News Summary
Generated by OK AI. Editorially reviewed.- तनहुँका राधेश पण्डित अमेरिकाका एक दर्जनभन्दा बढी राज्यमा होटल, घर, अपार्टमेन्ट र व्यावसायिक भवन निर्माण तथा सञ्चालनमा संलग्न छन्।
अमेरिकामा नेपालीले गर्ने व्यवसाय के–के होलान ? यो प्रश्नको उत्तरमा प्रायः रेस्टुरेन्ट, ग्यास स्टेसन र ब्यूटी सलुनजस्ता व्यवसायको नाम आउँछ । तर ठूला ब्रान्डेड होटल, होटल, आवासीय बस्ती र र व्यवसायिक भवन निर्माणजस्ता ठूला लगानीका क्षेत्रमा पनि सक्रिय छन् भन्दा कतिपयलाई विश्वास नलाग्न सक्छ ।
तनहुँमा जन्मेका राधेश पण्डितले यस क्षेत्रमा गरेको काम उदाहरणीय छ । उनी हाल अमेरिकाका एक दर्जनभन्दा बढी राज्यमा होटल, घर, अपार्टमेन्ट र व्यावसायिक भवन निर्माण तथा सञ्चालनमा संलग्न छन् ।
अमेरिकामा होटल व्यवसायका उत्प्रेरणा
होटल क्षेत्रमा पण्डितको प्रवेश सन् २०१६ मा भयो । उनले टेक्सासको मोनाहान्स सहरमा ५७ कोठाको माइक्रोटेल होटल आफैँ निर्माण गरी सञ्चालनमा ल्याए । सन् २०१८ मा यो होटलले करिब ३५० माइक्रोटेल होटलमध्ये उत्कृष्ट माइक्रोटेलको अवार्ड पायो ।
त्यसपछि उनले नेपाली व्यवसायीहरूलाई समेत साथमा लिएर थप होटलहरू खोल्दै गए । केही होटल पुराना भवन किनेर पुनर्निर्माण गरिएका छन् भने केही जग खनेरै नयाँ बनाइएका छन् ।
सन् २०२० मा मोनाहान्समै ८९ कोठाको हथर्न सुइट्स बाइ विन्डहम होटल र त्यसैसँग १२ एकाइको अपार्टमेन्ट निर्माण गरियो । यी दुवै अहिले उनकै समूहको स्वामित्वमा सञ्चालनमा छन् । यस होटलले सन् २०२१ देखि लगातार उत्कृष्ट हथर्न होटलको अवार्ड पाउँदै आएको छ । ‘यो हाम्रो समूहका लागि गर्वको विषय हो’ पण्डित भन्छन् ।
लुइजियानाको हुमा सहरमा रहेको ८४ कोठाको ह्याम्पटन बाइ हिल्टन होटल हरिकेन आइडा नामको समुन्द्री आँधीले पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो । उनको टोलीले डेढ वर्षभित्रै सम्पूर्ण होटल पुनर्निर्माण गरी फेरि सञ्चालनमा ल्यायो ।
वाशिङ्टन डीसी नजिकैको ग्रिनबेल्टमा सन् २०२१ देखि सञ्चालित २०६ कोठाको होलिडे इन होटललाई आधुनिकीकरण गरी होलिडे इन र क्यान्डलवुड सुइट्स गरी दुई ब्रान्डमा रूपान्तरण गरिँदैछ ।
गत सेप्टेम्बरमा नर्थ क्यारोलाइनाको मेबेन सहरमा १०३ कोठाको नयाँ होटल उद्घाटन भयो, जसमा ला क्विन्टा इन र हथर्न एक्सटेन्डेड स्टे गरी दुई ब्रान्ड एउटै भवनमा छन् ।
अमेरिकामा घर/बस्ती निर्माण
होटलसँगै पण्डितको लगानी आवासीय तथा व्यावसायिक परियोजनामा पनि फैलिएको छ । सन् २०१४ मा आयोवाको बेटेनडोर्फमा ३० घरको बस्ती बनाएर उनले यस क्षेत्रमा प्रवेश गरे । ती घर बिक्री भइसकेका छन् र त्यहाँ पाँच नेपाली परिवार बस्छन् ।
विस्कन्सिनको मेनाशामा लेक पार्क सवडिभीजनमा ३१ बटा घर मध्ये अधिकांश बिक्री भैसकेका छन् । भर्जिनियाको विन्चेस्टरमा ४२ टाउनहोमको काम अन्तिम चरणमा छ । भर्जिनियाकै ह्यारिसनबर्गमा जेम्स मेडिसन विश्वविद्यालय परिसर नजिकै अपार्टमेन्ट धमाधम बन्दैछन् ।

