+
+
Shares

लोकतन्त्रमाथि प्रहार भए अन्य दलसँग सहकार्य गर्न कांग्रेस पछि हट्दैन : महामन्त्री पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २७ गते १४:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महामन्त्री प्रदीप पौडेलले सरकारले कार्यशैली नसच्याए लोकतन्त्रको रक्षाका लागि कांग्रेस आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन्।
  • उनले आगामी चैतमा स्थानीय तहको निर्वाचन हुनेमा संशय रहेको भन्दै सरकारले निर्वाचनको तयारी र प्रतिबद्धता स्पष्ट पार्नुपर्ने बताए।
  • पौडेलले स्थानीय तहलाई जनप्रतिनिधिविहीन हुन नदिन निर्धारित समयमा निर्वाचन गर्नुपर्ने र आवश्यक परे संविधान संशोधन गर्नुपर्ने उल्लेख गरे।

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास भए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले आफ्नो कार्यशैली नसच्याए लोकतन्त्रको रक्षाका लागि आन्दोलनमा उत्रिन कांग्रेस बाध्य हुने बताए । पौडेलले आगामी चैतमा स्थानीय तहको निर्वाचन हुनेमा नै संशय उत्पन्न भएको भन्दै सरकारले निर्वाचनको तयारी र प्रतिबद्धता स्पष्ट पार्नुपर्ने बताए ।

‘सरकारले स्थानीय तहको निर्वाचन प्रणाली परिवर्तन गर्न कुनै ठोस गृहकार्य गरेको देखिँदैन । बरु आगामी चैतमा निर्वाचन हुन्छ कि हुँदैन भन्ने विषयमै अन्योल सिर्जना भएको छ । तोकिएको समयमा निर्वाचन गराएर स्थानीय तहलाई जनप्रतिनिधिविहीन हुन नदिनु अहिलेको प्रमुख विषय हो । स्वतन्त्र उम्मेदवारबीच मात्रै प्रतिष्पर्धा हुने व्यवस्था ल्याउन संविधान संशोधन आवश्यक पर्छ,’ उनले भने ।

निर्धारित समयमा निर्वाचन नगरेर स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने अवस्था स्वीकार्य नहुने उनको भनाइ छ । स्थानीय तहको निर्वाचन दलीय प्रतिष्पर्धाबिना स्वतन्त्र उम्मेदवारबीच मात्रै गराउने सोच सरकारको भए संविधान संशोधन गर्नुपर्ने उल्लेख गर्दै उनले त्यसका लागि सरकारले कुनै गृहकार्य नगरेको टिप्पणी गरे ।

‘सरकारको वास्तविक योजना र उद्देश्यबारे स्पष्टता आवश्यक छ । नेपाली कांग्रेस अहिले सडक आन्दोलनमा जानुभन्दा पनि सरकारलाई सचेत गराउँदै शान्तिपूर्ण र विधिसम्मत ढंगले आफ्ना प्रश्न राख्ने पक्षमा छ । नागरिकले सडकमा नआई पनि आफ्ना आवाज सरकारसम्म पुर्‍याउन सक्ने वातावरण हुनुपर्छ,’ उनले भने ।

सरकारले नागरिकका आवाज र असहमतिलाई सुन्नुपर्ने भन्दै उनले सडकमा उभिएर आफ्ना कुरा राख्ने नागरिकको आवाजसमेत सुनिने वातावरण बनाउनुपर्ने बताए ।

‘तर लोकतान्त्रिक व्यवस्था नै संकटमा पर्ने अवस्था आएमा त्यसको रक्षाका लागि आन्दोलन र अन्य दलसँग सहकार्य गर्न कांग्रेस पछि हट्ने छैन । कांग्रेसको भनाइमा लोकतन्त्रको रक्षा र समयमै निर्वाचन सम्पन्न गर्नु अहिलेका प्रमुख सरोकार हुन्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?