+
+
Shares

मुख्य ठेकेदार सम्पर्कविहीन, करेन्ट लागेका मजदुर बर्न अस्पतालमै अलपत्र

पीडित मजदुरले कार्यस्थलमा न्यूनतम सुरक्षा मापदण्ड पालना नगरी काममा लगाएको, श्रमिकको दुर्घटना बीमा नगराएको, दुर्घटनापछि घटना विवरण लुकाउन खोजेको र उपचार खर्च नतिरी अलपत्र पारेको आरोप लगाएका छन् ।

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८३ कात्तिक २६ गते १४:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुर कुपन्डोल हाइटको निर्माणस्थलमा करेन्ट लागेर घाइते इलामका मिलनकुमार नेम्वाङ लिम्बू उपचार पूरा भए पनि खर्च नतिर्दा कीर्तिपुर बर्न अस्पतालमै रोकिएका छन् ।
  • सोही निर्माणस्थलमा करेन्ट लागेर मकवानपुरका देवराज थिङ घाइते भएका छन्, जसले दुवै खुट्टाका औँला गुमाएका र दाहिने हातमा आठ पटक शल्यक्रिया भएको छ ।
  • पीडित पक्षले इन्टिनिटी इन्जिनियरिङ सोलुसन र ठेकेदारविरुद्ध श्रम कार्यालयमा निवेदन दिएका छन्, र कार्यालयले बूढानीलकण्ठ नगरपालिकालाई पत्राचार गरेको छ ।

२६ कात्तिक, काठमाडौं । कार्यस्थलमा करेन्ट लागेर गम्भीर घाइते  इलामका मिलनकुमार नेम्वाङ लिम्बू उपचार पूरा भए पनि घर फर्किन पाएका छैनन् । उपचारमा लागेको खर्च मुख्य ठेकेदारले नतिरेपछि उनी कीर्तिपुरस्थित बर्न अस्पतालमै रोकिएका छन् ।

१० भदौ २०८३ मा ललितपुर कुपन्डोल हाइटमा निर्माणाधीन एक रेस्टुरेन्टमा काम गर्ने क्रममा मिलनलाई करेन्ट लागेको थियो । इन्टिनिटी इन्जिनियरिङ सोलुसन मार्फत काम गरिरहेका उनी छतमा सामान लिन जाने क्रममा नजिकै रहेको हाइभोल्टेज विद्युत् प्रवाह भएको तारको सम्पर्कमा पुगेका थिए । करेन्ट लागेर गम्भीर घाइते भएपछि उनलाई सहकर्मीले उद्धार गरी कीर्तिपुर बर्न अस्पताल पुर्‍याएका थिए ।

अस्पतालमा लामो समय उपचारपछि मिलनलाई डिस्चार्ज दिइसकिएको छ । तर, उपचारमा लागेको खर्च तिर्न नसक्दा उनी अस्पतालबाट घर फर्किन पाएका छैनन् । रोजगारदाता कम्पनी र ठेकेदारले उपचार खर्च बेहोर्ने आश्वासन दिए पनि अहिलेसम्म सम्पर्कमा नाएको उनले गुनासो पोखे ।

‘मेरो डिस्चार्ज भइसकेको छ, तर साहुहरू नआउँदा घर जान पाएको छैन,’ मिलनले दु:खेसो पोखे, ‘अहिले जेलको कैदी जस्तै भएर अस्पतालमा बस्नुपरेको छ ।’

मिलनको दुर्घटना भएको एक महिनापछि सोही निर्माणस्थलमा अर्का श्रमिक मकवानपुरका देवराज थिङ पनि करेन्ट लागेर गम्भीर घाइते भए । ७ असोजको दुर्घटनामा देवराजका दुवै खुट्टाका औँला गुमेका छन् । दाहिने हातमा पटक–पटक शल्यक्रिया गर्नुपरेको छ । हाल उनी पनि कीर्तिपुर बर्न अस्पतालमै उपचाररत छन् ।

देवराजका ठूलो बुबा लवकुमार थिङका अनुसार एउटै निर्माणस्थलमा यसअघि पनि एक श्रमिक करेन्ट लागेर घाइते भएका थिए । १ भदौको दुर्घटनामा घाइते श्रमिक उपचारपछि डिस्चार्ज भएर घर फर्किसकेका छन् । तर, त्यसपछि पनि कार्यस्थलमा सुरक्षा व्यवस्था सुधार नगर्दा थप दुई श्रमिक दुर्घटनामा परेको उनले बताए ।

लवकुमारका अनुसार सुरुमा कम्पनी र ठेकेदारले उपचार खर्च बेहोर्ने आश्वासन दिएका थिए । केही रकम अग्रिम दिएर उपचारमा सहयोग समेत गरेका थिए । तर, पछिल्लो समय उपचार खर्च दिन छाडेपछि दुवै श्रमिक समस्यामा परेका हुन् ।

