News Summary
Generated by OK AI. Editorially reviewed.- सोनिया गान्धीले आफ्नो आगामी संस्मरण ‘बिलङिङ : अ जर्नी अफ लभ’ मा भारतसँगको अपनत्व, प्रेम, पहिचान, परिवार र वियोगको यात्रालाई केन्द्रमा राखेकी छन्।
- उनले राजीव गान्धीसँगको सम्बन्ध मात्र नभई इन्दिरा गान्धी, राहुल र प्रियंकासँगको पारिवारिक अनुभवले पनि भारतप्रतिको अपनत्व विकास भएको बताएकी छन्।
- सन् १९९९ मा विदेशी मूललाई लिएर उठेको विवादले आफूलाई गहिरो चोट पुगेको र स्वीकृतिको प्रश्न जटिल बनेको उनले बताएकी छन्।
२८ कात्तिक, काठमाडौं । इटालीको एउटा सानो सहरबाट युवतीका रूपमा भारत आएकी सोनिया गान्धीका लागि ‘अपनत्व’ (बिलङिङ) को अर्थ केवल बस्ने ठाउँ खोज्नुमा सीमित थिएन । यो प्रेम, पहिचान, परिवार, वियोग र अन्ततः आफूले आफ्नो भन्न सक्ने देशसँग जोडिएको विषय थियो । यही यात्रालाई उनले आफ्नो आगामी संस्मरण ‘बिलङिङ : अ जर्नी अफ लभ’ को केन्द्रमा राखेकी छन् ।
हालै द हिन्दुसँगको विशेष अन्तर्वार्तामा सोनियाले पुस्तकको शीर्षक ‘बिलङिङ’ राख्नुको कारण खुलाएकी छन् । आफ्नो जीवनलाई फर्केर हेर्दा त्यसका कैयौँ अध्यायलाई एउटै सूत्रले जोडेको उनको भनाइ छ । त्यो हो–प्रेम र प्रेमबाट विकसित हुने निष्ठा ।
यो यात्राको सुरुवात बेलायतबाट भएको थियो । इटालीको एउटा सानो सहरकी १९ वर्षीया युवतीले त्यहीँ भारतीय विद्यार्थी राजीव गान्धीलाई भेटेकी थिइन् । दुई युवाबीचको सम्बन्धबाट सुरु भएको यात्राले उनलाई बिस्तारै नयाँ देश, नयाँ परिवार र उनले कल्पनासमेत नगरेको जीवनतर्फ डोर्यायो ।
तर सोनियाले स्पष्ट पारेझैँ, यो कथा राजीवसँगको सम्बन्धमा मात्र सीमित छैन । राजीवको परिवार र उनीहरू जोडिएको देशलाई उनले कसरी माया गर्न थालिन् र अन्ततः भारतमा अपनत्वको भावना कसरी विकास भयो भन्ने विषय पनि संस्मरणको महत्त्वपूर्ण पाटो हो । सासू तथा पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीसँगको सम्बन्ध र राहुल तथा प्रियंकालाई हुर्काउँदाका वर्षहरू पनि यस यात्राका अभिन्न हिस्सा हुन् ।
राजनीतिक पृष्ठभूमि र अपनत्वको सङ्घर्ष
बीबीसीमा प्रकाशित सामग्रीले पुस्तकको शीर्षकलाई अर्को दृष्टिकोणबाट व्याख्या गरेको छ । त्यसले सोनियाले वर्षौँसम्म सामना गरेको जटिल परिस्थितिलाई उजागर गर्छ । इटालीमा जन्मिएर भारतको सबैभन्दा प्रभावशाली राजनीतिक परिवारको हिस्सा बनेकी उनले आफ्नो जन्मभूमि र मूललाई लिएर निरन्तर प्रश्नको सामना गर्नुपर्यो ।
नेहरू–गान्धी राजनीतिक विरासतसँग जोडिएको उनको सम्बन्धले पनि अपनत्वको प्रश्नलाई जटिल बनाएको थियो । यसले अपनत्व पाउनु भनेको आफ्नो ठाउँ खोज्नु मात्र नभई परिवारको इतिहास र विरासतलाई समेत आत्मसात् गर्नु हो भन्ने देखाउँछ ।
यो जटिलता सन् १९९९ मा आफ्नो विदेशी मूललाई लिएर उठेको विवादमा पनि देखिएको थियो । कांग्रेसकै केही नेताले पार्टीको नेतृत्व गर्ने उनको अधिकारमाथि प्रश्न उठाउँदा आफूलाई गहिरो चोट पुगेको सोनियाले अन्तर्वार्तामा बताएकी छन् ।
उनका अनुसार, त्यो घटना ठूलो धक्काका रूपमा आएको थियो । किनकि त्यतिबेलासम्म पनि केही सहकर्मीले उनलाई बाहिरियाकै रूपमा हेरेका थिए । भारतमा दशकौँ बिताएर जीवन निर्माण गरिसकेकी उनका लागि यो अनुभवले स्वीकृति र अपनत्वको प्रश्न कति जटिल हुन्छ भन्ने देखाएको थियो ।
यस शीर्षकसँग गहिरो पीडा र वियोग पनि जोडिएको छ । सन् १९८४ मा इन्दिरा गान्धी र सन् १९९१ मा राजीव गान्धीको हत्याले उनको जीवनको दिशा नै बदलिदियो । निजी जीवनमा रमाउने स्वभाव भए पनि पति र भारतप्रतिको प्रेम तथा कर्तव्यबोधले आफूलाई अन्ततः सार्वजनिक जीवनमा आउन प्रेरित गरेको उनको जीवनयात्राले देखाउँछ ।
राजनीतिक विरासतभन्दा परको व्यक्तिगत कथा
सोनियाले आफ्नो संस्मरणलाई राजनीतिक वृत्तान्तभन्दा व्यक्तिगत जीवनको कथा मानेकी छन् । पाठकले आफ्नो परिवारलाई उनीहरूले निर्वाह गरेका सार्वजनिक भूमिकाबाट मात्र नचिनून् भन्ने उनको चाहना छ । बरु उनीहरूका प्रेरणा, सङ्घर्ष र मानवीय कमजोरीसहित वास्तविक मानिसका रूपमा बुझून् भन्ने उनी चाहन्छिन् ।
सायद यही कारण ‘बिलङिङ’ शीर्षक उनका लागि अर्थपूर्ण छ । सोनियाको यात्रा देश परिवर्तन गर्नु वा प्रसिद्ध राजनीतिक परिवारको सदस्य बन्नुमा मात्र सीमित थिएन । यो भावनात्मक सम्बन्ध निर्माण गर्ने, अपरिचित परिवेशमा आफ्नो घर खोज्ने र जीवनले अकल्पनीय क्षति दिँदा पनि ती सम्बन्धलाई सम्हालिरहने यात्राको कथा हो ।
संस्मरणमार्फत उनले आफ्नो थरसँग जोडिएको राजनीतिक विरासतभन्दा परको अन्तरंग कथा भन्न खोजेकी छन् । त्यो एक महिलाको कथा हो, जो प्रेमका लागि भारत आइन्, जीवनका कठिनतम क्षणमा पनि यहीँ अडिइन् र समयक्रममा भारतलाई आफ्नो देशका रूपमा आत्मसात् गरिन् ।
प्रतिक्रिया 4