नर्थ क्यारोलाइनाको मोरिसभिलमा मोरिसभिल गार्डेन्स नामको बस्ती बन्दैछ । क्यालिफोर्नियाको ओकहसर्टसमा ८७ एकाइको उच्चस्तरीय टाउनहोम बस्ती निर्माणको चरणमा छ भने टेक्सासको ग्लेन रोजमा ६० टाउनहोमको बस्ती तयारीमा छ । मेरिल्याण्डको फ्रेडरिकमा ५९ लटको एकल परिवार आवासीय बस्ती निर्माणाधीन छ । भर्जिनियाको लुरेमा प्रसिद्ध लुरे केभर्न नजिकै ५०० भन्दा बढी एकल परिवार घर र टाउनहोमका लट विकासको योजनामा छन् । जर्जियाको मेकनमा १२ लटको बिजनेस पार्क पनि निर्माणाधीन छ ।
एभरेस्ट पार्क : नर्थ क्यारोलाइनामा नेपाली बस्तीको सपना
नर्थ क्यारोलाइनाको साइलर सिटीमा २९३ एकड जग्गामा बन्ने एभरेस्ट पार्क पण्डितको सबैभन्दा महत्त्वाकांक्षी परियोजना हो । यसको मास्टरप्लान सन् २०२३ मा स्थानीय सरकारबाट स्वीकृत भइसकेको छ ।
पूर्ण भएपछि यहाँ करिब ९०० घर, टाउनहोम र व्यावसायिक भवन बन्नेछन् । पहिलो चरणमा ९० टाउनहोम र १० घर गरी १०० घर बनाउने काम अघि बढेको छ । घरसँगै सपिङ सेन्टर, ज्येष्ठ नागरिक आवास र मन्दिर बनाउने योजना छ ।
अमेरिकी सडकमा नेपाली नाम
नेपालबाट करिब १२ हजार किलोमिटर टाढा अमेरिकाका सडकमा नेपाली नाम भेटिनु धेरैलाई अनौठो लाग्न सक्छ । पण्डितले आफ्ना परियोजनामा नेपाली ठाउँ र पहिचान झल्काउने नाम राख्ने प्रयास गर्दै आएका छन् ।
आयोवाको बस्तीमा ‘पण्डित ड्राइभ’ र भर्जिनियाको विन्चेस्टरमा ‘नेपाल कोर्ट’ छन् । विस्कन्सिनको मेनाशा परियोजना साझेदार तथा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएन आईसीसी) का उपाध्यक्ष बुद्धि सुवेदीको घर नजिकै भएकाले, उनको जन्मथलो र पण्डितले हाई स्कुल पढेको ठाउँ माडीको सम्झनामा त्यहाँको सडकको नाम ‘माडी कोर्ट’ राखिएको छ । नर्थ क्यारोलाइनाको मोरिसभिलको बस्तीमा ‘एभरेस्ट ड्राइभ’ छ भने एभरेस्ट पार्कमा ‘नेपाल एभिन्यु’, ‘हिमाल ग्लेन ड्राइभ’ र ‘थानी ट्रेल’ जस्ता नाम राखिएका छन् ।
जन्मभूमितर्फ फर्केको लगानी
अमेरिकासँगै उनी नेपालमा पनि लगानी गर्दै आएका छन् । उनी संलग्न समूहले ताप्लेजुङमा २८.१ मेगावाटको अपर काबेली जलविद्युत् आयोजना अमेरिका र नेपालमा रहेका नेपालीहरूको लगानीमा करिब तीन वर्षमा निर्माण सम्पन्न गरेको छ । यो आयोजना यसै वर्षदेखि सञ्चालनमा आउँदैछ ।

आफू जन्मेको गाउँ, तनहुँको भानु नगरपालिका–१२ रतनपुर, मिर्लुङमा पण्डितले अलकापुरी परियोजना सुरु गरेका छन् । यसका साथै माथिल्लो मुस्ताङमा २० देखि १०० मेगावाटसम्मको सौर्य आयोजना प्रस्तावित छ ।
सानो पसलदेखि ठूला परियोजनासम्म
सन् १९९२ मा उच्च शिक्षाका लागि अमेरिका आएका पण्डितले वाशिङ्टन डीसीको स्ट्रेयर विश्वविद्यालय र क्यानडाको टोरन्टोमा कम्प्युटर विज्ञान र व्यवसाय सम्बन्धी अध्ययन गरे । त्यसपछि उनले पाँच वर्ष आईबीएममा सिस्टम इन्जिनियरका रूपमा काम गरे।
सन् २००१ मा टोरन्टोमा सानो किराना पसल किनेसँगै उनको व्यावसायिक यात्रा सुरु भयो । व्यवसायमै आफ्नो भविष्य देखेपछि उनले आईबीएमको जागिर छोडे र सन् २००४ मा परिवारसहित टेक्सासको ड्यालस सरे ।
डलासको प्लानोमा उनले लगातार तीन वर्ष घाटामा चलिरहेको अमेरिकन रेस्टुरेन्ट र पेट्रोल पम्प खरिद गरे । व्यवस्थापनमा सुधार गरेपछि पहिलो वर्षमै त्यो व्यवसाय नाफामा आयो ।
