News Summary
Generated by OK AI. Editorially reviewed.- विष्णु सापकोटाको लेखबाट प्रेरित यो ब्लगले हामी जसरी सोच्छौं, त्यसरी किन सोच्छौं भन्ने प्रश्न उठाएको छ।
- लेखमा ब्रेन, जीन, बाल्यकाल, परिवार, भाषा, संस्कृति, शिक्षा र अनुभवले सोच निर्माण गर्ने वैज्ञानिक र सामाजिक आधार व्याख्या गरिएको छ।
- लेखकले डिजिटल एल्गोरिदम र इकोचेम्बरले विश्वास कठोर बनाउँदै बुझाइलाई एकांगी बनाइरहेको निष्कर्ष निकालेका छन्।
के तपाईंलाई थाहा छ- गत साउन महिनाको दोस्रो हप्ता हाम्रो देशको तराई–मधेसमा के भइरहेको थियो ? किन भइरहेको थियो ? एक्काइसौं शताब्दीको करिब उत्तरार्द्धतिर आइपुग्न लाग्दासमेत आफ्नो सामाजिक ‘बहादुरी’ प्रमाणित गर्न मानिस किन साम्प्रदायिक–धार्मिक उन्मादको सहारा लिन्छ ? कप्तानगञ्ज किन एकाएक अशान्त भयो ?
हामीले आज पनि एउटा नागरिकको हैसियतले राज्यको दृष्टिमा ‘तिमी र म’ बराबर सामाजिक प्राणी हौं भन्ने आधारभूत यथार्थ आत्मसात् गर्न किन नसकेका हौंला ? यसो भइरहँदा तपाईं–हामीसँग हुने भनिएको ‘सेल्फ सोच’ को कुनै उल्लेख्य भूमिका हुन्छ या हुँदैन ?
अनि तपाईंले कुनै आकस्मिक असहज परिस्थितिको ‘कन्फ्रन्ट’ गर्नुपर्दा क्षणभरमै कोही किन आक्रामक देखिनुहुन्छ र कोही किन शान्त–संयम प्रतिवाद गर्न थाल्नुहुन्छ ? उस्तै परिस्थितिमा आक्रामक बन्ने र शान्त रहने व्यक्तिको सोचशैली किन पृथक् र विविध हुन्छ ? त्यस्तै तपाईंहरूमध्ये किन कसैलाई रोनाल्डो मन पर्छ र कसैलाई मेस्सी मन पर्छ नि ? किन कसैलाई सकिरा र कसैलाई टेलर स्विफ्ट अथवा एमर्जिङ ग्लोबल स्टार रोड्रिगो मनपर्ने हुन्छ होला ?
अँ साँच्ची, कुनै दिन तपाईंले डिले गर्नुभएपछि तपाईंसँग सधैं कलेज जाने–आउने तपाईंको हितैषी बाहिर मेनगेटबाटै झर्किँदै एक्कासि रिसाउनुभएको छ ? अनि त्यो पूरै दिन तपाईंको मुड अफ भएको र त्यसको इमोसनल इम्प्याक्ट अर्को तेस्रो–चौथो दिनसम्म रिफ्लेक्ट भइराखेको याद छ ?
लेखक विष्णु सापकोटाले आफ्नो कुनै एउटा लेखमा, ‘मैले जसरी सोच्छु, त्यसरी किन सोच्छु र म जे सोच्छु, त्यो नै किन सोच्छु ? भन्ने प्रश्नले आफूलाई सधैं फ्यासिनेट गरिरहन्छ’ भन्नुभएको थियो। उहाँको त्यो ‘एस्थेटिक कग्निटिभ फ्रेज’ पढ्दै गर्दा मैले के सोच्दै पढिरहेको थिएँ भन्ने त मलाई सम्झना छैन; तर यो प्रश्न उहाँको मात्रै होइन कि भन्ने लागेको सोही लेख दोहोर्याएर पढ्दाका ताका हो। किनकि आजको सोचगत बहुविविधताको संसारमा त्यो केवल उहाँको मात्रै वैयक्तिक ‘क्युराेसिटी’ नभएर मेरो पनि हो, तपाईंको पनि हो र अन्ततः सम्पूर्ण सोच्न प्रयास गर्ने मानिसहरूको हो भन्ने लाग्छ।
त्यसैले यस ब्लग (औसतभन्दा केही लामो) मा म हामी सबैको संज्ञानात्मक जिज्ञासालाई अलिक फराकिलो बनाउने जमर्को गर्दै छु। हामी जसरी सोच्छौं, त्यसरी नै किन सोच्छौं अथवा सोचिरहेका हुन्छौं ? हामी जे सोच्छौं, त्यो नै किन सोच्छौं ?
