News Summary
Generated by OK AI. Editorially reviewed.- बुटवलका ३७ वर्षीय प्रकाश भुसालले ३४ जना लगानीकर्ता जुटाएर २०७६ मा ३० करोड रुपैयाँमा डेल्टा एजुकेसनल मार्ट स्थापना गरेका थिए।
- ६ असार २०८१ साँझ डेल्टा मार्टमा आगलागी हुँदा तीनै तलाका व्यवसाय जलेर ४० करोड रुपैयाँ क्षति भएको थियो।
- आगलागीपछि भुसालले १० वटा सिलाई मेसिन र पाँच कालिगढबाट लर्ड बुद्ध गार्मेन्ट उद्योग सुरू गरेर दुई वर्षमै ६५ जनालाई रोजगारी दिएका छन्।
- भुसालले त्यही स्थानमा २ करोड ५० लाख रुपैयाँ लगानीमा १८डी प्लस मुभी थिएटर र मिरर मेज सञ्चालनमा ल्याएका छन्।
२५ कात्तिक, बुटवल । २०७६ सालमा बुटवल मिलनचोकमा शैक्षिक, खेलकुद र स्कुल–कलेजका पोसाक सहित सामग्री एउटै छानामुनि पाइने गरी ‘डेल्टा एजुकेसनल मार्ट’ स्थापना भयो । मार्ट परिकल्पनाकार र नेतृत्वकर्ता थिए ३७ वर्षीय प्रकाश भुसाल ।
उनले आफ्नो ‘ड्रिम प्रोजेक्ट’ लाई मूर्तरूप दिन शिक्षा क्षेत्रमा आबद्ध ३४ जना जुटाएर ३० करोड रुपैयाँ लगानीमा मार्ट सञ्चालनमा ल्याउन सफल भएका थिए ।
त्यही मार्टको बीच तलामा प्रकाशले बैंक ऋणसहित ६ करोड रुपैयाँ एकल लगानीमा ‘नेपाली लुगा घर’ सञ्चालन गरेका थिए । मार्टको भुइँ तलामा उनीसमेतको संयुक्त लगानीमा ‘नेपाली जुत्ता घर’ पनि सञ्चालनमा थियो । तीन वटै व्यवसायले राम्रो प्रगति गरिरहेका थिए ।
तर, समय सधैं एकनास हुँदैन । ६ असार २०८१ साँझ प्रकाशका लागि अकल्पनीय घटना आइलाग्यो । डेल्टा मार्टमा भीषण आगलागी भयो । आधुनिक प्रविधिको दमकल अभावमा उक्त आगलागी अर्को दिन बिहानमात्र नियन्त्रणमा आयो । आगलागीले मार्टको तीन वटै तलामा रहेका सबै व्यवसाय पूर्णरूपमा जलेर खरानी हुँदा ४० करोड बराबर क्षति भयो ।
आगलागीबाट सबैभन्दा धेरै नोक्सान, चोट र पीडा प्रकाशले पाए । किनकि डेल्टा मार्ट स्थापना गर्न प्रकाशले नै ३४ जनालाई राम्रो सम्भावना देखाएर लगानीका लागि तयार बनाएका थिए ।
आफ्नो ड्रिम प्रोजेक्ट खरानी भएपछि प्रकाश शून्य अवस्थामा आए । तर, दायित्व त बाँकी नै थियो । ऋण थियो । कर्मचारी थिए । परिवार थियो । त्यतिबेलै श्रीमती (जो लुम्बिनी प्रादेशिक अस्पतालकी नर्सिङ प्रमुख थिइन्) उनको रोल्पा सरुवा भयो । त्यसपछि तीन छोराछोरीलाई पकाएर खुवाउने, रेखदेख गर्ने, स्कुल पुर्याउने र ल्याउने काम पनि आफैं गर्नुपर्ने भयो ।
तर उनले विचलित भएनन् । मनोबल गिर्न दिएनन् । सम्हालिएर अघि बढे । ‘यो बीचमा म केही रात निदाइनँ, दिउँसोमा सम्हालिन कुनै काम नभए पनि एक हप्ता जति आफ्नै कारमा बुटवलबाट भैरहवा, लुम्बिनी, परासी, कपिलवस्तु पुगेर फर्किने गरेँ,’ प्रकाश पीडा सुनाउँछन्, ‘यसरी घुम्ने क्रममा एक दिन सिलाइ मेसिन उधारोमा ल्याएर गार्मेन्ट चलाउन सक्छु भन्ने दिमागमा आयो, अनि आगलागीको दुई सातापछि १० वटा सिलाई मेसिन र पाँच जना कालिगढबाट ‘लर्ड बुद्ध गार्मेन्ट उद्योग सुरु गरेँ ।’
उनका अनुसार गार्मेन्टमा लगानी विस्तार गरेर १ करोड रुपैयाँभन्दा बढी पुगेको छ । बुटवलका तीन स्थानमा आउटलेट छन् । यहाँका उत्पादन सुर्खेत र धनगढीसम्म पुगेको छ ।
