News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतको निर्देशनपछि चितवन हात्ती महोत्सवमा हात्ती प्रयोग गरेर खेल गराउने विषय विवादमा परेको छ।
- पेटाले आयोजक र बाँकी प्रायोजकहरूलाई कार्यक्रमबाट अलग हुन आग्रह गर्दै पर्यटन गतिविधिमा हात्तीको प्रयोग बन्द गर्न भनेको छ।
- पेटाले सार्वजनिक गरेको भिडियोमा माहुतेहरूले हात्तीलाई लाठी, लात्ती र अङ्कुशले पटकपटक प्रहार गरेको देखिएको जनाएको छ।
२४ कात्तिक, काठमाडौं । हात्तीलाई संवेदनशील प्राणीका रूपमा मान्यता दिँदै सर्वोच्च अदालतले दिएको निर्देशनपछि चितवन हात्ती महोत्सवमा हात्ती प्रयोग गरेर खेल खेलाउने विषय विवादमा परेको छ।
पशुअधिकारसम्बन्धी संस्था पेटाले महोत्सवका आयोजक र बाँकी प्रायोजकहरूलाई पनि कार्यक्रमबाट अलग हुन आग्रह गरेको छ।
महोत्सवमा हात्तीको फुटबल खेलका क्रममा माहुतेहरूले हात्तीलाई कुटपिट गरेको देखिने भिडियो पेटाले सार्वजनिक गरेपछि माछापुच्छ्रे बैंक र काठमाडौंस्थित पर्यटन कम्पनी हिमालयन सोसल जर्नीलगायत केही प्रायोजकले महोत्सवलाई दिँदै आएको समर्थन फिर्ता लिएका थिए।
पेटाले बाँकी प्रायोजकहरू ईबुकिङ नेपाल, बाराहसिंघे बियर र टेकमाइन्ड्स नेटवर्कलाई पनि महोत्सवसँगको सम्बन्ध तोड्न आग्रह गरेको छ। सर्वोच्च अदालतको निर्देशनपछि मनोरञ्जन र पर्यटन गतिविधिमा हात्तीको प्रयोग बन्द हुनुपर्ने पेटाको तर्क छ।
पेटाले नेपाल पर्यटन बोर्ड र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागलाई पनि महोत्सवमा हात्तीको प्रयोग रोक्न आवश्यक व्यवस्था गर्न आग्रह गरेको छ।
पेटाका अनुसार महोत्सवका क्रममा खिचिएको भिडियोमा हात्तीलाई विभिन्न गतिविधिमा सहभागी गराउन माहुतेहरूले लाठी र अन्य घरेलु हतियारले पटक-पटक प्रहार गरेको देखिन्छ। एउटा घटनामा एक माहुतेले हात्तीलाई घोचेको, लात्ती हानेको र कुटपिट गरेको गरी ६४ पटक प्रहार गरेको आरोप छ।
पर्यटकको प्रतीक्षामा रहेका वा उनीहरूसँग तस्बिर खिचाउन प्रयोग गरिएका हात्तीलाई पनि फलामको धारिलो टुप्पो भएको अङ्कुशले कुटपिट गरिएको भिडियोमा देखिएको पेटाले जनाएको छ। यस्ता अङ्कुश हात्तीलाई नियन्त्रणमा राख्न र तर्साउन प्रयोग गरिन्छन्।
पेटाका अध्यक्ष जेसन बेकरले सर्वोच्च अदालतको निर्देशनले हात्तीलाई पर्यटनका लागि प्रयोग गरिने सामग्रीका रूपमा व्यवहार गर्न नहुने स्पष्ट पारेको बताएका छन्।
उनले महोत्सव आयोजकलाई आफूले क्रूर र पुरानो अभ्यास भनेका हात्तीसम्बन्धी गतिविधि बन्द गर्न आग्रह गरेका छन्। साथै, बाँकी प्रायोजकहरूलाई पनि महोत्सवबाट समर्थन फिर्ता लिन आह्वान गरेका छन्।
यसअघि पनि पेटाले हात्तीमाथि भएको भनिएको दुर्व्यवहारको भिडियो सार्वजनिक गरेपछि पेप्सी, बुद्ध एयर र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकजस्ता ठूला कम्पनीले महोत्सवको प्रायोजनबाट हात झिकेका थिए।
पेटाले नेपालमा बन्दी बनाएर राखिएका हात्तीको अवस्थाबारे लामो समयदेखि प्रश्न उठाउँदै आएको छ। विशेषगरी पर्यटन र मनोरञ्जनका गतिविधिमा प्रयोग गरिने हात्तीको व्यवहार र अवस्थाबारे उसले चासो व्यक्त गर्दै आएको छ।
पेटाका अनुसार हात्तीहरू प्राकृतिक रूपमा मातृप्रधान समूहमा बस्छन्, एकअर्काको संरक्षण गर्छन् र आफ्ना बच्चा हुर्काउने जिम्मेवारीसमेत मिलेर गर्छन्। तर, बन्दी अवस्थामा राख्दा उनीहरू आफ्नो प्राकृतिक सामाजिक संरचना र व्यवहारबाट वञ्चित हुन्छन्। यसले उनीहरूमा मानसिक तनावका लक्षण देखिन सक्ने संस्थाको भनाइ छ।
प्रतिक्रिया 4