तपाईंलाई लाग्न सक्छ, यसको उत्तर ‘स्ट्रेट फरवार्ड’ छ- हामी सोच्छौं, किनकि हामीसँग हाम्रो आफ्नै ब्रेनछ। तर विज्ञानले यतिमै चित्त बुझाउँदैन। पछिल्ला केही दशकमा स्नायुविज्ञान, संज्ञानात्मक विज्ञान, इभोल्युसनरी जीवविज्ञान, मनोविज्ञान र मानवशास्त्रका विभिन्न शोधहरूले रोचक निष्कर्षतर्फ सङ्केत गर्छन् कि हाम्रो सोच निश्चित क्षणमा जन्मिने घटना होइन; यो त अर्बौं वर्षको जैविक विकास, हाम्रो जीन, बाल्यकाल, परिवार, भाषा, संस्कृति, शिक्षा, अनुभव र ब्रेनभित्रका करोडौं ‘न्युरोन सेल’ हरूको निरन्तर अन्तरक्रियाको समूल नतिजा हो।
हामीमध्ये धेरैलाई लाग्छ, हामी हाम्रा सोचका पूर्ण निर्माता हौं। तर के साँच्चै त्यही हो त ? यदि तपाईंको जन्म नेपालमा नभएर युरोप, अफ्रिका वा नेपालकै पनि कर्णाली, बागमती वा कुनै सीमान्तकृत समुदायमा भएको भए, के तपाईंको ‘एक्जिस्टिङ’ (विद्यमान) सोच संरचना यस्तै हुन्थ्यो ? यदि तपाईंको मातृभाषा नेपाली नभई अर्को भाषा भएको भए ? यदि तपाईंको बाल्यकाल, परिवार, पढाइ, सङ्गत, पारिवारिक–आर्थिक र सामाजिक परिवेश फरक भएको भए, के संसारलाई हेर्ने/बुझ्ने तपाईंको दर्शन पनि आजकै जस्तो हुन्थ्यो ?
यी प्रश्नहरू जति बोधगम्य सुनिन्छन्, त्यति नै दुर्बोध्य छन्। तपाईं–हामीले सोच्ने तरिका बिस्तारै समयचेतनासँगै निर्माण गर्छौं, गरिरहेका हुन्छौं, गरिरहनेछौं।
सायद यही कारणले ‘हामी जसरी सोच्छौं, त्यसरी किन सोच्छौं ?’ भन्ने प्रश्न केवल मनोविज्ञानको सन्दर्भ होइन। यो जीवविज्ञानको पनि सन्दर्भ हो। इतिहासको हो। संस्कृतिको हो। र, अन्ततः मानव अस्तित्वकै सन्दर्भ–विषय हो।
म यही प्रश्नलाई अपरिमेय उत्सुकताका साथ विज्ञानका पछिल्ला अनुसन्धान, विषयगत विद्वान्हरूका विचार र हाम्रो आफ्नै सामाजिक–ऐतिहासिक यथार्थको आलोकमा बुझ्ने प्रयास गर्नेछु।
ब्रेन, जीन र सानो छँदाको अनुभव : के हामी जन्मँदै आफ्ना ‘न्यारेटिभ’ लिएर आउँछौं ?