गार्मेन्ट सुरु गरेको दुई वर्षमै ६५ जनालाई प्रत्यक्ष रोजगारी दिन र वार्षिक ८ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्न सफल भएको प्रकाशले बताए ।
बुटवल कालीकानगरको गार्मेन्टले सफलता हासिल गरे पनि प्रकाशले आफ्नो ६ करोड बढी लगानी खरानी भएको डेल्टा मार्ट र त्यो ठाउँ बिर्सन सकिरहेका थिएनन् । डेल्टा मार्ट खरानी भएपछि खाली रहेको त्यही ठाउँमा पुरानो व्यवसाय नेपाली लुगा घर र नेपाली जुत्ता घर ब्युँताउने तयारीमा प्रकाश छन् ।
पुरानै ठाउँमा मनोरञ्जनको नयाँ व्यवसाय
पुरानो व्यवसाय ब्युँताउन लगानी जुटाउने प्रक्रियामा रहेका उनी त्योभन्दा अगाडि सोही स्थानमा बुटवलमै नयाँ व्यवसायका रूपमा साढे २ करोड रुपैयाँ लगानीमा १८डी प्लस मुभी थिएटर र मिरर मेज (भुलभुलैया) सञ्चालनमा ल्याएका छन् ।
प्रकाश सहित चार युवा व्यवसायीको संयुक्त लगानीमा नेक्स्टजेन एडभेन्चर इन्टरटेनमेन्ट प्रालिले बुटवलमा आउने आन्तरिक तथा वाह्य पर्यटकसँगै स्थानीयवासीलाई मनोरञ्जनको नयाँ अनुभव प्रदान गर्ने उद्देश्यले यो मनोरञ्जन केन्द्र सञ्चालनमा ल्याएका हुन् । यसमा प्रकाशसँगै दीपक ढकाल, सुदीप काफ्ले र सिद्धार्थ थापाले लगानी गरेका छन् ।

‘मेरो जीवनको ड्रिम प्रोजेक्ट र ठूलो लगानी खरानी भएको ठाउँमा फेरि आउनुपर्छ भनेर १८डी प्लस मुभी थिएटर र मिरर मेज सञ्चालनमा ल्याएको हुँ,’ प्रकाश भन्छन्, ‘आउँदो वैशाखसम्म नेपाली लुगा घर र नेपाली जुत्ता घर पनि त्यही पुरानो ठाउँमा सञ्चालनमा ल्याउने तयारी छ ।’
अरूले नगरेको नयाँ व्यवसाय सुरुवात गर्नुपर्छ भन्ने आफ्नो सानै उमेरदेखिको मान्यता रहेको प्रकाश बताउँछन् ।
यो मनोरञ्जन केन्द्रले स्थानीय क्षेत्रमा आर्थिक गतिविधि बढाउनुका साथै बुटवल आउने पर्यटकलाई थप समय बिताउन आकर्षित गर्ने उनको विश्वास छ । यहाँ दर्शकले बढीमा १० मिनेटसम्मका सयभन्दा बढी प्रकारका चलचित्र हेर्न सक्ने उनले बताए । आगामी दिनमा नयाँ तथा प्रविधिमा आधारित गेमसमेत थप गर्दै सेवा विस्तार गर्ने योजना रहेको उनले बताए ।
१८डी प्लस मुभी थिएटरमा चलचित्र तथा दृश्य हेर्दा पर्दामा देखिने दृश्यसँगै आफू पनि प्रत्यक्ष रूपमा त्यही वातावरणमा पुगेको अनुभूति गर्न सकिने उनले बताए । चलचित्रमा देखाइने दृश्यअनुसार आफू पुगेको महसुस गर्न सकिने भएकाले दर्शकले फरक किसिमको मनोरञ्जन लिन सक्ने उनको भनाइ छ ।
त्यस्तै मिरर मेज अर्थात् भुलभुलैयामा चारैतिर ऐना जडान गरिएको संरचनाभित्र प्रवेश गरेर बाहिर निस्कने बाटो खोज्दै मनोरञ्जन लिन सकिन्छ ।
कक्षा १० मै ‘स्टुडेन्ट कम्प्लेक्स’ सपना
सानैदेखि अरूले भन्दा नयाँ काम गर्ने स्वभावका प्रकाशले अर्घाखाँचीको मलारानी गाउँपालिकामा विद्यार्थी जीवनदेखि नै उद्योगी बन्ने सोच राखेका थिए । उनी जन्मिएको ६ महिनामै आमाबुबाको सम्बन्ध विच्छेद भएकाले हजुरआमा र बुबाको काखमा हुर्किएका उनी कक्षा १ देखि ५ सम्म गाउँकै बोर्डिङ स्कुल पढे । कक्षा ८ मा बुटवलको अक्सफोर्ड स्कुलमा भर्ना भएर २०६० मा एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण भए ।
