२३ कात्तिक, काठमाडौं । गत साउन, भदौ र असोज महिनामा १७५ जना विदेशी नागरिक नेपालबाट निष्कासनमा परेका छन् ।
के कस्ता कारणले निष्कासनमा परेका हुन् भन्ने विषयमा सरकारले विस्तृत केही भनेको छैन ।
गृहमन्त्रालयले पछिल्लो तीन महिनाको त्रैमासिक प्रगति विवरण हालै सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार साउन महिनामा ५२, भदौ महिनामा ५९ र असोज महिनामा ६४ जना विदेशी नागरिक निष्कासनमा परेका हुन् ।
गृहमन्त्रालयको सीमा तथा अध्यागमन शाखाले गरेको कामअन्तर्गत यो तथ्यांक समावेश छ ।
सबै सरकारी कार्यालयहरूले आफ्नो त्रैमासिक प्रगति विवरण सार्वजनिक गर्नुपर्छ । सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र सूचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम ३ बमोजिम त्रैमासिक प्रगति विवरण स्वतः प्रकाशन गर्नुपर्ने हुन्छ ।
उपदफा ३ मा लेखिएको छ, ‘सार्वजनिक निकायले उपदफा (२) बमोजिमको सूचना आफ्नो स्थापना र विकास भएको समयलाई विचार गरी कम्तीमा प्रत्येक तीन महिनामा अद्यावधिक गरी प्रकाशन गर्नु पर्नेछ ।’
सरकारी निकायका कामकारबाहीलाई पारदर्शी, जवाफदेही र खुला बनाउने ऐनको उद्देश्य अन्तर्गत गृह मन्त्रालयले पनि पछिल्लो तीन महिनाको प्रगति विवरण सार्वजनिक गरेको हो ।

प्रतिक्रिया 4