News Summary
Generated by OK AI. Editorially reviewed.- मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा माइक्रोबस सडकबाट करिब ७ सय मिटर तल खस्दा चालकसहित १४ जनाको मृत्यु भएको छ।
- सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलकी निर्मला देवी यादवले दुर्घटनामा दुई छोरा, बुहारी र तीन नातिनी गुमाएकी छन्।
- दुर्घटनामा ६ जना घाइते भएका छन्, र उनीहरूको उपचारका लागि काठमाडौं पठाइएको छ।
२६ कात्तिक, जनकपुरधाम/सर्लाही । भोलि शुक्रबारदेखि आस्थाको महापर्व छठ विधिवत सुरु हुँदै छ । त्यही छठ मनाउन सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलस्थित घरमा निर्मला देवी यादवले पूजा सामग्रीहरूको जोहो गरिसकेकी थिइन् ।
काठमाडौंबाट बुधबार साँझ हिडेका छोराबुहारी नातीनातिनाहरू बिहीबार बिहान आइपुग्ने प्रतीक्षामा थिइन् निर्मला ।
तर, गतवर्ष झैं रमाइलो गरी छठ मनाउने तयारी गरेकी निर्मलाको आज बिहानै आएको दुःखद् खबरले होस उडेको छ ।
किनभने छोराबुहारी नातिनातिना चढेर आउँदै गरेको माइक्रो मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा सडकबाट सातसय मिटर तल खस्दा अहिलेसम्म १४ जनाको मृत्यु भइसकेको छ । जसमा निर्मलाको घरका ६ जनाको ज्यान गएको छ ।
उनले दुई छोरा, बुहारी र तीन नातिनी गुमाएकी छन् । परिवार काठमाडौंमा तरकारी र फलफूलको व्यापार गर्दै आएको छ । मोटरसाइकलमा अर्कोदिन आउँछु भनेका उनका छोरा अवधेश यादव र १५ महिने नाती दुर्घटनामा बाँच्न सफल भएका छन् ।
दुर्घटनामा निर्मलाका छोरा २५ वर्षीय विकेश यादव र १७ वर्षीय सुदेश यादवको मृत्यु भएको छ । यस्तै बुहारी अवधेशकी श्रीमती २५ वर्षीया पुनम यादव, छोरीहरू १० वर्षीया अनु कुमारी यादव, ७ वर्षीया दिक्षा यादव र ५ वर्षीया दीपिका यादवको मृत्यु भएको छ ।

खबर सुन्नासाथ विचलित भएकी उनलाई आफन्तले दुर्घटनास्थल भीमफेदी नजिक पुर्याएका छन् । निर्मला र छोरा अवधेशको परिवार नै उजाडिएको छ । यो खबरले निर्मला र अवधेशलाई आफन्तले सम्हाल्नै मुस्किल परेको छ ।
पुनम आठ महिनाकी गर्भवती थिइन्। उनीसँगै गाडीमा सवार १५ महिने छोरा सुदीप भने घाइते भएका छन् । उनलाई थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल पठाइएको छ ।
अवधेशका छिमेकीका अनुसार बिहीबार राति २ बजे परिवारलाई घर पठाउन १२ हजार रुपैयाँमा विद्युतीय माइक्रोबस रिजर्भ गरेका थिए । आफू भने पछि मोटरसाइकलमा आउने तयारीमा थिए । तर परिवारलाई घर पठाएको केही समयमै दुर्घटनाको खबरले उनलाई स्तब्ध बनायो ।

