+
+
Shares

लिफ्टमा यात्रु फसेपछि अन्नपूर्ण केबुलकार सेवा ठप्प

पर्यटकीय नगरी पोखरालाई सुरक्षित र भरपर्दो पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने प्रयास भइरहेका बेला यस घटनाले पोखराको पर्यटन छविमा समेत नकारात्मक असर पार्न सक्ने चिन्ता बढाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १८ गते १४:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा सराङकोटस्थित अन्नपूर्ण केबुलकारको लिफ्टमा प्राविधिक समस्या आएपछि सात यात्रु करिब एक घण्टा फसेका थिए ।
  • फस्नेमा एक फ्रान्सेली परिवार, तीन नेपाली र ५० लाख फलोअर्स भएका रुसी इन्फ्लुएन्सर थिए, जसलाई कर्मचारीले ढोका खोलेर निकालेर सकुशल तल झारेका थिए ।
  • घटनापछि मुख्य केबुलकार सेवा बन्द गर्दा सूर्यास्त अवलोकन गरेर फर्कने तयारीमा रहेका करिब २५ पर्यटक टप स्टेसनमै रोकिएका थिए ।

१८ कात्तिक, काठमाडौं । लिफ्टमा आएको प्राविधिक समस्याका कारण यात्रुहरू फसेपछि पोखरा सराङकोटस्थित अन्नपूर्ण केबुलकार सेवा मंगलबार साँझ करिब एक घण्टासम्म अवरुद्ध भएको छ ।

मंगलबार (नोभेम्बर ३) साँझ करिब साढे ५ देखि साढे ६ बजेको बीचमा सराङकोटबाट सूर्यास्तको मनमोहक दृश्यावलोकन गरेर फर्कने तयारीमा रहेका पर्यटक उक्त घटनामा परेका हुन् ।

केबुलकारको अन्तिम समूहमा चढेर तालको किनारस्थित बटम स्टेसनतर्फ झर्ने तयारीमा रहेका सात यात्रु स्टेसनभित्र रहेको लिफ्टमा फसेका थिए ।

लिफ्टमा फस्नेमा एक फ्रान्सेली परिवार, तीन जना नेपाली तथा सामाजिक सञ्जालमा ५० लाख फलोअर्स भएका एक रुसी इन्फ्लुएन्सर समेत थिए ।

लिफ्टभित्र फसेपछि याक्रुको अवस्था त्रमशः असहज बन्दै गएको थियो । लिफ्टमा पंखा तथा वातानुकूलित प्रणाली नभएका कारण भित्रको वातावरण तातो र उकुसमुकुसपूर्ण बनेको थियो । त्यसमाथि बत्ती पटक–पटक बल्ने र निभ्ने गर्दा यात्रु अन्धकारमा परेका थिए । पर्याप्त हावा नपाउँदा उनीहरूलाई सास फेर्न कठिनाइ हुनुका साथै त्रास र मानसिक तनाव समेत बढेको थियो ।

उद्धार व्यवस्थापनले केबुलकार सञ्चालनमा आपत्कालीन अवस्थाको सामना गर्ने तयारी र प्राविधिक क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ । आपत्कालीन अवस्थामा प्राविधिक विज्ञ तत्काल परिचालन हुनुपर्नेमा स्थानीय कर्मचारीले सामान्य औजार प्रयोग गरी लिफ्टको ढोका खोल्ने प्रयास गरेको र प्राविधिकहरूसँग ह्वाट्सएप मार्फत सम्पर्क गरी चरणबद्ध निर्देशन मागेको देखिएको थियो ।

लिफ्टमा यात्रु फसेपछि थप जोखिम हुन नदिन व्यवस्थापनले मुख्य केबुलकार सेवा नै पूर्णरूपमा बन्द गर्नुपरेको थियो । यसका कारण सूर्यास्त अवलोकन गरेर फर्कने तयारीमा रहेका करिब २५ अन्य पर्यटक समेत सराङकोटस्थित टप स्टेसनमै रोकिएका थिए ।

अन्ततः कर्मचारीले लिफ्टको ढोका जबर्जस्ती खोलेर यात्रु बाहिर निकालेपछि उद्धार कार्य सम्पन्न भएको थियो । त्यसपछि लिफ्टमा फसेका सातै जना यात्रु तथा टप स्टेसनमा रोकिएका अन्य पर्यटकलाई सकुशल तल झारिएको थियो । त्यसलगत्तै केबुलकारको नियमित सेवा पुनः सञ्चालनमा आएको थियो ।

घटनामा मानवीय क्षति नभए पनि यसले केबुलकारको सुरक्षा व्यवस्था, आपत्कालीन उद्धार क्षमता र प्राविधिक तयारीमाथि गम्भीर प्रश्न खडा गरेको छ ।

पर्यटकीय नगरी पोखरालाई सुरक्षित र भरपर्दो पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने प्रयास भइरहेका बेला यस घटनाले पोखराको पर्यटन छविमा समेत नकारात्मक असर पार्न सक्ने चिन्ता बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?