हामी जन्मिँदा एउटा निश्चित जैविक–प्राकृतिक ‘पोटेन्सियल’ लिएर जन्मिएका हुन्छौं। हाम्रा जीनहरूले शरीरसँगै हाम्रो ब्रेन को आधारभूत संरचनाको फरक–फरक खाका पनि तयार गरेका हुन्छन्। सोही कारण कोही मानिस सानो हुँदादेखि नै जिज्ञासु हुन सक्छ, कोही बढी बहिर्मुखी, कोही अन्तर्मुखी, कोही बढी संवेदनशील त कोही बढी मूर्ख।
तर जीनले हाम्रो जीवनको आखिरी कथा भने लेख्दैन। जीनले त केवल तपाईंको जीवनधाराको पहिलो ‘पेज ड्र’ गरिदिन्छ। त्यसो त हाम्रा शरीरमा रहेका जीनहरू अगणित पूर्वपुस्ताको विकासक्रम, अनुकूलन र जीवित रहन गर्नैपर्ने सङ्घर्षको निरन्तरता हुन्। हामी हाम्रा ‘ड्याडी–ममी’ मात्र होइन, पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको ‘जेनेटिक लिगेसी’ सँग पनि जोडिएका हुन्छौं। अर्को कुरा, हामी हाम्रा आमाबुबाका सन्तति मात्र होइनौं; हजारौं वर्ष लामो जैविक यात्राका पनि उत्तराधिकारी हौं।
ममीको स्पर्श, ड्याडीको व्यवहार, घरको वातावरण, बोलेको भाषा, बाजेबज्यैले सुनाएका कथा, विद्यालयमा साथीभाइसँगको सङ्गत, हामी हुर्के–बढेको समाज यी सबैले हाम्रो मस्तिष्कमा साना–साना छाप छाडिरहेका हुन्छन्। ती छापहरू बाल्यकालदेखि नै हाम्रो ब्रेनका अर्बौं न्युरोनहरूबीच बन्ने सम्बन्धहरूमा स्वतः ‘ड्राफ्टिङ’ भइनै रहेका हुन्छन्।
विद्यालय र बाल्यकालीन समयका कुरा गर्दा आफ्नै केही ‘मेमोजिर’ यहाँ साझा गर्दा ‘डट्स’ हरू अझ कनेक्ट हुन्छन् होला। गुल्मीको मालिका गाउँपालिका वडा नं. ६ अर्जैको (साविक अर्जै गाविस) राम्चेस्थित श्री सिद्ध इङ्लिस बोर्डिङ मैले आधारभूत तहसम्म पढेको विद्यालय हो; जोसँग मेरो बहुसङ्ख्यक बालापन जोडिएको छ।
हाम्रा प्रिन्सिपल भीमकान्त भट्टराई (हामीले भीम सर भन्थ्यौं) ले भन्नुहुन्थ्यो, ‘तँ टाठो छस्, जान्ने छस्, तर पनि मैले तँलाई सधैं झपार्छु। किन ? अझै धेरै पढ्लास्, पछि ठूलो मान्छे बन्लास् भनेर हो। पछि ठूलो भएसी थाहा पाउँछस्।’
कम्पाउन्डभित्र आकाशबाट परेको पानी सञ्चित हुने ‘ग्यानी पानी ट्याङ्की’ को छेउबाट भन्नुभएको त्यो कुरा उमेरले ‘एक्काइस’ कटेपछि नै महसुस गर्न थालेको थिएँ। भीम सरको ‘पछि थाहा पाउँछस्’ कथनी मेरो विशेष क्षमताप्रतिको अर्थपूर्ण ‘मेनिफेस्टेसन’ थियो। उहाँको त्यस सोचको सापेक्ष आधार म र मेरो वास्तविकता थियो।
यानि; हरेक मानिसको सोच निरपेक्ष हुँदैन, धेरैजसो सापेक्ष पनि हुन्छ। भीम सरले ‘पछि ठूलो भएसी थाहा पाउँछस्’ भन्नुभएको हिजै हो जस्तो लाग्छ। त्यस्तै ध्रुव सर, हाम्रा साइन्स टिचर; साह्रै ह्युमरस ! हरेक दिन क्लास सकिन लाग्दा एउटा न एउटा प्रश्न सोध्ने (आउट अफ कन्टेक्स्ट)। धेरैजसो प्रश्नको उत्तर मिलाउने अवसर मेरो पोल्टामा पर्थ्यो। ‘तिमी त्यो समय ‘मल्टिडाइमेन्सनल’ थियौ’ भनेर आज पनि भनिराख्नुहुन्छ। फोनकलमा कुरा भइराख्छ उहाँसँग अद्यापि। अनि मैले ‘कस्तो मल्टिडाइमेन्सनल नि सर ?’ भनेर ठट्टा गर्दा ध्रुव सरको जबाफ सम्झिन्छु- ‘तेज, चतुर, धूर्त, मूर्ख, छट्टु सबै थियौ।’
