाएको परिणाम हो। यस्तो राजनीतिक संस्कार नफेरे प्रश्न मरिरहन्छन् र राजनीतिक संस्थाहरू लास र दासले भरिएका हुन्छन्।
प्रश्नको बिउ मानव मस्तिष्कमा बाल्यकालको बालसुलभ जिज्ञासाबाट अङ्कुरित हुन्छ। तर, अहिले हाम्रो समाजमा यो कलिलो जिज्ञासालाई हुर्कन नै दिइँदैन। प्रश्न सोध्न वञ्चित आमाबाले बच्चाले ‘यो किन यस्तो भयो ?’ भनी सोध्दा उसलाई ‘धेरै नकरा, चुप लाग, ठूलालाई जवाफ फर्काउने होइन’ भनेर हकार्छन्, किनकि यिनले त्यस्तै सिकेर आएका छन्। यहाँबाट सुरु भएको प्रश्न तथा जिज्ञासाको समर्पण यात्रा जीवनभरि रोकिँदैन।
पारिवारिक तहमा थिचिएको जिज्ञासालाई विद्यालय र विश्वविद्यालयको शिक्षा प्रणालीले कहिल्यै उठ्न नसक्ने गरी पक्षघात बनाइदिन्छन्। साँघुरा कक्षाकोठामा प्रश्न गर्न सिकाइँदैन, बरु चुपचाप अर्ती, उपदेश र गुरुका तथाकथित ज्ञानका अमुक विचार थोपरिन्छ।
परिणाम, वर्तमान शैक्षिक प्रणालीले आलोचनात्मक चेत भएका नागरिक जन्माउनुको सट्टा आज्ञाकारी दासहरूको झुन्ड मात्र उत्पादन गरिरहेको छ। कक्षाकोठामा विद्यार्थीले ‘सर, यो सिद्धान्त किन र कसरी काम गर्छ ?’ भनी प्रश्न गर्दा सर्वज्ञानी गुरुलाई अपमान गरेको ठहर्छ। ‘जे पढाएको छ, त्यति मात्र पढ’ भनेर उर्दी लगाइन्छ।
यसरी हुर्केको एउटा कुण्ठित युवा विद्रोहको ज्वाला लप्किएका प्रश्न बोकेर समाजमा प्रवेश गर्छ। राजनीतिले प्रश्न उठाउन दिन्छ भन्ने आशा बोकेर उसले समाजका बेथितिमा प्रश्न उठाउन खोज्छ। प्रश्न उठाउन मुख खोल्न नपाउँदै या त आश्वासन, भएन भने कारबाहीको डन्डा चलाएर उसका प्रश्न ठन्डा पारिन्छ। उसका प्रश्नको गला घोट्न अनेक तिकडम गरिन्छ र अराजकको बिल्ला भिराएर बिदा गरिन्छ। यसको विरोध गरे अतिवादको आरोप लगाइन्छ। यी सबै प्रवृत्तिले उसको मस्तिष्कमा गहिरो असहाय भाव बढाउँछ।
कुरा यत्तिमा सकिँदैन; यिनैमध्ये केही आफ्ना प्रश्नलाई खोपीमा राखेर राजनीतिको सिंहासनमा पुग्छन्। अनि असली खेल सुरु हुन्छ। यिनले हिजोका आफ्नै प्रश्नविरुद्ध आगो ओकल्न थाल्छन्। यिनले समाजका बचेखुचेका प्रश्नलाई सत्ता–शक्तिको बलमा कुल्चिरहन्छन्। यसले ‘प्रश्न गरेर केही बदलिँदैन, चुप लाग्नु नै बुद्धिमानी हो’ भन्ने सामाजिक मनोविज्ञान थोपरिरहन्छ।
यसमाथि, अहिलेको विज्ञान र प्रविधिले समाजका प्रश्नहरूलाई थप भुत्ते बनाएको छ। मानव जीवनलाई सहज बनाउनका लागि विकास भएको विज्ञानलाई केवल प्राविधिक औजारमा सीमित पारिएको छ। यी औजारले प्रश्न होइन, तयारी जवाफ दिन्छन्। जब प्रश्न गर्न रोकिन्छ, तब जिज्ञासाको बिउ नै कुहिन्छ।
त्यस्तै, धर्म र सांस्कृतिक संस्थाहरूले समाजलाई नैतिक बाटोमा डोर्याउनुपर्ने हो। तर, कतिपय अवस्थामा यिनै संस्थाहरूलाई नैतिक प्रश्न गर्ने प्रवृत्तिको विरोध गर्ने ढालका रूपमा प्रयोग गरिन्छ। जब समाजमा कुनै कुरीति, असमानता वा विभेदको जरो धर्म र रूढिवादसँग जोडिन्छ, तब त्यसविरुद्ध प्रश्न उठाउनेबित्तिकै त्यसलाई ‘धार्मिक आस्थामा प्रहार’ भनी बन्देज गरिन्छ।
धर्मको यो रूढिवादी व्याख्याले मानिसहरूलाई अन्धविश्वासी बनाउँछ र समाजका गलत नीतिहरूलाई समेत ‘भाग्यवाद’ वा ‘दैवी इच्छा’ भनेर सहने बानी बसाल्छ।