‘सुरुमा ठेकेदार अस्पताल आएका थिए, उपचार खर्च बेहोर्ने भन्दै आश्वासन पनि दिए तर अहिले फोन उठाउँदैनन्,’ उनले भने, ‘म्यासेज गर्दा आउँछु, पैसा तिर्छु भन्छन्, तर आउँदैनन् ।’

अस्पतालमा औषधि तथा अन्य खर्चका लागि थप रकम आवश्यक पर्ने भएपछि उनीहरूका परिवार र आफन्तले ऋणधन गरेर खर्च जुटाइरहेका छन् ।

‘अहिले बिरामीलाई सामान्य खानपिन गर्नसमेत समस्या छ, उपचार खर्च तिर्न नसक्दा मिलनलाई अस्पतालबाट बाहिर जान दिइएको छैन,’ लवकुमारले भने, ‘यता देवराजको उपचार पनि जारी छ, कम्पनी र ठेकेदार दुवै सम्पर्कमा आउँदैनन् ।’

देवराजको अवस्था झन् जटिल छ । उनका आफन्तका अनुसार दाहिने हातमा मात्रै आठ पटकसम्म शल्यक्रिया भइसकेको छ । दुवै खुट्टाका औँला गुमाएका उनको घाँटी र शरीरका अन्य भागमा समेत गम्भीर चोट लागेको छ ।

‘भर्खर १८ वर्ष पूरा गरेर १९ वर्ष लागेका युवकको यस्तो अवस्था भएको छ, भोलि पहिले जसरी काम गर्न सक्ने हुन् कि होइनन् भन्ने पनि थाहा छैन,’ उनले भने, ‘उनको हातका औँलासमेत छैनन्, यस्तो अवस्थामा उपचार र क्षतिपूर्तिको जिम्मा लिनुपर्ने कम्पनी नै सम्पर्कविहीन छ ।’

श्रम कार्यालयमा उजुरी र प्रहरीमा जाहेरी दर्ता नभएको गुनासो

कम्पनी र ठेकेदारले उपचार खर्च बेहोर्न छाडेपछि पीडितका आफन्तले सम्बन्धित निकाय गुहारेका छन् । उनीहरूले श्रम तथा रोजगार कार्यालय टेकुमा रोजगारदाता कम्पनी र ठेकेदारविरुद्ध संयुक्त निवेदन दिएका छन् ।

उनीहरूले कार्यस्थलमा न्यूनतम सुरक्षा मापदण्ड समेत पालना नगरी काममा लगाएको, श्रमिकको दुर्घटना बीमा नगराएको, दुर्घटनापछि घटना विवरण लुकाउन खोजेको र उपचार खर्च नतिरी श्रमिकलाई अलपत्र पारेको आरोप लगाएका छन् ।

निवेदनमा इन्टिनिटी इन्जिनियरिङ सोलुसनका सञ्चालक तेजकर राणा र ठेकेदार प्रेम बराललाई जिम्मेवार बनाइएको छ । श्रम ऐन २०७४ को दफा ५५ अनुसार श्रमिकको अनिवार्य दुर्घटना बीमा गराउनुपर्ने र दुर्घटना भए उपचार खर्च बेहोर्नुपर्ने व्यवस्था उल्लंघन भएको उनीहरूको दाबी छ ।

पीडित पक्षले दुवै श्रमिकको सम्पूर्ण उपचार खर्च रोजगारदाताबाट भराउन, कानुन बमोजिम दुर्घटना क्षतिपूर्ति उपलब्ध गराउन र जिम्मेवार व्यक्तिमाथि कानुनी कारबाही गर्न माग गरेका छन् ।

पीडित पक्षले प्रहरीमा समेत उजुरी दिन खोजेको तर प्रहरीले फौजदारी मुद्दाका रूपमा जाहेरी दर्ता गर्न नमानेको गुनासो गरेको छ । प्रहरीको उपस्थितिमा ठेकेदार र कम्पनीका प्रतिनिधि बोलाउँदा वकिल सहित उपस्थित भएर उपचार खर्च बेहोर्ने प्रतिबद्धता जनाए पनि त्यसपछि सम्पर्कमा नआएको उनीहरूको भनाइ छ ।

पीडितका आफन्तका अनुसार प्रहरीमा पटक–पटक धाउँदा पनि जाहेरी दर्ता हुन सकेको छैन । कम्पनीले घटनाबारे प्रहरीलाई जानकारी नगराएको र अस्पतालमा उपचार गराउँदा समेत कम्पनीको नाम उल्लेख नगरी श्रमिकको व्यक्तिगत विवरणमा उपचार गराएको उनीहरूको आरोप छ ।

श्रम कार्यालयले गर्‍यो पत्राचार

पीडित पक्षले दिएको संयुक्त निवेदनका आधारमा श्रम तथा रोजगार कार्यालय टेकुले १८ कात्तिकमा सम्बन्धित स्थानीय तहलाई पत्राचार गरेको छ ।