सन् २००७ मा उनी आयोवाको बेटेनडोर्फ सरे । त्यहाँ उनले सुपरमार्केट, डलर स्टोर, क्वाड सिटीको पहिलो अन्तर्राष्ट्रिय किराना पसल, कन्भिनियन्स स्टोर, रेस्टुरेन्ट, लन्ड्रोम्याट र लिकर स्टोर लगायत करिब १५ व्यवसाय सञ्चालन गरे, जसमध्ये अधिकांश उनले सुरुदेखि नै स्थापना गरेका थिए । ग्रेट क्लिप्सको फ्रेन्चाइज सलुन र टेरियाकी म्याडनेस रेस्टुरेन्टको फ्रेन्चाइज लिने पहिलो नेपाली पनि उनी नै हुन् । उनले चारवटा व्यावसायिक प्लाजा पनि सञ्चालन गरे, जहाँ सीभीएस फार्मेसीसहित करिब ४० व्यवसाय थिए ।

आज उनको मुख्य ध्यान होटल र आवासीय बस्ती निर्माणमा छ । उनको समूहसँग दीर्घकालीन र छोटो अवधिका लागि भाडामा दिइने ३० भन्दा बढी आवासीय एकाइ पनि छन् । उनी अमेरिकामा रहेको नेपालीद्धारा सञ्चालित एभरेस्ट फेडरल क्रेडिट युनियनको सञ्चालक समितिका सदस्य पनि हुन् । अमेरिकी संघीय सरकारबाट अनुमति प्राप्त यो क्रेडिट युनियनले अमेरिकामा रहेका नेपाली डायस्पोरासहित वित्तीय सेवाबाट वञ्चित समुदायलाई सहज वित्तीय पहुँच उपलब्ध गराउँछ ।
समुदायप्रतिको दायित्व
व्यवसायसँगै पण्डित सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् । यसै वर्षको विनाशकारी बाढीपछि शव राख्ने ब्यागको तत्काल अभाव भएपछि मिसन रिबिल्ड नेपाल अभियानमार्फत उनले १०० ब्याग उत्पादन गराएर विज्ञान तथा प्रविधि मन्त्रीमार्फत सरकारलाई हस्तान्तरण गरे । नुवाकोट र रसुवाका विस्थापित परिवारसम्म पुगेर अत्यावश्यक सामग्री वितरण गरियो। सो अभियानमार्फत १९४ जनाबाट उठेको २ करोड ७० लाख रुपैयाँ राहत र पुनर्निर्माणका लागि सरकारलाई हस्तान्तरण गरियो ।
उनी केपल्स युएसएका सह संस्थापकमध्ये एक हुन् । केपल्स युएसए डा. भगवान कोइरालाको नेतृत्वमा रहेको काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) को भगिनी संस्था हो । किओचले दमकमा एउटा र काठमाडौँमा ‘किओच काठमाडौँ चिल्ड्रेन्स हस्पिटल’ गरी दुईवटा परोपकारी बाल अस्पताल सञ्चालनमा ल्याएको छ ।
सन् २०१५ को भूकम्पपछि राधेशको नेतृत्वमा क्वाड सिटी (आयोवा र इलीनोइ राज्यको सिमानामा रहेको शहर) नेपाली कम्युनिटीमार्फत करिब १ लाख डलर सहयोग जुटाइयो । त्यस रकमबाट तनहुँको घलेछापमा अस्थायी विद्यालय संरचना बनाइयो, गोरखाको आँपपिपलमा अस्थायी विद्यालयलाई सहयोग गरियो र ललितपुरमा दुई तले विद्यालय बनाइयो ।
सन् २००२ मा नेपाली एसोसिएसन इन क्यानडाको अध्यक्ष हुँदा उनले टोरन्टोमा पहिलो नेपाली हिन्दु मन्दिर तथा सामुदायिक केन्द्र निर्माण परियोजनाको संयोजन गरेका थिए। आज त्यो मन्दिर पूर्ण रूपमा सञ्चालनमा छ र २०० भन्दा बढी स्थानीय परिवार त्यहाँका सामुदायिक गतिविधिमा सक्रिय छन् । उनको परिवारले काठमाडौमा रहेको नेपाल मानव सेवा संस्थाका २१ बालबालिकाको पढाइ खर्च पनि वर्षौंदेखि नियमित रूपमा व्यहोर्दै आएको छ ।
उनी गैरआवासीय नेपालीका गतिविधिमा पनि सक्रिय छन् । युवालाई नवप्रवर्तनमार्फत सशक्त बनाउने ड्रिम बिग च्यालेन्ज कार्यक्रममा उनले कोच र निर्णायकको भूमिका निर्वाह गरेका छन् ।

प्रतिक्रिया 4