‘धर्ममाथि शङ्का गर्नु पाप हो वा परम्परालाई मान्नुपर्छ। यसमा किन ? भन्ने प्रश्न गर्नु हुँदैन’ भन्ने मान्यता छ। जब कोही नेता बन्छ, उसले यही धर्मको सहारा लिन्छ र प्रश्नको मुख थुन्ने हतियारका रूपमा प्रयोग गर्छ। ऊ भाकल गर्छ, मन्दिर र मस्जिद धाउँछ। यो सबै आम मानिसको प्रश्न उठाउने विवेकलाई चुनौती दिनका लागि गरिन्छ।
यी सबै बाहिरबाट हेर्दा बुझाइको समस्या जस्तो लाग्छ, तर यो प्रश्नको मुख थुन्ने सत्ताको बलियो औजार हो। इटालियन चिन्तक एन्टोनियो ग्राम्सीले भनेझैँ शासन केवल लाठीले मात्र हुँदैन, विचार र सांस्कृतिक आधिपत्यले हुन्छ। आजको नेपाली राज्यसत्ताले यही सूत्र प्रयोग गरिरहेको छ।
जब राजनीति शासनको औजार मात्र बन्छ, यसले राज्य आतङ्क बढाउन विचारलाई हरेक पाठ्यपुस्तक, समाचार र नेताको भाषणमा बारम्बार दोहोर्याइन्छ। यस्तो आदतमा अम्मली बनेको समाजले त्यसलाई अकाट्य सत्य मान्न थाल्छ। यसरी वास्तविकताको खोलभित्र सत्यलाई ढाकिन्छ। यसमाथि प्रश्न गरिँदैन।
परम्परागत सामन्ती समाजमा प्रश्न सोध्ने हक शासक र तिनका सहयोगीलाई मात्र थियो। आधुनिक भनिने अहिलेको हाम्रो समाज प्रश्न सोध्नु नै अपराध मानिने समयमा सुरु भयो। त्यसपछिका परिवर्तनहरू पनि प्रश्न सोधेरभन्दा शासकहरूको आदेश, अर्ती र उपदेश सुनेर वा तिनको हुबहु नक्कल गर्ने संस्कृतिको विकास गरियो।
राजनीतिको यो पुस्तासम्म आइपुग्दा धगधगी त्यही छ। जब समाजमा प्रश्न गर्ने संस्कृतिको अन्त्य हुन्छ, तब असमानता संस्थागत हुन्छ। पहुँचवालाहरूले मात्र राज्यका स्रोत र साधन दोहन गर्छन्, तर सर्वसाधारण बोल्न सक्दैनन्। भ्रष्टाचार सामान्य बन्छ। पारदर्शिता खोज्ने संस्कृति मर्दै गएपछि अनियमितता नै शासन प्रणालीको नियम बन्छ। समाजको विवेक मर्छ।
यी सबैको एकमुस्ट प्रभावले गर्दा हाम्रो सामाजिक संरचना चरम उदासीनतामा फसेको छ। ‘प्रश्न गर्नु जोखिमपूर्ण छ र चुप बस्नु सुरक्षित छ’ भन्ने सोच सामाजिक सहजता बनेको छ। आधुनिक भनिएको समाजको यो मनोदशा डरलाग्दो छ। प्रश्न गर्न चुकेको यो पुस्ताले आफ्ना सन्ततिलाई प्रश्न गर्न सिकाउँदैन। कालान्तरमा, प्रश्न हराएका मानिस रहँदैनन्; यो भिडमा फेरिन्छ।
मानव सभ्यता प्रश्नकै बलमा यहाँसम्म आइपुगेको हो। प्रश्न मर्दा मानिस पूर्ण रूपमा मर्दैन, तर उसको विवेक र स्वाभिमान सधैँका लागि मरेर जान्छ। यो लास र दासको भिडले समाज सम्हाल्न सक्दैन। अहिलेका सबै सङ्कटको मूल जड भनेको हामीले धेरै लामो समयदेखि प्रश्न सोध्न बिर्सिनु वा बन्द गर्नु हो।
अब यो मौनताको मुकुण्डो फाल्ने बेला आएको छ। मुखमा तालाचाबी लगाएर मुन्टो हल्लाउने बानी छाडौँ र विवेकपूर्ण प्रश्न सोध्ने आँट गरौँ। किनभने, जसले प्रश्न सोध्छ, उसले मात्र स्वाभिमानसँग बाँच्छ र आफ्नो र अरूको भविष्य निर्माण गर्छ। जसले मौन भएर सबै कुरा स्वीकार गर्छ, उसले अरूले कोरेको दासतामा बाँच्नुपर्छ।
अन्त्यमा, अब फेरि एकचोटि उठौँ र प्रश्न सोधौँ। हामीले सोधेका प्रश्नले नै हाम्रो भविष्य उन्नत बन्ने हो।
प्रतिक्रिया 4