+
+
Shares
विचार :

हिउँदमा बेँसी, वर्षामा डाँडा : विपद्‌बाट जोगाउने त्यो चलन

अन्तर्राष्ट्रिय नाकाको रूपमा विकास हुनुभन्दा अगाडि हाल बाढीले बगाएको टिमुरे बस्ती हिउँदे गोठहरू मात्र भएको क्षेत्र हो । त्यहाँका बासिन्दाहरूको पुरानो बस्ती टिमुरेबाट करिब २ किलोमिटर दक्षिण खाइडी भन्ने ठाउँमा छ ।

प्रा.डा. नरेन्द्रराज खनाल प्रा.डा. नरेन्द्रराज खनाल
२०८३ कात्तिक २५ गते १६:१८

पहाडी भेगमा विपद् जोखिमबाट बच्न विभिन्न अनुकूलनका अभ्यासहरू हुँदै आएको पाइन्छ । यसमध्ये गामबेँसी (रिज टु भ्याली) आऊजाऊ गर्ने बसाइँ (सिजनल माइग्रेसन) एउटा महत्त्वपूर्ण अभ्यास हो ।

नेपालमा औलो उन्मूलन हुनुभन्दा अगाडि मध्यपहाडी भागमा हिउँदमा बेँसी र वर्षामा डाँडामा सरेर औलोको प्रकोपबाट बच्ने कोसिस गरिन्थ्यो । यसरी ६ महिना बेँसी र ६ महिना डाँडामा बस्ने गर्दा कृषि, वन, चरणक्षेत्र पनि पनि ज्यादा हुन्थ्यो । यसले प्राकृतिक स्रोतलाई संरक्षण गर्दै उपयोग गर्न सम्भव भएको थियो ।

औलो उन्मूलन र बेँसी हुँदै यातायात सञ्जाल निर्माण भएपछि मानिसहरू वर्षैभरि बेँसीमा बस्न थाले । फलस्वरूप डाँडाकाँडा रित्तिँदै गए र डाँडाकाँडामा रहेका कृषिभूमि बाँझो जमिनमा परिणत हुँदै जान थाल्यो । बेँसीमा जनसंख्याको चाप बढ्न थाल्यो । मानिसहरू बाढीको सम्भावित क्षेत्रहरूमा समेत घरजम गरी बस्न थाले र विपद्को जोखिम बढ्न थाल्यो ।

मध्यपहाडी भेगमा जस्तै उच्च हिमाली क्षेत्रमा पनि ३ बस्तीको प्रचलन थियो र अहिले पनि कुनैकुनै ठाउँमा यो अभ्यास जारी नै छ । त्यहाँका बासिन्दाहरू हिउँद (मंसिर–फागुन) मा बेँसीभेगमा र वर्षामा बीचमा रहेको मुख्य बस्तीमा बस्ने गर्थे । केही मानिस डाँडाका गोठहरूमा बसेर गाईवस्तु चराउँथे ।

सन् २०२६ को प्रलयकारी बाढीले रसुवाका थुप्रै गाउँ बगायो । बाढीपछि उद्धार गरेर ल्याइएका मानिसहरूलाई काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा राखियो । धुन्चे र स्याफ्रुबेँसी जोड्ने बाटो र भोटेकोशीमा अस्थायी पुल निर्माण भएपछि उद्धार गरी काठमाडौँ ल्याइएका केही परिवार फिर्ता भए । तर धेरैजसो अझै पनि काठमाडौँमै छन् ।

टिमुरेबाट होल्डिङ सेन्टरमा ल्याइएका मानिसहरूले पङ्क्तिकारलाई बताएअनुसार अन्तर्राष्ट्रिय नाकाको रूपमा विकास हुनुभन्दा अगाडि हाल बाढीले बगाएको टिमुरे बस्ती (१७८० मिटर) हिउँदे गोठहरू मात्र भएको क्षेत्र हो ।