म आफू ‘जान्नेहरूमध्येको निर्मित मुखिया’ (बनाइएको) ले क्लास टेस्ट, मक–टेस्ट हुँदा अघिपछिको तुलनामा साथीहरू मसँग बढी सङ्गठित हुन्थे; भोलि कम स्कोरका कारण सम्बन्धित सर/म्यामको ‘मुर्गा वा लट्ठी’ सजाय भोग्न नपरोस् भनेर। कहिलेकाहीँ एक–आपसमा सानातिना ‘समूह फाइट’ पर्ने गर्थ्यो, त्यसको ‘प्रोक्सी’ नेतृत्वकर्ता म हुन्थेँ/बनाइन्थेँ, त्यो बेला सानोतिनो ‘बलबहादुर’ को कोटाभित्र पनि गनिन्थेँ। त्यस मानेमा म छट्टु कहलिन्थेँ।
यहाँ मैले मेरो व्यक्तिगत संस्मरण (सानो छँदाका किस्साहरू) किन जोड्न खोजेको हो भने बालापनमा हामीमा परेका केही उमेरगत प्रभाव, रहेका छाप समयसँगै परिष्कृत हुँदै जाँदा रहेछन् भने कुनै सन्दर्भहरू सदाकालीन रूपले हाम्रो ब्रेनमा ‘इम्प्रिन्ट’ बनेर बस्ने र तिनै सञ्चित ‘इभेन्ट’ हरू पछि गएर जीवन–जगत् बुझ्ने हाम्रो आफ्नै जुन ‘सोच’ छ, त्यसलाई समेत निर्णायक प्रभाव पार्ने ‘टुल’ बन्दा रहेछन्।
जस्तो: त्यतिबेला सँगै पढेका जीवन, नवीन, सन्तोष र कुशल, रुपा, अस्मिता, पुष्पा र सुष्मा लगायतका साथीहरूसँगका विभिन्न ‘द देन स्कुल (श्री सिद्ध) मोमेन्ट्स’ हरू मेरो ब्रेनमा यसरी ‘सङ्ग्रहित’ छन्, जसरी त्यो बेला ती ‘मोमेन्ट’ त्यसरी नै भएका थिए- ‘एज इट इज’। त्यसैगरी त्यो बेला सानो हुँदाका केही ‘प्रि–मच्युरिटी’ हरू भने परिवर्तित समयपरिवेशसँगै आफैं परिमार्जित भएका छन्, हुँदा रहेछन्।
यही कारणले स्नायुवैज्ञानिकहरूले ह्युमन ब्रेनलाई ‘स्टेबल अर्ग्यान’ नभई ‘डाइनामिक इक्विपमेन्ट’ भनेका छन्। हामीले नयाँ कुरा सिक्दा, नयाँ अनुभव बटुल्दा वा पुराना विश्वासहरू बदल्दा मस्तिष्क आफैं पनि परिवर्तन भइरहेको हुन्छ। परिणामतः एउटै परिवारमा हुर्किएका सन्तान पनि किमार्थ फरक सोच राख्न सक्छन्। उनीहरूको जीन उस्तै हुन सक्छ, घर पनि उही हुन सक्छ; तर अनुभव समान हुँदैन। छोरीले ड्याडीको माया धेरै पाएकी हुन सक्छिन् भने छोराले ममीको माया बढी पाएका हुन सक्छन्। उमेर वृद्धिसँगै एउटाले असफलतालाई चुनौतीका रूपमा बुझेको हुन सक्छ, अर्काले त्यसलाई समयदोषका रूपमा।
त्यसैले ‘हामी किन यस्तो सोच्छौं ?’ भन्ने प्रश्नको उत्तर खोज्दा केवल हाम्रा सोचहरूको ‘रेट्रोस्पेक्सन’ मा पुगेर मात्र पर्याप्त हुँदैन। हाम्रो बाल्यकाल, परिवार, समाज, पढेका पुस्तक, भेटेका मानिस र सङ्कलित अनुभवहरू पनि सम्झिनुपर्ने हुन्छ। किनकि हाम्रो सोच कुनै एक दिनको निर्णय नभएर हाम्रो सम्पूर्ण जीवनले लेखिरहेको एउटा जीवन्त–जीवित आत्मकथाजस्तो हो।
संस्कृति, भाषा र समाज : यदि मेरो जन्म नेपालमा होइन, अमेरिकामा भएको भए ?
