+
+
Shares

रसुवाको नागथली : प्रकृति, संस्कृति र हिमाली दृश्यको आकर्षक गन्तव्य

रासस रासस
२०८३ कात्तिक २५ गते १४:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१ थुमनस्थित नागथली प्राकृतिक, धार्मिक र ऐतिहासिक आकर्षणसहित पदयात्रा र हिमाली दृश्यावलोकनको गन्तव्य बन्दै गएको छ।
  • गत भदौ १० को बाढीले सडक सञ्जाल बगाएपछि बन्द भएको आवागमन स्थानीयको श्रमदानमा काठेपुल बनेपछि पुनः सुरु भएको छ।
  • पर्यटक बढेपछि यहाँ होटल तथा लजको संख्या करिब एकबाट छ पुगेको छ र वडा कार्यालयले पूर्वाधार तथा आतिथ्य सुविधामा काम गरिरहेको छ।

२५ कात्तिक, रसुवा । रसुवाको नागथली आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक विविधताको सङ्गम मानिने नागथली पदयात्रा र हिमाली दृश्यावलोकनका लागि उपयुक्त गन्तव्य हो ।

समुद्री सतहबाट तीन हजार १६५ मिटरको उचाइमा रहेको नागथली गोसाइँकुण्ड गाउँपालिका–१, थुमनमा पर्छ । स्थानीय भाषामा ‘नगथली’ भनेर चिनिने यस क्षेत्रमा प्राकृतिक सुन्दरतासँगै धार्मिक तथा ऐतिहासिक महत्त्वका स्थल पनि छन् ।

गुम्बानजिकै नागको थान रहेकाले यस ठाउँको नाम ‘नागथली’ रहन गएको स्थानीय बासिन्दाको भनाइ छ । प्राचीन कालमा गुरु रिम्बोर्छेले यस क्षेत्रमा तपस्या गरी गुम्बा निर्माण गरेको जनविश्वास छ । गुम्बाभित्र भगवान् बुद्ध, चेरेसी र गुटासिङतोङका मूर्ति छन् ।

चन्द्रपात्रोअनुसार प्रत्येक वर्ष वैशाख र असोज पूर्णिमाका दिन यहाँ विशेष पूजाआजासहित मेला लाग्ने गर्छ । मुख्य गुम्बाको उत्तर–पश्चिम कुनामा अर्को गुम्बा तथा विभिन्न धार्मिक र ऐतिहासिक स्थल छन् ।

यस क्षेत्रमा गुरु रिम्बोर्छेको पैतालाको डोब, पाप र धर्म छुट्याउने विश्वास गरिएको सुरुङ, ‘खण्डोमो क्षाम्सा’ अर्थात् देवी नाच्ने थान र प्राचीन ढुङ्गे गुफा अवलोकन गर्न सकिन्छ । गुरु रिम्बोर्छेले मन्त्रद्वारा निकालेको भनिएको कहिल्यै नसुक्ने सानो पानीको मुहानलाई स्थानीय बासिन्दा तथा भक्तजनले पवित्र जलका रूपमा प्रयोग गर्दै आएका छन् ।

नागथलीबाट गगनचुम्बी हिमशृङ्खला र हिमनदी (ग्ल्यासियर) को मनमोहक दृश्य देख्न सकिन्छ । पदमार्गको छेउछाउमा बग्ने नदी, विभिन्न प्रजातिका लालीगुँरास, माने, छुर्तेन र फराकिला खर्कमा चरिरहेका याक, चौँरीगाई तथा भेडाका बथान यहाँका मुख्य आकर्षण हुन् ।

यस क्षेत्रको वनजङ्गलमा हिमचितुवा, घोरल, थारल, भालु, बँदेल र लङ्गुर बाँदरलगायतका वन्यजन्तु पाइन्छन् । नागथलीबाट करिब दुई घण्टाको पैदलयात्रामा ‘तरुचे’ पुग्न सकिन्छ । त्यहाँबाट छिमेकी मुलुक चीनतर्फका ठोङ्सा, नेस्यारगाउँ र च्याङगाउँ वरपरका भूभाग स्पष्ट देख्न सकिन्छ । नागथलीबाट करिब एक दिनको पैदलयात्रामा गणेश हिमालको फेँदीसम्म पुग्न सकिन्छ । यस क्षेत्रको ऐतिहासिक ‘माला गढी’ पनि पर्यटकका लागि अर्को आकर्षण हो ।

सामान्य अवस्थामा पासाङल्हामू राजमार्गको स्याफ्रुबेँसी–टिमुरे खण्डमा पर्ने रोङ्गाबाट मेन्दो र थुमन गाउँ हुँदै नागथली पुग्न सकिन्छ । थुमन गाउँबाट करिब चार घण्टाको ठाडो उकालो चढेपछि नागथली पुगिन्छ ।

त्यस्तै, ‘तामाङ सम्पदा मार्ग’ अन्तर्गत स्याफ्रुबेँसीबाट गोल्जुङ, गतलाङ र चिलिमे (तातोपानी) हुँदै नागथली पुग्ने अर्को मार्ग पनि छ । तर गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सडक सञ्जाल बगाएपछि करिब साढे दुई महिनासम्म यस क्षेत्रको आवागमन पूर्ण रूपमा बन्द भएको थियो ।

हालै स्थानीय बासिन्दाको श्रमदानमा भोटेकोशी नदीमा काठेपुल निर्माण भएपछि आवतजावत पुनः सुरु भएको छ । सडक सञ्जाल अवरुद्ध रहेकाले अहिले पर्यटकले स्याफ्रुबेँसीदेखि नै पैदलयात्रा (हाइकिङ) गरेर नागथली पुग्नुपर्ने अवस्था छ ।

तिब्बती, शेर्पा र तामाङ समुदायको मौलिक संस्कृति, भेषभूषा र रहनसहन पनि नागथली क्षेत्रका विशेषता हुन् । पर्यटकको आगमन बढेसँगै यहाँ पूर्वाधार र आतिथ्य सुविधासमेत विस्तार हुँदै गएको गोसाइँकुण्ड गाउँपालिका–१ का वडाध्यक्ष उर्केन लामा बताउँछन् ।

उनका अनुसार पर्यटकको सहजताका लागि वडा कार्यालयले बजेट तथा आवश्यक योजना बनाएर व्यवस्थापन गर्दै आएको छ ।

‘पहिले यहाँ एउटा मात्रै होटल थियो । अहिले पर्यटकको चाप बढेसँगै करिब छवटा होटल तथा लज सञ्चालनमा आइसकेका छन्,’ वडाध्यक्ष लामाले भने, ‘बाढीले सडक बगाए पनि स्थानीयको श्रमदानमा काठेपुल बनेपछि अहिले स्याफ्रुबेँसीदेखि नै हाइकिङ गर्दै आउने पर्यटकका लागि बाटो खुलेको छ ।’

रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने पनि नागथलीलाई पदयात्रा र सांस्कृतिक पर्यटनका लागि उत्कृष्ट गन्तव्य मान्छन् । काठमाडौं नजिकै रहेर पनि हिमाली जनजीवन, चौँरी खर्क, लालीगुँरास र चीनको सीमावर्ती क्षेत्रको दृश्यावलोकन एकैसाथ गर्न पाइने भएकाले पर्यटन समाजले नागथलीको प्रवर्द्धनमा विशेष जोड दिएको उनले बताए । ‘स्थानीयको श्रमदानमा काठेपुल बनेसँगै अहिले पदयात्रीका लागि यो मार्ग झन् रोमाञ्चक बनेको छ’, न्यौपानेले भने ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?