News Summary
Generated by OK AI. Editorially reviewed.- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते दिउँसो १ बजे प्रदेशसभामा विश्वासको मत लिने भएका छन्।
- प्रदेश सरकारमा सहभागी नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्।
- १०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार जोगाउन कम्तीमा ५४ सदस्यको समर्थन आवश्यक पर्छ।
२५ कात्तिक, जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।
प्रदेश सरकारमा सहभागी नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री यादवले कात्तिक २८ गते दिउँसो १ बजे विश्वासको मत लिने जानकारी दिए । त्यसका लागि प्रदेशसभा बैठक बोलाउन प्रदेशसभा सचिवालयलाई पत्राचार गर्न लागिएको उनले बताए ।
विश्वासको मत प्राप्त गर्न विभिन्न राजनीतिक दलसँग संवाद भइरहेको र विश्वासको मत लिनुअघिसम्म संवाद जारी रहने उनको भनाइ छ ।
नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी एमालेका चार मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । त्यस्तै, सरकारमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले कात्तिक २० गते राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए ।
दुई दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले सरकार जोगाउन राजनीतिक सक्रियता बढाएका छन् । १०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ सदस्यको समर्थन आवश्यक पर्छ ।
मधेस प्रदेशसभामा नेपाली कांग्रेसका २२, एमालेका २३, जसपा नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन् । त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य छन् ।
प्रतिक्रिया 4