+
+
Shares

पर्यटन मेलामा भाग लिन पर्यटनमन्त्री पुगे लन्डन

डब्लूटीएम लन्डनमा नेपालले यस वर्ष दिगो तथा जिम्मेवार पर्यटन, हिमाली साहसिक गतिविधि, सांस्कृतिक सम्पदा, आध्यात्मिक अनुभव र वेलनेस पर्यटनलाई प्राथमिकताका साथ प्रस्तुत गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १८ गते १५:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल लन्डनमा जारी वर्ल्ड ट्राभल मार्केटमा सहभागी हुन पुगेका छन् ।
  • मन्त्री पौडेलले भारत, यूएई र श्रीलंकाका पर्यटनसम्बन्धी उच्च पदाधिकारी तथा सुधा मूर्तिसँग पर्यटन सहकार्य, हवाई सम्पर्क र लगानीबारे छलफल गरेका छन् ।
  • नेपालले डब्लूटीएम लन्डनमा दिगो पर्यटन, हिमाली साहसिक गतिविधि, सांस्कृतिक सम्पदा र सन् २०२७ को वेलनेस पर्यटन वर्षलाई प्राथमिकताका साथ प्रस्तुत गरेको छ ।

१८ कात्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ पर्यटन मेलामा भाग लिन लन्डन पुगेका छन् ।

उनी ‘वर्ल्ड ट्राभल मार्केट’ (डब्लूटीएम) मा भाग लिन लन्डन पुगेका हुन् । बेलायतको राजधानी लन्डनमा नोभेम्बर ३ देखि ५ सम्म मेला चलिरहेको छ ।

मेलाका अवसरमा मन्त्री पौडेलले भारतका संस्कृति तथा पर्यटनमन्त्री गजेन्द्रसिंह शेखावत, युनाइटेड अरब इमिरेट्स (यूएई) का अर्थ तथा पर्यटनमन्त्री अब्दुल्लाह बिन तुक अल मारी, श्रीलंकाका सहायक पर्यटनमन्त्री प्रा. रुवन रणतुङ्गे तथा भारतको राज्यसभा सदस्य, प्रख्यात लेखिका एवं समाजसेवी सुधा मूर्तिसँग भेट गरेको मन्त्रालयले जनाएको छ ।

भेटमा नेपाल र सम्बन्धित मुलुकबीच द्विपक्षीय पर्यटन सहकार्य सुदृढ गर्ने, हवाई सम्पर्क विस्तार गर्ने, पर्यटक आवागमन बढाउने, सांस्कृतिक आदान–प्रदान प्रवर्द्धन गर्ने तथा पर्यटन क्षेत्रमा लगानी र निजी क्षेत्रबीचको सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको बताइएको छ ।

भेटमा मन्त्री पौडेलले नेपालको पर्यटन क्षेत्र अन्तर्राष्ट्रिय साझेदारी, लगानी र सहकार्यका लागि ठूलो सम्भावना बोकेको उल्लेख गर्दै पर्यटनलाई आर्थिक समृद्धि, रोजगारी सिर्जना र सांस्कृतिक सम्बन्ध विस्तारको महत्त्वपूर्ण माध्यमका रूपमा अघि बढाउनुपर्ने धारणा राखेका थिए ।

भेटमा नेपालको मौलिक सांस्कृतिक सम्पदा, हिमाली भूगोल, प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन, आध्यात्मिक तथा वेलनेस पर्यटनका विशिष्ट अनुभवलाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने विषयमा समेत छलफल भएको छ ।

डब्लूटीएम लन्डनमा नेपालले यस वर्ष दिगो तथा जिम्मेवार पर्यटन, हिमाली साहसिक गतिविधि, सांस्कृतिक सम्पदा, आध्यात्मिक अनुभव र वेलनेस पर्यटनलाई प्राथमिकताका साथ प्रस्तुत गरेको छ ।

सन् २०२७ लाई नेपाल वेलनेस पर्यटन वर्षका रूपमा प्रवर्द्धन गर्ने तयारीसँगै योग, ध्यान, आध्यात्मिकता, मानसिक शान्ति र प्राकृतिक उपचारमा आधारित पर्यटन अनुभवलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने नेपालको प्रयासलाई समेत मेलामा विशेष रूपमा जोड दिइएको छ ।

मेलामा ३२ नेपाली पर्यटन कम्पनीले स्टल नम्बर एन८–५३० बाट नेपालको पर्यटन सेवा, गन्तव्य र पर्यटकीय उत्पादनको प्रवर्द्धन गरिरहेका छन् । विश्वका प्रमुख पर्यटन व्यवसायी, अन्तर्राष्ट्रिय ट्राभल बायर, सञ्चारमाध्यम तथा पर्यटन सेवा प्रदायक सहभागी हुने डब्ल्यूटीएमलाई नेपालले नयाँ बजार खोज्ने, व्यावसायिक साझेदारी विस्तार गर्ने र अन्तर्राष्ट्रिय पर्यटन सञ्जालसँग सम्बन्ध स्थापित गर्ने महत्वपूर्ण अवसरका रूपमा उपयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?