कक्षा १० मा पुग्दा दिमागमा भविष्यमा ‘स्टुडेन्ट कम्प्लेक्स’ बनाउँछु भन्ने नयाँ सोच आएको र त्यसैको उपज डेल्टा एजुकेसनल मार्ट भएको उनले बताए । एसएलसीपछि तिलोत्तमा क्याम्पसमा विज्ञान प्लस टु सकेपछि उच्च शिक्षाका लागि काठमाडौं गए । तर, मनभित्रको व्यवसायी बन्ने सपनाले उनलाई बुटवल फर्कायो ।
२०६५ सालमा ७ जना साथीभाइ मिलेर २५–२५ हजार लगानी गरेर ह्वाइट हाउस एजुकेसनल जोन सुरु गरेका थिए । त्यतिबेला बुटवलमा एसएलसीपछिको ब्रिज कोर्स, नर्सिङ तयारी कक्षा तथा मेडिकल र इन्जिनियरिङ प्रवेश परीक्षाको तयारी गराउने संस्था थिएनन् । एसएलसीको नमुना परीक्षा, सेमिनार र शैक्षिक कार्यक्रम चलाउँदै संस्थालाई चितवन र दाङसम्म विस्तार गरे ।
बुटवलको पहिलो युनिफर्म हाउस
प्रकाशले आफूसँग भएको ३ लाख र आफन्तबाट थप ३ लाख ऋण लिएर २०६८ सालमा बुटवल मिलनचोकमा ह्वाइट हाउस युनिफर्म सञ्चालन गरे । त्यो बेला बुटवलमा विद्यार्थीले लगाउने पोसाक एकीकृत रूपमा उपलब्ध हुन्थेन, एक ठाउँमा सर्ट लिनुपर्ने, अर्को ठाउँमा गएर पाइन्ट लिनुपर्ने, अर्को ठाउँमा गएर जुत्ता लिनुपर्ने र अर्को ठाउँ गएर मोजा लिनुपर्ने जस्ता झन्झटले विद्यार्थीलाई निकै समस्या परिरहेको थियो ।
‘यो समस्याबाट सम्भावना देखेर सबै युनिफर्म एकै ठाउँ पाइने गरी बुटवलमा पहिलो पटक ह्वाइट हाउस युनिफर्म सञ्चालन गरेँ,’ उनले सम्झिए । बुटवलका बोर्डिङ र सरकारी विद्यालयमा हप्तामा एक दिन टिसर्ट र ट्र्याकसुट लगाउने अभियान पनि उनैले सुरु गराए । प्रकाशको व्यवसायले सोचेभन्दा बढी सफलता पायो । यसको प्रभावले रुपन्देहीमा सय बढी युनिफर्म हाउस सञ्चालनमा रहेको उनले बताए ।

त्यसपछि २०७० सालतिर नेपालमा होटल र पार्सल डेलिभरीको उच्च सम्भावना देखेर आल्मुनियम कन्टेनर उद्योगमा लगानी गरेको प्रकाश बताउँछन् ।
‘नेपालमा यस्तो उत्पादन कहीँ कतै पनि थिएन, हामी आयातमा निर्भर थियौं, त्यसैले राम्रो सम्भावना देखेर लगानी गरियो,’ प्रकाशले भने । तर, जग्गा खरिद र भौतिक संरचना निर्माण गरी मेसिन खरिदका लागि भारतमा पैसा पठाएपछि गलत सप्लायर्सको फन्दामा पर्दा न मेसिन आयो न समयमा पैसा फिर्ता भयो ।
‘त्यो पैसा फिर्ता गर्न मलाई १० वर्ष कुर्नुपर्यो, लगत्तै कोरोना महामारी सुरु भयो,’ उनले भने, ‘यो घटनाले धेरै पाठ सिकायो ।’
प्रकाश उद्यमशीलता पैसा कमाउने माध्यममात्र नभई आफ्नै खुट्टामा उभिने, अरूलाई रोजगारी दिने र नेपाली उत्पादनलाई बलियो बनाउने माध्यम पनि भएको बताउँछन् । हाइड्रोपावरमा समेत लगानी गरेका प्रकाश भिजन लुम्बिनी संस्थामा पनि आबद्ध छन् ।
अर्थतन्त्रको आधार निजी क्षेत्रका उद्योगी–व्यवसायी भएकाले उनीहरूलाई सहज काम गर्न पाउने वातावरण सरकारले बनाउनुपर्ने उनको मान्यता छ ।
‘आफ्नो व्यवसायसँगै आफ्नो क्षेत्रको अर्थतन्त्र बलियो बनाउने, लगानीका सम्भावना खोज्ने र बनेका ठूला संरचना पूर्ण क्षमतामा सञ्चालनको वातावरण बनाउन सरोकारवालासँग नियमित छलफल र बहस पैरवीमा पनि संलग्न हुने गर्छु,’ प्रकाश भन्छन् ।
भविष्यमा रुपन्देहीमा भारतीय नागरिकलाई आकर्षित गर्ने आध्यात्मिक पर्यटनसँग सम्बन्धित काम गर्ने योजना उनले सुनाए ।
प्रतिक्रिया 4