१८ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ठूलो आशा र विश्वासका साथ मतदाताले दिएको मतलाई सरकारले सही ढंगले प्रयोग नगरेको आरोप लगाएको छ ।
वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बुधबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा सरकारले मतदाताका मतलाई सही ढंगले प्रयोग नगरेको आरोप लगाएका हुन् ।
‘यो देशका मतदाताले त्यत्रो ठूलो आशा र विश्वास गरेर दिएको मतलाई सही ढंगले अहिलेको सरकारले प्रयोग गरिरहेको छैन,’ उनले भने ।
वरिष्ठ उपसभापति शर्माले कांग्रेस मतदाताको मतको सम्मन गर्दै सरकारले ५ वर्ष निर्वाध ढंगले काम गर्न पाउनुपर्ने पक्षमा रहेको बताए ।
‘हामी मतदाताले दिएको प्रत्येक मतलाई सम्मान गर्छौं र यो सरकारले पूरा ५ वर्ष निर्वाध ढंगले काम गर्न पाउनुपर्छ भन्ने पक्षमा छौं,’ उनले भने ।
कांग्रेस पूरै ५ वर्ष सत्तातिर नजर लगाउनुहुन्न भन्ने कुरामा स्पष्ट रहेको पनि सरकारको प्राथमिकता अरु नै रहेको टिप्पणी गरे ।
‘हामीले पूरै ५ वर्ष सत्तातिर नजर लगाउनुहुन्न भन्ने कुरामा स्पष्ट छौं । तर, सरकारको प्राथमिकता कहाँ छ ?,’ प्रश्न गर्दै उनले भने, ‘सरकार र पार्टीबीचको तथ्य के हो, म त्यसमा जान चाहन्न ।’
शर्माले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की हटाइएको विषयमा आएको सरकारका प्रवक्ता र रास्वपाका प्रवक्ताको फरक फरक अभिव्यक्तिप्रति आपत्ति जनाए ।
‘सरकारको प्रवक्ता के भन्नुहुन्छ– पार्टीको निर्देशनमा हटाइयो । एक घण्टा नभइकन पार्टीको प्रवक्ता प्रवक्ता के भन्नुहुन्छ– हाम्रो निर्देशन गएको छैन,’ उनले भने, ‘लेख्नुस् सिंहदरबारमा रमिता चलिरहेको छ । लेख्नुस् बालुवाटारमा रमिता चलिरहेको छ ।’
प्रतिक्रिया 4