कहिलेकाहीँ म आफैंलाई एउटा ‘हाइपोथेटिकल’ प्रश्न गर्छु- यदि मेरो जन्म नेपालमा होइन, अमेरिकामा वा नेपालकै पनि मेरो ‘जन्म भूगोल’ गुल्मी नभएर सुदूर पूर्वको कुनै जिल्ला भएको भए, के म आज यही मानिस हुन्थेँ ? सायद मेरो अनुहार उस्तै हुन्थ्यो, मस्तिष्क पनि लगभग उस्तै हुन्थ्यो। तर के मेरो सोच र सोचसन्दर्भ पनि उस्तै हुन्थ्यो ? मेरो जीवनका घटनापरिघटना पनि यस्तै हुन्थे ? सायद हुँदैनथे। मान्छे आफू जन्मे–हुर्केकै तत् भूगोल, परिवेशकै सुन्दर सामाजिक सोच विविधताको अंशियार हुन्छ। ऊ समाजसापेक्ष हुन्छ, ऊ संस्कृतिसापेक्ष हुन्छ। ऊ इतिहाससापेक्ष पनि हुन्छ।
यसको कारण केवल देश फरक हुनु होइन। संस्कृति फरक हुनु हो। सामाजिक परिवेश फरक हुनु हो। सामाजिक व्यवहारमा विविधता हुनु हो।
हामीले प्रायः संस्कृति भन्नासाथ चाडपर्व, भेषभूषा वा लवाइखवाइ सम्झन्छौं। तर संस्कृति त्योभन्दा पनि धेरै बृहत्तर अवधारणा हो। संस्कृति भनेको एउटा समाजले पुस्तौंदेखि सिक्दै आएको ‘संसारलाई हेर्ने साझा दर्शन’ पनि हो। हामी कसरी बोल्छौं, कसरी व्यवहार व्यक्त गर्छौं, हामीले कसरी एक–अर्कामा सद्भाव कायम गर्छौं, हाम्रो सामाजिक अन्तरक्रियाको ढाँचा कस्तो छ, हामीले कस्ता सामाजिक संस्था र मूल्य निर्माण गरेका छौं ? यी सबैमा हाम्रो मौलिक र रैथाने संस्कृतिको छाप अलङ्कृत हुन्छ। हामीले जुन समाजमा आफूलाई ‘ग्रुमिङ’ गर्यौं, जुन भाषामा संसारलाई चिन्न सिक्यौं, जुन सामाजिक इतिहास बोकेर हुर्कियौं; यी सबैले प्रत्यक्ष/परोक्ष रूपमा हाम्रो आधारभूत सोचलाई आकार दिन्छ।
प्रख्यात मानवशास्त्री जोसेफ हेनरिचले भनेजस्तै- मानव मस्तिष्क जैविक रूपमा धेरै हदसम्म समान भए पनि संस्थाहरू, इतिहास, धर्म, शिक्षा र सामाजिक अभ्यासहरूले मानिसको सोच्ने शैलीलाई गहिरोसँग आकार दिन्छन्। त्यसैले फरक समाजका मानिसहरूले एउटै प्रश्नलाई फरक ढङ्गले बुझ्न सक्छन्।
निर्णय, भावना र तर्क : हामी पहिले सोच्छौं कि पछि महसुस गर्छौं ?
