१९ कात्तिक, काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले रिपब्लिकन पार्टीको हारको सम्पूर्ण दोष इरान युद्धलाई दिएका छन्।
सामाजिक सञ्जाल ‘एक्स’ मा एक वक्तव्य जारी गर्दै उनले यस्तो बताएका हुन् ।
भान्सले लेखेका छन्, ‘हामी हार्नुको एउटै कारण युद्ध हो। राष्ट्रपति आफैँले पनि यो कुरा भनिसक्नुभएको छ। यदि कसैले आगामी ६ वर्षका लागि सिनेट गुमाउनु यो युद्धका लागि उपयुक्त थियो भनेर तर्क गर्छ भने गरोस्, तर हामी किन हार्यौँ भन्ने कुरा सबैलाई थाहा छ।’
भान्सले नेतान्याहु प्रशासनले इरानका विषयमा सबै कुरा गलत आकलन गरेको आरोप लगाउँदै इजरायलसँगको सम्बन्ध रिपब्लिकनहरूका लागि राजनीतिक बोझ बनेको दाबी गरेका छन्।
पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भान्सको विश्लेषण ‘धेरै हदसम्म सत्य’ भएको स्वीकार गरे पनि युद्ध आवश्यक रहेको अडान दोहोर्याए।
ट्रम्पले भने, ‘हामीसँग अरू कुनै विकल्प थिएन। इरानलाई परमाणु हतियार बनाउन दिन सकिँदैनथ्यो। म युद्ध जुनसुकै बेला अन्त्य गर्न सक्छु, तर यो सही तरिकाले हुनुपर्छ।’
चुनावी परिणामपछि इरानले यसलाई ट्रम्पको राजनीतिक पराजयका रूपमा उत्सव मनाइरहँदा ट्रम्पका निकटस्थ सल्लाहकारहरू भने उनको भावी कदमलाई लिएर अन्योलमा परेका छन्।
इरानको जितको दाबी र कूटनीतिक जोखिम
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले ट्रम्पको चुनावी हारलाई इरानको रणनीतिक र राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्।
रेजाईले एक्समा लेखेका छन्,’इरानी जनताले ट्रम्पलाई युद्धको मैदानमा, हर्मुजमा र वासिङ्टनमा राजनीतिक रूपमै रणनीतिक पराजय चखाएका छन्।’
‘इन्टरनेसनल क्राइसिस ग्रुप’ का मध्यपूर्व उप-निर्देशक अली वाएजका अनुसार, तेहरानले ट्रम्पको राजनीतिक कमजोरीलाई सैन्य कमजोरी ठानेर उत्साह देखाएमा त्यसले ट्रम्पलाई पुनः युद्धतर्फ धकेल्न सक्छ।
यसैबिच, कतारी मध्यस्थकर्ताहरूले अमेरिका र इरानबिच सम्झौताको खाका तयार पार्न प्रयास गरिरहेका छन् भने अमेरिकी सेनाले इरानमा पुनः ठूलो सैन्य कारबाही सुरु गर्नका लागि आफ्ना अन्तिम तयारीहरू पूरा गरिरहेको अधिकारीहरूले जनाएका छन्।
प्रतिक्रिया 4