+
+
Shares

प्रहरीको ३४औं आईजीपी बनेका मनोज केसी को हुन् ?

दानबहादुर कार्कीलाई हटाएर दोस्रो नम्बरका एआईजी राजन अधिकारीलाई समेत नदिई सरकारले तेस्रो नम्बरका केसीलाई आईजीपी बनाएको हो ।

नारायण अधिकारी नारायण अधिकारी
२०८३ कात्तिक १८ गते १५:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्रिपरिषद्ले एआईजी डा. मनोज केसीलाई नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक नियुक्त गरेको छ।
  • सरकारले हालका आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरेको छ।
  • केसीले नक्कली भुटानी शरणार्थी, फेक रेस्क्यु, स्मार्ट टेलिकम, धितोपत्र तथा बिमा ठगीलगायतका अनुसन्धानको नेतृत्व गरेका थिए।

१८ कात्तिक, काठमाडौं । सरकारले दानबहादुर कार्कीलाई जिम्मेवारी मुक्त गरेपछि एआईजी डा. मनोज केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक बनेका छन् ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रहरीको अपराध अनुसन्धान विभागको प्रमुखमा रहेका एआईजी मनोज केसीलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

२७ चैत २०८४ सम्म कार्यकाल रहेका आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहाकारमा सरुवा गर्दै केसीलाई सरकारले आईजीपी बनाउने निर्णय गरेको छ ।

अझै करिब डेढ वर्ष सेवा अवधि रहेका कार्कीलाई हटाएर केसीलाई आईजीपी बनाउने सरकारले निर्णय गरेको हो ।

यसअघि सरकारले २०५३ सालमा अच्युत कृष्ण खरेललाई पनि आईजीपीबाट हटाएर राष्ट्रिय अनुसन्धान विभागमा सरुवा गरेको थियो । तर उनी त्यहाँ हाजिर नै हुन गएनन् । दरबन्दी नै नभएको ठाउँमा सरुवा गरेको भन्दै उनी सर्वोच्च अदालत गएका थिए ।

उनलाई हटाएर सरकारले ध्रुवबहादुर प्रधानलाई आईजी बनाएको थियो । सर्वोच्चबाट मुद्दा जितेपछि खरेल पुन आईजीपी भए । त्यसपछि सरकारले प्रधानलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहाकारमा सरुवा गरेको थियो ।

उनले सुरक्षा सल्लाहाकारमा बसेर काम गरेका थिए । रमेश चन्द ठकुरीलाई पनि सरकारले सुरक्षा सल्लाहाकारमा सरुवा गरेको थियो । त्यतिबेला सुडान घोटाला काण्डमा मुछिएको भन्दै सरकारले उनलाई सुरक्षा सल्लाकारमा सरुवा गरेको थियो । अनि उनको ठाउँमा रवीन्द्र प्रताप शाहलाई आईजीपी बनाइएको थियो ।

अहिले आईजीपी नियुक्त भएका केसी पनि डेढ वर्षअघि नै हटाइएका दानबहादुर कार्कीकै ब्याची हुन् । उनीहरु दुबै जना २८ चैत २०५४ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा भर्ना भएका थिए ।

२६ मंसिर २०६६ मा उनी डीएसपीमा बढुवा भए । १९ साउन २०७४ मा केसी एसपीमा बढुवा भएका थिए ।

३ साउन २०७९ मा एसएसपीमा बढुवा भए । १३ जेठ २०८१ मा डीआईजीमा बढुवा भएका थिए भने ११ वैशाख २०८२ मा एआईजीमा बढुवा भएका थिए ।

एआईजीमा बढुवा हुँदा उनी तेस्रो नम्बरमा थिए । पहिलो नम्बरमा अहिले सुरक्षा सल्लाहाकारमा सरुवा गरिएका कार्की दोस्रो नम्बरमा राजन अधिकारी थिए । तेस्रो नम्बरमा केसी थिए ।

कार्कीलाई प्रधानमन्त्रीको विशेष सल्लाहकार पदमा राख्दै दोस्रो नम्बरका अधिकारीलाई समेत पछि पार्दै सरकारले केसीलाई आईजीपी बनाएको हो ।

केसी अपराध अनुसन्धान कार्यालयको प्रमुख रहेका बेला केसीकै अगुवाईमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणको अनुसन्धान गरेका थिए ।

यो घटनाको अनुसन्धानपछि केसीको चर्चा भएको थियो । संयोग यस्तो थियो भुटानी प्रकरणको अनुसन्धानको सुत्राधार केसी थिए भने यसको मुद्दाको फाँट भने अहिले आईजीपीबाट हटाइएका कार्कीले गरेका थिए ।

डा. केसीले कम्बोडियाको पन्नासत्र विश्वविद्यालयबाट द्धन्द्ध रुपान्तरण विषयमा विद्यावारिधी गरेका छन् ।

केसीले पन्नासत्र विश्वविद्यालयबाटै व्यवहारिक द्धन्द्ध रुपान्तरण अध्ययनमा एमएम, त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा एमए र टियुबाटै जनप्रशासनमा स्नातकोत्तकर गरेका छन् ।

नेपाल प्रहरीमा पहिलो पटक लागु भएको स्टाफ कलेजका संस्थापक निर्देशक समेत हुन् केसी । उनी प्रहरी एकेडेमीमा हुँदा प्रहरी विज्ञानमा स्नातकोत्तरको पाठ्यक्रम निर्माण गरेका थिए ।

उनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), अपराध अनुसन्धान विभाग, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी कार्यालय रुपन्देही लगायत विभिन्न जिल्लाहरूको समेत कमाण्ड गरेका छन् ।

सीआईबीमा कार्यरत रहनुअघि केसी हेडक्वार्टरमै रहेको प्रदेश समन्वय विभागमा कार्यरत थिए । डीआईजी हुँदा भने विशेष ब्यूरो र प्रहरी एकेडेमीमा बसेर काम गरेको अनुभव उनीसँग छ ।

एसएसपी हुँदा अपराध अनुसन्धान कार्यालयपछि उनलाई हेडक्वार्टरस्थित महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयमा सरुवा गरिएको थियो ।

उनले सीआईबीमा रहँदा भने पर्यटकीय क्षेत्रमा हुन फेक रेस्क्यु अर्थात् नक्कली हवाई उद्धार ठगी, स्मार्ट टेलिकममा भएको ठगी, धितोपत्र तथा बिमा ठगी, क्रिप्टोकरेन्सी अपराध, र सरकारी जग्गा अतिक्रमण तथा हिनामिना जस्ता विषयहरूको अनुसन्धान नेतृत्व गरेका थिए ।

उनले युएन मिसनमा खटिएर काम गरेको पनि अनुभव छ । युएनको कोसोभो मिसन, हैटी मिसनमा सुरक्षा अधिकृतमा रुपमा खटिएर काम गरेका छन् । केसी फ्रान्सेली र स्पेनी भाषामा पनि दख्खल राख्छन् ।

उनले इन्हान्सिङ पुसिङ नेपाल र आइडिन्टी इफेक्टिभ मेजर्स टु कम्ब्याट अर्गनाइज्ड क्राइम इन पोस्ट कन्फिल्ट काठमाडौं गरी दुई वटा पुस्तक समेत लेखेका छन् ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?