१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पछिल्लो समय पत्रकारहरू असुरक्षित भइरहेको भन्दै सञ्चारकर्मीको सुरक्षामाथि प्रश्न उठाएका छन् ।
पत्रकारहरूले प्रतिपक्षी दलको कार्यालयमा पुगेर प्रश्न गरिरहँदा उनीहरूको हातमा कालोपट्टी देखिने अपेक्षा गरेको बताउँदै शर्माले पत्रकारहरू आफैँ सुरक्षित छन् कि छैनन् भनेर प्रश्न गरेका छन् ।
‘प्रतिपक्षीकै कार्यालयमा गएर नै सही, बुम अगाडि तेस्र्याउँदै गर्दा पत्रकार साथीहरूको हातमा कहीँ न कहीँ कालोपट्टी होला भन्ने मलाई अनुमान लागेको थियो,’ शर्माले सानेपामा आयोजित पत्रकार सम्मेलनमा भने ।
पत्रकारहरू आफ्नो विमति खरो रूपमा राखिरहेको अपेक्षा गरेको उल्लेख गर्दै उनले प्रतिपक्षी दलको कार्यालयदेखि सिंहदरबार र बालुवाटारसम्म पुगेर प्रधानमन्त्रीकै अगाडि पनि पत्रकारहरूले आफ्ना असहमति र असन्तुष्टि अभिव्यक्त गर्न सक्नुपर्ने बताए ।
‘मैले तपाईंहरू कसैको हातमा कालोपट्टी देखिनँ । त्यसैले तपाईंहरूलाई सोध्न चाहन्छु, सबैभन्दा पहिले– तपाईंहरू सबै सुरक्षित हुनुहुन्छ ?’ उपसभापति शर्माले पत्रकारहरूलाई प्रश्न गरे ।
प्रतिक्रिया 4