कार्यालयले बूढानीलकण्ठ नगरपालिकालाई पत्र पठाउँदै सम्बन्धित प्रतिष्ठानको ठेगाना यकिन गरी पत्र तामेल गराउन सहयोग मागेको हो । पत्र बुझ्न नमानेको अवस्थामा नियमानुसार घरदैलोमा सूचना टाँस गरी त्यसको भरपाइ तथा मुचुल्का पठाउन समेत अनुरोध गरिएको छ ।

तर, श्रम कार्यालयको पत्राचारपछि पनि पीडितले तत्काल राहत पाउने अवस्था बनेको छैन । आफन्तका अनुसार कम्पनीको कार्यालयमा पुग्दा बाहिर राखिएको कम्पनीको बोर्डसमेत हटाइएको थियो । कार्यालयमा ताला लगाइएको अवस्थामा भेटिएको थियो ।

‘श्रम कार्यालयमा निवेदन दिएका छौं, अब स्थानीय तहबाट सूचना टाँस गर्ने प्रक्रिया अघि बढेको छ तर यो प्रक्रिया पूरा हुन कति समय लाग्ने हो थाहा छैन,’ लवकुमारले भने, ‘अस्पतालले दिनदिनै खर्च मागिरहेको छ ।’

कार्यस्थलमा एउटै प्रकृतिका दुर्घटना पटक–पटक हुँदा पनि सुरक्षा व्यवस्था सुधार नभएको र दुर्घटनामा परेका श्रमिकको उपचार तथा क्षतिपूर्तिको जिम्मेवारी रोजगारदाताले नलिएको पीडित पक्षको गुनासो छ ।

निर्माणस्थलमा काम गराउँदा श्रमिकको सुरक्षाको जिम्मेवारी कसले लिने र दुर्घटनामा परेका श्रमिकको उपचार खर्च तथा क्षतिपूर्तिको व्यवस्था कसरी सुनिश्चित गर्ने भन्ने प्रश्नसमेत यस घटनाले उठाएको छ ।

अहिले मिलन अस्पतालबाट डिस्चार्ज भएर पनि घर फर्किन पाएका छैनन् भने देवराजको उपचार जारी छ । दुवै श्रमिकको उपचार खर्च र क्षतिपूर्तिको विषय टुंगो नलाग्दा उनीहरूका परिवार थप आर्थिक तथा मानसिक समस्यामा छन् ।

मुख्य ठेकेदार भाग्दा समस्या भयो : पेटी ठेकेदार

मुख्य ठेकेदारबाट ठेक्का लिएर काममा लगाएका प्रेम बरालले भने मुख्य ठेकेदार सम्पर्कविहीन हुँदा समस्या भइरहेको बताएका छन् । विभिन्न निर्माण तथा इन्टेरियरको काम गराएर श्रमिक तथा पेटी ठेकेदारको रकम भुक्तानी नगरी मुख्य ठेकेदार सम्पर्कविहीन बनेको उनको आरोप छ ।

कामदार दुर्घटनामा परी घाइते भएर उपचार अभाव झेलिरहँदा समेत मुख्य रोजगारदाता भने फोन ब्ल्याकलिस्टमा राखेर फरार भएका हुन् ।

निर्माण व्यवसायी तेजेश्वर राणा र उनका साझेदार इन्जिनियरले कलंकी, अन्नपूर्ण होस्टेल, गोदावरी, शंखमुल लगायत स्थानमा रेस्टुरेन्ट तथा भवन निर्माणको ठेक्का लिएका थिए । उक्त काममा संलग्न पेटी ठेकेदार प्रेम बरालले गत वैशाख १५–१६ गते नै काम सम्पन्न गरे पनि हालसम्म १२ लाख रुपैयाँ भुक्तानी पाएका छैनन् । उल्टै मुख्य ठेकेदार राणाले सम्पर्कका सबै माध्यम बन्द गरी फोन नम्बर समेत ब्ल्याकलिस्टमा राखेको बरालले बताए ।

यसअघि पीडितहरूले दबाब दिएपछि तेजेश्वर राणा वकिल सहित प्रहरी कार्यालयमा उपस्थित भएका थिए । तर, छलफलकै क्रममा फोनमा कुरा गरे झैं गरी उनी चौकीको गेटबाटै भागेको बरालको भनाइ छ ।

त्यसपछि उनका वकिलले उपचार खर्च र बाँकी रकम भुक्तानीका लागि छलफल गर्ने सहमति जनाए पनि तोकिएको समयमा वकिल ‘विराटनगर गएको’ भन्दै पन्छिएका थिए ।

पछि कालीकास्थानस्थित एक कानुनी फर्ममार्फत छलफल गर्न खोजिए पनि समस्या समाधानतर्फ कुनै ठोस पहल भएको छैन । यो विषय बुझ्न मुख्य ठेकेदार राणासँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?