त्यहाँका बासिन्दाहरूको पुरानो बस्ती टिमुरेबाट करिब २ किलोमिटर दक्षिण खाइडी (२२०० मिटर) भन्ने ठाउँमा छ । उक्त ठाउँमा घैया (पाखेधान), मकै, कोदो, फापर, जौ, कालोमसुरो जस्ता अन्नबाली तथा आलु, काउली जस्ता तरकारी र स्याउ जस्ता फलफूल उत्पादन हुन्छन् । त्यहाँ जडीबुटी खेती र पशुपालन व्यवसायको पनि सम्भावना छ । धेरैजसो मानिसहरु हिउँदमा मात्र टिमुरेमा बस्न जान्थे ।

तर, हालका वर्षहरूमा सडक निर्माणसँगै चीनसँगको व्यापारिक नाका खुल्यो। त्यसपछि तीर्थयात्री तथा पर्यटकहरूको बढ्दो आगमनको कारणले टिमुरेमा बस्ती विकासमै मानिसहरू पहिलाको जस्तो गामबेँसी नगरी स्थायी रूपमा त्यही बसोबास गर्न थाले । समूहगत छलफलमा अधिकांश मानिसहरूले आफूहरू आफ्नौ ठाउँमा फर्कने र सम्भव भए (विपद् जोखिम नरहे) मा टिमुरेमा नै बसोबास गर्ने बताए ।

नभए पुरानो बस्ती खाइडीमा बसी पुरानै पेसा अर्थात्, कृषि, पशुपालन आदि सुरु गर्ने इच्छा व्यक्त गरे । खाइडीबाट धुन्चे र केरुङसम्म आवतजावत गर्न बाटो र पुल बनोस् भन्ने उनीहरुको चाहना छ ।

धुन्चेसँग सम्पर्क हुन समय लाग्ने भए ल्हेन्दे खोलामा पुल निर्माण गरी केरुङसम्म आवतजावत गर्न सकिने विकल्प पनि छ । त्यति भए २४ किलोमिटर टाढा रहेको केरुङमा रोजगारीको साथै मालसामानहरू किनबेच गर्न सहजै हुने देखिन्छ ।

यसैगरी स्याफ्रुबेँसी (१४८० मिटर) को पुरानो बस्ती करिब ३ किलोमिटर दक्षिणपूर्वमा रहेको ठूलो स्याफ्रुबेँसी गाती (२२२८ मिटर) हो । स्याफ्रुबेँसी बस्ती पनि त्रिशूली–सोमदाङ मोटर बाटो, स्याफ्रु रसुवागढी मोटरबाटो र लाङटाङ क्षेत्रमा विकसित पर्यटनको कारणले गर्दा तीव्र रूपले विकास भएको हो ।

विपद् जोखिमको अध्ययन गरेर उक्त क्षेत्र वा अन्य उपयुक्त ठाउँमा बसोबास र जीविकोपार्जनको व्यवस्था गर्नुपर्ने स्याफ्रुबेँसीका बासिन्दाको भनाइ छ ।

टिमुरे र स्याफ्रु दुवै ठाउँका मानिसहरूका लागि यतिबेलाको पहिलो प्राथमिकता भरपर्दो यातायातको सुविधा हो । यातायात अवरुद्ध भएपछि आफ्नो ठाउँमा उत्पादित तरकारी, फलफूल तथा अन्य वस्तुहरू त्यसै कुहेर गएको उनीहरुले बताए । जसले जीविकोपार्जनमा नकारात्मक असर पारेको छ ।

विपद्पछिको बस्ती एवं आर्थिक सामाजिक क्षेत्रहरूको कार्ययोजना निर्माण एवं प्राथमिकता निर्धारण गर्दा धेरै पहिलेदेखि प्रचलित अनुकूलनका उपायहरूमा ध्यान दिनु अपरिहार्य छ ।

लेखक
प्रा.डा. नरेन्द्रराज खनाल

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय भूगोल विभागका पूर्वप्रमुख खनाल नेपालका एक वरिष्ठ भूगोलविद् र विपद् व्यवस्थापनविद् पनि हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?