एक दशकभन्दा बढी समयदेखि काठमाडौंमा तरकारी र फलफूल बेच्दै आएका उनी परिवारको भविष्य बनाउन संघर्षरत थिए । श्रीमती, तीन छोरी, एक छोरा र दुई भाइसँगै काठमाडौंमा बस्दै आएका अवधेशका लागि परिवार नै सबैथोक थियो ।
काठमाडौंमा तरकारी र फलफूल बेचेर उनले परिवारको खर्च चलाउँथे । भाइहरूको पढाइमा पनि सहयोग गर्दै आएका थिए । कान्छा भाइ विकेशलाई उनले सिभिल सबइन्जिनियर पढाएका थिए ।
पढाइ पूरा गरेपछि विकेश लोकसेवाको तयारीमा थिए । अर्का भाइ सुदेश दसैँमा मात्रै काठमाडौं पुगेका थिए । दुवै भाइ फुर्सदको समयमा दाईलाई व्यवसायमा सघाउँथे ।
परिवारको आर्थिक अवस्था सुधार्ने र भाईहरूको भविष्य बनाउने सपना बोकेर दिनरात संघर्ष गरिरहेका अवधेशले एकै दुर्घटनामा श्रीमती, छोरीहरू र भाइहरू गुमाउनुपरेको छ ।
अवधेशका बुवा रामसुनार यादवको आठ वर्षअघि भारतको चण्डीगढमा रोजगारीका क्रममा निधन भएको थियो । त्यसपछि परिवारको जिम्मेवारी अवधेशकै काँधमा आएको थियो । बुवाको मृत्युपछि काठमाडौंमा पसिना बगाएर उनले परिवार धान्दै आएका थिए ।
अवधेशका काका प्रेमलाल रायका अनुसार परिवारको आर्थिक अवस्था कमजोर छ । उनीहरूसँग पर्याप्त जग्गाजमिन छैन । गाउँमा ५–७ धुर जग्गामा बनेको झुप्रो घर र ३–४ कठ्ठा खेत मात्रै छ ।
‘घरको आर्थिक अवस्था कमजोर हुँदा अवधेश काठमाडौं बसेर फलफूलको व्यवसाय गरेर परिवार चलाउँथे । भाई र छोराछोरी पढाउँथे । तर उनको सबै गुमिसक्यो’ स्तब्ध काका प्रेमलालले भने,’ अब ‘निर्मला र अवधेशले कसरी धिरज राख्छ ।’
ठूलो बज्रपात भएको निर्मला र अवधेश मात्र होइन उनका छिमेक पनि शोकमा डुबेका छन् ।
अवधेशको परिवारसँगै सोही गाडीमा आउँदै गरेका टोलका अन्य सात जना र कविलासी नगरपालिका–८ अगर्वाका चालक रविशङ्कर कुमार मण्डलको पनि दुर्घटनामा मृत्यु भएको छ ।

दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भएको छ । मृत्यु हुने चालक रविशङ्कर कुमार मण्डल सर्लाहीको कविलासी नगरपालिका–८ अगर्वाका हुन् । चालकबाहेक मृत्यु हुने अन्य १३ जना चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका बासिन्दा हुन् ।
मृत्यु हुनेमा निर्मलाकी छिमेक ३५ वर्षीय गुड्डु यादव, उनकी ३० वर्षीया श्रीमती गायत्री देवी यादव, २५ वर्षीय रामदुलार यादव, २४ वर्षीय सुबोध यादव, ४० वर्षीय राकेश यादव, उनका १५ वर्षीय छोरा रोहन यादव र राकेशका २५ वर्षीय सालो रामप्रवेश यादव (छोटु) छन् । अन्य ६ जना घाइते भएका छन् ।
घाइते हुनेमा ३३ वर्षीय मुकेश यादव, ५ वर्षीय सक्षम कुमार यादव, ३ वर्षीय सुजन यादव, ३१ वर्षीय देवेन्द्र राय (बेचु), २६ वर्षीय देवेन्द्र राय र अवधेशका १५ महिने छोरा सुदीप यादव छन् ।

मृत्यु हुने चालकबाहेक सबै काठमाडौंमा तरकारी तथा फलफूलको व्यापार गर्दै आएका थिए । उनीहरू छठ पर्व मनाउन घर फर्कि रहेका थिए । तर १४ जना अब कहिल्यै घर नफर्किने गरी सदाका लागि बिलाएका छन् ।
ठूलो संख्यामा एउटै टोलका मानिसको मृत्युले सुन्दरपुरटोलमा सन्नाटा छ । चाडपर्वको उल्लास हराएको छ । मानिसहरू शोक मग्न छन् । यसपटक छठमा सुन्दरपुर टोलमा परेको बज्रपात कहिल्यै परेको थिएन ।
प्रतिक्रिया 4