पाँच महिनाको विदेश बसाइपछि साउनको अन्तिम हप्ता नेपाल फर्किएका शेरबहादुर देउवा, चुनदेवी पुगेर ‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्छन् यहाँ ?’ भन्दै किन गर्जिएका हुन् थाहा छ तपाईंलाई ? प्राध्यापक रोबर्ट स्यापोल्स्की आफ्नो बहुचर्चित पुस्तक ‘बिहेभ’ मा व्याख्या गर्छन्- मान्छेले तत्काल केही नसोचीकनै दिने प्रतिक्रियाका पछाडि उसलाई केही सेकेन्ड, केही मिनेट, केही घण्टा, केही दिन, केही महिना र केही वर्षअगाडि के भएको थियो भन्ने कुराले पनि प्रभाव पार्छ।
देउवा तिनै पात्र हुन्, जो गत वर्ष भदौ २४ गते आफ्नै निवासमा हिंसात्मक आक्रमणमा परेका थिए (जुन घोर आपत्तिजनक थियो)। त्यसपछि उनले नेतृत्व गरिरहेको नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत गगन थापालाई सभापतिमा निर्वाचित गर्यो।
चुनदेवीमा देउवाले त्यो दिन केही महिनाअघि गुमेको सभापति पद सम्झिएका हुन सक्छन्, आफूमाथि लागेका विभिन्न आरोपहरू सम्झिएका हुन सक्छन्, करिब ६ दशकको आफ्नो सक्रिय राजनीतिक जीवनमा प्राप्त सत्ता र शक्तिबाट अकस्मात् बाहिरिनुपरेको आर्तनादले आफ्नो मन खिन्नता सम्झिएका हुन सक्छन्। अनि सम्झिएका हुन सक्छन्- आफूलाई स्वागतार्थ एयरपोर्ट हुँदै चुनदेवी पुगेका आफ्ना कार्यकर्ताको भिड।
‘एस्कर्टिङ’ सहित चुनदेवी पुगिसकेपछि तिनै विगतका सम्झनाहरूको भावनात्मक प्रभावले उनको त्यतिबेलाको सोचलाई ट्रिगर गरेलगत्तै- अन्तिम शाहवंशीय राजालाई अनायासै ‘मिस’ गर्न पुगे। उनले ‘मलाई यहाँ कसैले सक्छ ?’ भनेर आफ्नो कुन राजनीतिक औचित्य प्रमाणित गर्न खोजेका हुन् भनेर सायद उनी आफैं आफ्नो असङ्गत बुझाइको असमञ्जसमा परेको हुनुपर्छ। देउवालगायत उनको असक्षम समकालीन राजनीतिक पुस्ताले अझै पनि नेपाली राजनीतिलाई त के, सम्बन्धित दलको समयानुकूल रूपान्तरणका लागि ‘केही गर्लान्’ भन्ने ‘परम भ्रम’ उनीनजिकका दुई–चार जना ‘क्रिप’ हरूबाहेक कसैलाई छैन।
अब ब्लगको निरन्तरतामै फर्कौं; हामीमध्ये धेरैलाई लाग्छ- हामी तर्क गरेर निर्णय गर्छौं। तथ्यहरू हेर्छौं, ‘प्रज एन्ड कन्स’ तौलन्छौं, अनि निष्कर्षमा पुग्छौं। तर विगत केही दशकका मनोविज्ञान र स्नायुविज्ञानका अनुसन्धानहरूले तपाईं–हाम्रो परम्परागत विश्वासलाई चुनौती दिएका छन्।
यदि तपाईंले कुनै व्यक्तिलाई पहिलो नजरमै मन पराउनुभयो भने किन पराउनुभयो ? वा कसैलाई भेट्नेबित्तिकै ‘अक्वर्ड फिल’ किन गर्नुभयो ? तत्काल हामीसँग त्यस ‘मोमेन्ट’ लाई व्याख्या गर्ने कुनै तार्किक उत्तर त हुँदैन; तर केही क्षणपछि हाम्रो ब्रेनले कारणहरू खोज्न थाल्छ। ती के भने- उसको बोली मधुर थियो, उसको लुक्स ‘इम्प्रेसिभ’ थियो, उसको भावभङ्गी शिष्टपूर्ण लाग्यो इत्यादि। त्यस्तो अवस्थामा हामीले दिने जवाफ कुनै सचेत तर्कको सहारा लिएर दिएका त हुँदैनौं तर पछि हामीले दिएको जवाफ आफू अनुकूल ‘इन्टरप्रेट’ भने गरिरहेका हुन्छौं; तथापि हाम्रो जवाफ जतिसुकै गैरतार्किक भएको होस्।
