१८ कात्तिक, सुर्खेत । हिमाली जिल्ला डोल्पामा आउने आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षा र व्यवस्थापन सुधार गर्न पर्यटकको विवरण संकलन कार्यलाई विकेन्द्रीकरण गरिएको छ । यसअघि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका कर्मचारीले सुलिगाडमा मात्रै पर्यटकको विवरण संकलन गर्दै आएकोमा अब जुफाल विमानस्थलदेखि सदरमुकाम दुनै र जिल्लाका अन्य प्रवेश नाकाबाट समेत विवरण संकलनलाई व्यवस्थित बनाउन सुरु गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार डोल्पा आउने पर्यटकको आवागमनलाई व्यवस्थित र एकीकृत अभिलेखमा राख्न यस्तो पहल गरिएको हो । सुलिगाडमा निकुञ्जका कर्मचारीले पर्यटकको विवरण संकलन गर्दै आएका छन् भने जिल्लाका अन्य स्थानमा सुरक्षाकर्मीले विवरण संकलन गर्ने गरेका छन् ।
डोल्पा भित्रिने मुख्य नाका त्रिपुरासुन्दरी नगरपालिकास्थित खदाङमा रहेको प्रहरीले पनि पर्यटकको विवरण संकलन गरिरहेको छ । अब जुफाल विमानस्थल, सदरमुकाम दुनै र जिल्लाका अन्य प्रवेश नाकाबाट संकलन हुने विवरणलाई समेत व्यवस्थित बनाइने प्रजिअ हमालले बताइन् ।
यसअघि सुलिगाडमा मात्रै विवरण संकलन हुँदा शे–फोक्सुण्डो गाउँपालिका प्रवेश गर्ने पर्यटकको अभिलेख रहने गरेको थियो । तर काइके गाउँपालिका हुँदै डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिका जाने पर्यटकको विवरण संकलनमा समस्या हुँदै आएको थियो । जिल्लाका विभिन्न नाका र गन्तव्यमा पुग्ने पर्यटकको विवरण संकलनलाई विस्तार गर्दा वास्तविक पर्यटक संख्या पहिचान गर्न सहज हुने अपेक्षा गरिएको छ ।
‘डोल्पा आउने पर्यटकले दुःख पाउनु हुँदैन’
डोल्पा घुम्न आउने कुनै पनि पर्यटकले दुःख पाउनु नपरोस् भन्ने उद्देश्यले आफूहरू सचेत भएर काम गरिरहेको प्रमुख जिल्ला अधिकारी हमालले बताइन् । ट्राभल एजेन्सीमार्फत आउने पर्यटकसँगै आफ्नै योजनामा डोल्पा घुम्न आउने आन्तरिक पर्यटकलाई समेत ध्यानमा राखेर सुरक्षा र विवरण संकलनको व्यवस्था मिलाउन लागिएको उनको भनाइ छ ।
विशेषगरी निकुञ्ज क्षेत्रलगायत जिल्लाका अन्य पर्यटकीय गन्तव्य सुरक्षा संवेदनशीलताका हिसाबले महत्वपूर्ण रहेकाले त्यस्ता क्षेत्रमा विशेष ध्यान दिनुपर्ने अवस्था रहेको उनले बताइन् । उपल्लो डोल्पाका शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकाका कतिपय क्षेत्रमा पर्याप्त सञ्चार सम्पर्क नहुँदा पर्यटकको आवागमनबारे जानकारी लिन कठिन हुने गरेको छ । हिमाली भूगोल, प्रतिकूल मौसम र लामो दूरीका कारण निर्धारित समयमा पर्यटकको अवस्थाबारे जानकारी प्राप्त गर्न तथा आवश्यक सहयोग पुर्याउन चुनौती हुने गरेको हमालको भनाइ छ ।
चीनसँग सीमा जोडिएको मरिम नाकालगायतका क्षेत्रसमेत डोल्पामै पर्ने भएकाले पर्यटकको आवागमन, सुरक्षा र व्यवस्थापनलाई विशेष प्राथमिकता दिनुपर्ने अवस्था रहेको उनले बताइन् । दुर्गम तथा सीमावर्ती क्षेत्रमा जाने पर्यटकको विवरण राख्नु सुरक्षाका साथै आपत्कालीन अवस्थाको व्यवस्थापनका लागि पनि आवश्यक देखिएको छ ।
हिमपातमा पर्यटक फसेपछि सुरक्षा चासो
डोल्पाका विकट पर्यटकीय क्षेत्रमा प्रतिकूल मौसमका कारण पर्यटक अलपत्र पर्ने र सम्पर्कविहीन हुने घटना हुँदै आएका छन् । हालै हिमपातका कारण माथिल्लो डोल्पामा फसेका ६ जना भारतीय पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गर्नुपरेको थियो ।
सञ्चार सम्पर्क कमजोर र भौगोलिक विकटताका कारण उनीहरूको अवस्थाबारे जानकारी लिन तथा उद्धार गर्नसमेत कठिनाइ भएको थियो ।
पर्यटक कुन नाकाबाट जिल्लामा प्रवेश गरे, कुन गन्तव्यमा जाँदैछन् र कहिले फर्किने योजना छ भन्ने विवरण व्यवस्थित राख्न सके विपद्का बेला खोज तथा उद्धारमा सहज हुने विश्वासका साथ उनीहरुको विवरण राख्न लागिएको हो । विशेषगरी व्यक्तिगत रूपमा यात्रा गर्ने पर्यटकको समेत विवरण राख्न सके उनीहरूको अवस्थाबारे सम्बन्धित निकायलाई जानकारी लिन सजिलो हुने अपेक्षा गरिएको छ ।
रारा घुम्न गएका १२ पर्यटकको सेनाद्वारा उद्धार
यसैबीच रारा ताल घुम्न गएका १२ जना आन्तरिक पर्यटकलाई पनि नेपाली सेनाले सकुशल उद्धार गरेको छ । जुम्लाको चन्दननाथ नगरपालिका–२ भण्डारीबाडाका उनीहरू छायाँनाथ रारा नगरपालिका–८ स्थित चुच्चेमारा जंगलमा बाटो बिराएर अलपत्र परेका थिए ।
हनुमानध्वज गुल्म राराका गुल्मपति खड्गबहादुर श्रेष्ठका अनुसार सेनाको उद्धार टोलीले राति करिब १० बजे उनीहरूलाई फेला पारी सुरक्षित होटलमा पुर्याएको हो ।
स्थानीयले रारा जाने बाटोमा संकेत तथा सूचना बोर्ड र तालिमप्राप्त गाइडको व्यवस्था गर्नुपर्ने बताएका छन् ।
प्रतिक्रिया 4