+
+
Shares

चार दशकपछि आमासँग भेटिए चोरी गरिएका सन्तान

चिलीमा अगस्टो पिनोचेको सैनिक शासनकालमा अस्पतालबाटै आमाबाट छुट्याएर अवैध रूपमा अमेरिकाका परिवारलाई सुम्पिएका दुई दाजुभाइले ४१ वर्षपछि आफ्नी आमासँग पुनर्मिलन गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २६ गते १०:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिलीमा अगस्टो पिनोचेको सैनिक शासनकालमा अस्पतालबाट आमासँग छुट्याइएका दुई दाजुभाइ ४१ वर्षपछि आफ्नी आमा टेरेसिटा डे जेसस पादिलासँग पुनर्मिलन भएका छन्।
  • ४१ वर्षीय टिम रोलनिकले सन् २०२० को डीएनए परीक्षणबाट आफ्नो वास्तविक परिवार चिलीमा रहेको पत्ता लगाएका थिए र त्यसपछि भाइ ट्राभिस मर्डोकसँग सम्पर्क स्थापित भएको थियो।
  • चिलीको न्यायिक प्रतिवेदनअनुसार पिनोचेको १७ वर्षे शासनकालमा करिब २० हजार बालबालिका जबर्जस्ती वा आपराधिक रूपमा अन्य परिवारलाई सुम्पिएको घटना भएका थिए।

२६ कात्तिक, सान्टियागो । चिलीमा अगस्टो पिनोचेको सैनिक शासनकालमा अस्पतालबाटै आमाबाट छुट्याएर अवैध रूपमा अमेरिकाका परिवारलाई सुम्पिएका दुई दाजुभाइले ४१ वर्षपछि आफ्नी आमासँग पुनर्मिलन गरेका छन् । लामो समयदेखि सन्तान वियोगको पीडा भोगिरहेकी ६६ वर्षीया टेरेसिटा डे जेसस पादिलाले अन्ततः छोराहरूलाई अँगालो हाल्न पाएकी हुन्।

४१ वर्षीय टिम रोलनिक र ३७ वर्षीय ट्राभिस मर्डोक अमेरिकामा हुर्किएका हुन्। आफूहरूलाई अर्को परिवारले हुर्काएको जानकारी भए पनि चिलीमा जन्म दिने आमाबाट कसरी छुट्याइएको थियो भन्ने उनीहरूलाई थाहा थिएन ।

रोलनिकले सन् २०२० मा डीएनए परीक्षणमार्फत आफ्नो वास्तविक परिवार चिलीमा रहेको पत्ता लगाए। त्यसपछि आफन्त र छुट्याइएका परिवारको पुनर्मिलनमा संलग्न संस्थाहरूको सहयोगमा उनले आफ्ना दुई भाइ पनि अमेरिकामै रहेको जानकारी पाए। उनका जुम्ल्याहा भाइ ट्राभिस र क्रिसलाई पनि चार वर्षपछि आमाबाट अलग गरी अमेरिकी दम्पतीको जिम्मा लगाइएको रहेछ ।

तीनै दाजुभाइबीच सम्पर्क भएपछि घनिष्ठ सम्बन्ध स्थापित भयो । पहिलो सम्पर्क भएको छ वर्षपछि रोलनिक र ट्राभिसले चिली पुगेर आमालाई भेटे । सन् २०१३ को सडक दुर्घटनामा गम्भीर घाइते भएका अर्का भाइ क्रिस भने स्वास्थ्य अवस्थाका कारण यात्रामा सहभागी हुन सकेनन्।

चिलीको न्यायिक प्रतिवेदनअनुसार पिनोचेको १७ वर्षे शासनकालमा जबर्जस्ती वा आपराधिक रूपमा बालबालिकालाई अन्य परिवारको जिम्मा लगाइएका करिब २० हजार घटना भएका थिए । नागरिक संस्था ‘नोस बुस्कामोस’ का अनुसार यसबाट प्रभावित परिवारको सङ्ख्या ५० हजारभन्दा बढी हुन सक्छ । गरिब तथा विपन्न महिलाहरू यस्तो अवैध सञ्जालको मुख्य निशानामा पर्ने गरेका थिए । त्यसमा सामाजिक कार्यकर्ता, चिकित्सक, न्यायाधीश र वकिलसमेत संलग्न रहेको संस्थाकी निर्देशक कन्स्टान्जा डेल रियोले बताएकी छन्।

पिनोचेको शासनकालमा कम्तीमा तीन हजार ९५ जनाको हत्या वा जबर्जस्ती बेपत्ता पारिएको थियो भने दशौँ हजार मानिसलाई राजनीतिक कारणले यातना दिइएको वा जेलमा राखिएको थियो ।

पादिला बाल्यकालदेखि नै गरिबीसँग सङ्घर्ष गर्दै आएका थिए। गर्भवती भएपछि अस्पतालले आफ्ना सन्तानको राम्रो भविष्य बनाउन सहयोग गर्ने विश्वास गरेका थिए। तर अस्पतालमै उनका सन्तान खोसिएपछि जीवनभर वियोग सहनुपरेको थियो ।

“धम्की र त्रास देखाएर मेरा सन्तान मबाट खोसिए । त्यसको पीडा मैले जीवनभर भोग्नुपर्‍यो”, उनले भनिन्।

पुनर्मिलनपछि पादिलाले आफूले सधैँका लागि गुमाएको ठानेका छोराहरू फिर्ता पाएको बताइन्। ट्राभिसले पनि विगतको पीडामा अल्झिनुभन्दा अब परिवारसँग नयाँ सम्झना बनाउँदै भविष्य अघि बढाउन चाहेको बताए। (रासस/एपी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?