२३ कात्तिक, नयाँ दिल्ली । दिवालीको राति भारतका विभिन्न सहरमा पटाका र अन्य कारणले भएको आगलागीमा परी २३ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते र केही बेपत्ता भएका छन्।
भारतीय सञ्चार माध्यमहरूका अनुसार, सबैभन्दा धेरै मानवीय क्षति मध्य प्रदेशमा भएको छ, जहाँ तीन छुट्टाछुट्टै घरमा आगलागी हुँदा १३ जनाले ज्यान गुमाएका छन्।
त्यस्तै, महाराष्ट्रको धाराशिव जिल्लास्थित एक घरमा बसोबास गर्ने एउटै परिवारका ६ जनाको मृत्यु भएको छ। मुम्बईको लोखण्डवालामा भएको अर्को आगलागीको घटनामा पनि एक जनाले ज्यान गुमाएका छन्।
यसका साथै, राजस्थानको पालीस्थित पटाका पसलमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता छन्।
उक्त दुर्घटनामा तीनवटा पसल र कैयौँ दुईपाङ्ग्रे सवारीसाधन जलेर नष्ट भएका छन्। उता, दिल्लीको नरेलामा रकेट पटाका पेटमा लाग्दा १० वर्षीय बालकको मृत्यु भएको छ।
मध्य प्रदेशको कटनी जिल्लामा घरमा आगलागी हुँदा एउटै परिवारका ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ महिनाको शिशुसहित ३ जना बालबालिका समेत छन्।
त्यस्तै, मध्य प्रदेशकै सिवनी जिल्लामा एक सुनचाँदी व्यवसायीको घर र पसल जलेर खरानी हुँदा १६ वर्षीय किशोरसहित ६ जनाले ज्यान गुमाएका छन्। मध्य प्रदेशका घटनामा मृत्यु हुनेमा ५ महिला, ३ पुरुष र ४ बालबालिका रहेका छन्।
उत्तर प्रदेशको बान्दामा एउटा कबाडी पसलमा आगलागी हुँदा करिब २० देखि २५ लाख भारु बराबरको क्षति भएको छ। महाराष्ट्रको पुणेमा दिवालीको राति आगलागीका ६३ वटा घटना भए पनि त्यहाँ कुनै मानवीय क्षति भएको खबर छैन।
पुणेको वडगाउँ शेरीस्थित एक अपार्टमेन्टमा आगो लागेपछि दमकल टोली घटनास्थल पुगेको थियो।
उता, जम्मूको नेहरू मार्केटस्थित गोदाम र बजारमा आगो लाग्दा १२ भन्दा बढी पसल जलेका छन् भने नागपुरमा टीभीएस सोरुममा आगलागी हुँदा कैयौँ दुईपाङ्ग्रे सवारीसाधन जलेर नष्ट भएका छन्।
मुम्बईको डोंगरी क्षेत्रमा आगलागी हुँदा कैयौँ पसल र सुकुम्बासी बस्ती जलेका छन्। दादरको कामगार रंगशालामा लागेको आगोलाई भने अग्निनियन्त्रकहरूले १७ मिनेटमै नियन्त्रणमा लिएका थिए। महाराष्ट्रकै ठाणेमा रहेको १७ तले भवनमा पनि आगलागी भएको छ, तर त्यहाँ कोही घाइते भएको खबर छैन।
यसबाहेक असमको जोनाईस्थित सिमेन चापोरी व्यावसायिक क्षेत्र, मुम्बईको विद्याविहार, सिक्किमको गान्तोकस्थित सरकारी भवन र गाजियाबादको क्रसिङ रिपब्लिक क्षेत्रमा पनि आगलागीका घटनाहरू भएका छन्। यी घटनालगत्तै दमकल विभाग र प्रहरीका टोलीहरू राहत तथा उद्धार कार्यमा खटिएका थिए।
(भारतीय सञ्चार माध्यमहरूको सहयोगमा)
प्रतिक्रिया 4