+
+
Shares

वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई त्रिभुवन विमानस्थलमा विश्राम कक्ष

वैदेशिक रोजगार बोर्डको १८औं स्थापना दिवस अवसर पारेर बुधबारदेखि उक्त प्रतीक्षालय तथा विश्राम कक्ष सञ्चालनमा ल्याइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १८ गते १९:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वैदेशिक रोजगार बोर्डको १८औं स्थापना दिवसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आप्रवासी श्रमिक परिवार प्रतीक्षालय तथा विश्राम कक्ष सञ्चालनमा आएको छ ।
  • बोर्डले वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई शव स्वदेश ल्याउने प्रक्रियामा विमानस्थलमा प्रतीक्षा सहज बनाउन यो सेवा शुरू गरेको हो ।
  • कार्यकारी निर्देशक निर्मलकुमार उप्रेतीले श्रमिकको हित, सुरक्षा र कल्याणका लागि बोर्डले कार्यलाई थप प्रभावकारी बनाउने बताए ।

१८ काक्तिक, काठमाडौं । वैदेशिक रोजगारी त्रममा ज्यान गुमाएका नेपाली श्रमिकका परिवार तथा आफन्तको पर्खाइ सहज बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आप्रवासी श्रमिक परिवार प्रतीक्षालय तथा विश्राम कक्ष सञ्चालनमा ल्याइएको छ ।

वैदेशिक रोजगार बोर्डको १८औं स्थापना दिवस अवसर पारेर बुधबारदेखि उक्त प्रतीक्षालय तथा विश्राम कक्ष सञ्चालनमा ल्याइएको हो ।

वैदेशिक रोजगार बोर्ड कार्यकारी निर्देशक निर्मलकुमार उप्रेतीले वैदेशिक रोजगारी क्रममा जीवन गुमाउने नेपाली श्रमिकका परिवार तथा आफन्तको पर्खाइ सहज बनाउने उद्देश्यले सेवा सुरु गरिएको जानकारी दिए ।

‘वैदेशिक रोजगारका क्रममा जीवन गुमाउने नेपाली श्रमिकका परिवार तथा आफन्तको पर्खाइ थोरै भए पनि सहज होस् भन्ने उद्देश्यसाथ यो सेवा सुरु गरेका हौं,’ उप्रेतीले भने ।

वैदेशिक रोजगारी क्रममा ज्यान गुमाएका श्रमिकको शव स्वदेश ल्याउने प्रक्रियामा परिवार तथा आफन्तले विमानस्थलमा लामो समय प्रतीक्षा गर्नुपर्ने अवस्था रहँदै आएको छ ।

यस्तो अवस्थामा उनीहरूलाई बस्न तथा विश्राम गर्न सहज होस् भन्ने उद्देश्यले प्रतीक्षालय स्थापना गरिएको बोर्डले जनाएको छ ।

बोर्डले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । विदेशमा नेपाली श्रमिक अंगभंग हुने तथा ज्यान गुमाउने अवस्था आउन नदिन सचेतनामूलक कार्यक्रम सञ्चालन, पूर्वप्रस्थान अभिमुखीकरण तालिम व्यवस्थित तथा प्रभावकारी बनाउने र डिजिटल सामग्री श्रमिक तथा समुदायस्तरसम्म पुर्‍याउने काम भइरहेको उप्रेतीले बताए ।

१८ वटा उद्देश्य राखेर स्थापना भएको बोर्डले नयाँ तथा फलदायी श्रम गन्तव्यको पहिचान गर्ने र गन्तव्य मुलुकसँग गरिने श्रम सम्झौतामा श्रमिकको हित तथा सामाजिक सुरक्षाका विषय समेट्न आवश्यक समन्वय र सहकार्य गर्दै आएको छ ।

त्यस्तै वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको पुनः एकीकरणमा सहयोग पुर्‍याउने, सिपमूलक तालिम सञ्चालन गर्ने तथा सिप प्रमाणीकरणमा सहायता गर्ने कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक काम अघि बढाइएको बोर्डले जनाएको छ ।

वैदेशिक रोजगार बोर्ड स्थापना दिवस अवसरमा कार्यकारी निर्देशक उप्रेतीले श्रमिकको हित, सुरक्षा र कल्याणका लागि बोर्डले आफ्नो कार्यलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?