नोबेल पुरस्कार विजेता मनोवैज्ञानिक ड्यानियल काह्नेमान (जो केही समयअघि दिवङ्गत भए) ले आफ्नो प्रसिद्ध पुस्तक ‘थिङ्किङ फास्ट एन्ड स्लो’ मार्फत मानव सोचलाई दुई तहमा बुझाउने प्रयास गरेका छन्। एउटा छिटो, सहज र स्वचालित सोच र अर्को ढिलो, विश्लेषणात्मक र तार्किक सोच। दैनिक जीवनका अधिकांश निर्णयहरू पहिलो प्रणालीले गर्छ। दोस्रो प्रणाली भने आवश्यक परेपछि सक्रिय हुन्छ। त्यसैले हामीले हाम्रा धेरैजसो निर्णयहरू प्रशोधित तर्कपछि गरेका हुँदैनौं; धेरै निर्णय त हाम्रो ब्रेनले क्षणभरमै गरिसकेको हुन्छ।
यसलाई अझ रोचक ढङ्गले विख्यात अमेरिकी सामाजिक मनोवैज्ञानिक जोनाथन हाइटले व्याख्या गर्छन्। उनले आफ्नो बेस्ट सेलिङ बुक ‘द राइटियस माइन्ड’ मा भनेका छन्, ‘मानिसको नैतिक निर्णयमा भावना पहिले आउँछ, तर्क पछि।’ तर्क धेरैजसो अवस्थामा न्यायाधीशभन्दा पनि वकिलजस्तो हुन्छ, जसले निष्पक्ष रूपमा सत्य खोज्दैन। उसले आफूले गरिसकेको निर्णयको पक्षमा निरन्तर बहस गर्छ।
अघि मैले ब्लगको प्रारम्भमा उद्धरण गरेको एउटा काल्पनिक दृष्टान्त सम्झिनुस् त ? तपाईंले कुनै दिन ‘डिले’ गर्दा तपाईंको साथी किन झर्किएर रिसाउनुभएको थियो ? अब थाहा पाउनुभयो ? तार्किक भएर परिस्थिति सम्हाल्ने कि भावनात्मक भएर अर्को विषम परिस्थिति निम्त्याउने ? यस्तो कुरा तपाईं भित्र रहेको ‘ज्ञानमीमांसा’ लाई सोध्नुभए थाहा पाउनुहुन्छ।
यसको अर्थ तर्कको कुनै मूल्य छैन भन्ने होइन। यसको अर्थ यति हो कि हामी मान्छेको जात पूर्ण रूपमा तार्किक प्राणी होइनौं। हामी प्रायः भावनात्मक हुन्छौं, सुविधाजनक अनुभूतिमा चल्छौं र त्यसपछि हाम्रा निर्णयलाई तार्किक व्याख्यान दिने अन्त्यहीन प्रयास गर्छौं।
सायद यही कारणले एउटै तथ्य दुई व्यक्तिका लागि दुई फरक सत्य बन्छ। एउटै राजनीतिक भाषण कसैलाई आश लाग्छ, कसैलाई ‘भल्नरेबल’। एउटै समाचार कसैका लागि प्रमाण हुन्छ, अर्काका लागि प्रचार। हामीले प्रायः स्वीकार्दैनौं, समस्या तथ्यमा मात्र हुँदैन; त्यसलाई पर्गेल्ने हाम्रो मानसिक प्रक्रियामा पनि हुन्छ। त्यसो त हाम्रो ब्रेनले ‘कन्फर्मेसन बायस्ड’ लाई हाम्रो सोचको ‘केन्द्रबिन्दु’ मान्ने गर्छ।
तपाईंले आफ्नो ख्याल गर्नुभएको छ ? धेरैजसो हामीले पहिलेका विश्वाससँग मेल खाने जानकारी सजिलै स्वीकार्छौं र आफूसँग रहेको पूर्वसञ्चित धारणालाई चुनौती दिने तथ्यलाई शङ्काको दृष्टिले हेर्छौं। हामी सबै यस्तो साझा प्रवृत्तिका हिस्सेदार छौं। त्यसैले पङ्क्तिकारलाई के लाग्छ भने- आलोचनात्मक चिन्तन भनेको आफ्नै निष्कर्षमाथि पनि शङ्का गर्न सक्ने मौलिक बौद्धिक साहस र प्रयास दुवै हो।
