News Summary
Generated by OK AI. Editorially reviewed.- सांसद साजिदा खातुन सिद्धिकीले संसदीय समितिमार्फत प्रधानमन्त्री बालेन शाहलाई देशको अवस्थाबारे चिन्ता जनाउँदै पत्र लेखिन्।
- उनले सामाजिक सञ्जालका अभिव्यक्ति र आश्वासनले देश सञ्चालन नहुने भन्दै जिम्मेवार नेतृत्व, स्पष्ट कार्ययोजना र सही निर्णय आवश्यक रहेको भनिन्।
- सिद्धिकीले सरकारको पहिलो प्राथमिकता नागरिक सुरक्षा, शान्ति–सुशासन, रोजगारी, आर्थिक स्थायित्व र संविधानको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताइन्।
१८ कात्तिक, काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले संसदीय समितिमार्फत प्रधानमन्त्री बालेन शाहलाई पत्र लेखेकी छन् ।
प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले उक्त पत्र पढेर सुनाइन् । ‘प्रधानमन्त्रीज्यू, आज म देश र जनताको भविष्यप्रति चिन्ता व्यक्त गर्दै तपाईंलाई एउटा हार्दिक अनुरोध गर्न चाहन्छु,’ उनले भनिन्, ‘देश सञ्चालन सामाजिक सञ्जालका अभिव्यक्ति र आश्वासनले मात्र सम्भव हुँदैन । यसका लागि जिम्मेवार नेतृत्व, स्पष्ट कार्ययोजना, दूरदर्शी सोच र समयमा लिइने सही निर्णय आवश्यक हुन्छ ।’
पछिल्लो समय देशको समग्र अवस्थालाई हेर्दा विभिन्न क्षेत्रमा अन्योल, अस्थिरता र अनिश्चितताको अनुभूति गरिरहेको भन्दै उनले थपिन्, ‘आम नागरिकमा बढ्दै गएको चिन्ता र असुरक्षाको भावनालाई सामान्य रूपमा लिनु हुँदैन ।’
देशलाई थप अन्योल र जोखिमतर्फ जान नदिन समयमै सचेत हुनु आवश्यक रहेको भन्दै उनले सरकारको पहिलो प्राथमिकता नागरिकको सुरक्षा, शान्ति–सुशासन, रोजगारी, आर्थिक स्थायित्व र संविधानको प्रभावकारी कार्यान्वयनमा हुनुपर्ने बताइन् ।
‘म सम्माननीय प्रधानमन्त्री ज्यूलाई आग्रह गर्न चाहन्छु— कृपया वर्तमान परिस्थितिलाई गम्भीरतापूर्वक लिनुहोस्; राजनीतिक अभिव्यक्तिभन्दा कामलाई प्राथमिकतामा दिनुहोस्,’ उनले भनेकी छिन्, ‘निकायलाई जिम्मेवार बनाउनुहोस् र जनतामा विश्वास जगाउने ठोस कदम चाल्नुहोस्। सरकारलाई सचेत गराउनु विरोध होइन, देशप्रतिको जिम्मेवारी हो। आजको समय आरोप–प्रत्यारोपमा बिताउने होइन, सम्भावित संकटबाट देशलाई जोगाउने समय हो ।’
सबैको साझा चाहना एउटै भएको उल्लेख उनले थप भनिन्, ‘देशमा शान्ति होस्, जनता सुरक्षित रहुन् र राष्ट्र सही दिशामा अगाडि बढोस् । हामी सबैको साझा चाहना एउटै हो— देशमा शान्ति होस् र हामीले परिकल्पना गरेका आवाजहरू अगाडि बढुन् । देश र जनताको हितलाई सर्वोपरि राख्दै गम्भीरतापूर्वक अघि बढ्न प्रधानमन्त्रीज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु, धन्यवाद ।’
प्रतिक्रिया 4