एल्गोरिदम, डिजिटल इकोचेम्बर र हाम्रो सोचको सङ्कटग्रस्त परिवेश
मानव इतिहासलाई सिंहावलोकन गरेर हेर्दै गर्दा मान्छेको सोचलाई स्वभावतः हाम्रो जीनले त प्रभाव पार्थ्यो नै; सँगै कहिले पारिवारिक संस्कारले बढी प्रभाव पार्ने गर्थ्यो, कहिले गुरुकुलले (विकासक्रमसँगै पछि विद्यालय), कहिले साथीभाइको बहुसङ्गतले त कहिले सामाजिक–सांस्कृतिक संरचनाले। तर हिजोआज हाम्रो सोचको ‘फ्रन्ट लाइन’ मा एउटा नयाँ शक्ति थपिएको छ, त्यो हो- ‘डिजिटल एल्गोरिदम’।
आज हामी के पढ्छौं, के हेर्छौं, कसलाई पछ्याउँछौं, कुन प्रकारका सनसनी बाइलाइनमा रोकिन्छौं र कुन विचारसँग सहमत हुन्छौं भन्ने कुरा धेरै हदसम्म हामीले आफैं बनाएको ‘डिजिटल व्यवहार’ ले निर्धारण गर्न थालेको छ। हामीले क्लिक गरेका कन्टेन्ट, हेरेका रिल्स, मन पराएका पोस्ट र गरेका खोजीका आधारमा एल्गोरिदमले हाम्रा लागि एउटा छुट्टै संसार निर्माण गर्छ। एल्गोरिदमले हामीलाई त्यही देखाउन थाल्छ, जसलाई हामी पहिलेदेखि नै खोजिरहेका हुन्छौं। अनि यही चक्र बारम्बार दोहोरिरहन्छ।
परिणामस्वरूप हाम्रो विश्वास झन् कठोर बन्छ, तर हाम्रो बुझाइ झन् ‘एक्स्ट्रिम’। यही नियमित प्रक्रियाबाट ‘डिजिटल इकोचेम्बर’ को सशक्त शृङ्खला निर्माण हुन्छ। अनि हामी कतैबाट नियन्त्रित हुन थाल्छौं तर नियन्त्रित भएको महसुस गर्दैनौं। नियन्त्रणको सबैभन्दा प्रभावकारी स्वरूप त्यो हो, जसको नियन्त्रणमा परेको व्यक्तिलाई आफू नियन्त्रित अवस्थितिको समीक्षा गर्ने न्यूनतम फुर्सद हुँदैन।
अन्त्यमा
पङ्क्तिकारको आंशिक निष्कर्ष छ- ‘हामी जसरी सोच्छौं, त्यसरी नै किन सोच्छौं ?’ भन्ने प्रश्न अब केवल न्युरोसाइन्स, ब्रेन इभोल्युसन वा मानव मनोविज्ञानको विषय मात्र नभएर, ‘डिजिटल स्फेयर’ र त्यसमा हाम्रो ‘वे अफ इन्भल्भमेन्ट’ को पनि प्रश्न हो।
तपाईं–हाम्रो सोच, यसको संरचना र यसले कसरी ‘फङ्सन’ गर्छ भन्ने कुरा गर्दै गर्दा : केही दिनअगाडि बाराको जितपुर सिमरामा ३ वर्षीया बालिकाको पोस्ट-रेप मर्डरको घटनाले नेपाल आफ्नै समाजको नैतिक कुरूपताको साक्षी बनेर एकपटक फेरि लज्जित भएको सन्दर्भको बारेमा त तपाईं आफैं जानिफकार हुनुहुन्छ।
सामाजिक सदस्यको आवरणमा किन कोही यति धेरै चेतनाभ्रष्ट र सोचच्युत हुन सक्छ होला ? अन्तिम प्रश्न पतनोन्मुख हाम्रो समग्र सामाजिक दयनीयतालाई। त्यो के भने- ‘नेपाली समाजको नैतिक सोचग्रन्थि र यसका आधारभूत औसत आयामहरू कहिलेदेखि कैफियतशून्य हुने होलान् ?’
प्रतिक्रिया 4