News Summary
Generated by OK AI. Editorially reviewed.- हर्क साम्पाङले गौरी मल्ल र मनोज गजुरेल पक्राउ परेको भन्दै बालेन सरकारलाई प्रश्न गरेपछि यो फिल्म ‘काकाकिकी’ टिमको प्रचार फन्डा भएको खुलेको छ।
- फिल्मको ट्रेलर सार्वजनिकलाई धमाकेदार बनाउन टिमले गौरी मल्ल र मनोज गजुरेललाई प्रहरीले उठाएको जस्तो दृश्य देखाएर सामाजिक सञ्जालमा हल्लीखल्ली मच्चाएको थियो।
- हर्क साम्पाङले पहिलो स्टाटस मेटेर दोस्रो स्टाटसमा यस्तो प्राङ्कको सहारा लिएर बनाएको सामग्री कस्तो होला भन्दै फिल्म निर्माण टिमसँग जवाफ मागेका छन्।
‘दिग्गज अभिनेत्री गौरी मल्ल, तगडा स्ट्यान्डअप कमेडियन मनोज गजुरेललाई प्रहरीले ठाउँको ठाउँबाट उठाए । हातकडी लगाए । अनि भ्यानमा हालेर कतै लगे ।’ यसो भन्दा कसको कान ठाडो हुँदैन ? कसको मनमा ढ्याङ्ग्रो बज्दैन ?
अपवाद होइनन् नि हर्क साम्पाङ । उनको पनि त आममान्छेको जस्तै मांसपिण्डले निर्मित शरीर हो । त्यहाँभित्र मन छ, त्यहाँभित्र मुटु छ । उनको कानले सुने वा सामाजिक सञ्जालमा देखे, ‘जल्दो बल्दो कलाकारलाई दिनदहाडै प्रहरीले उठाएर लगे ।’
यति कुरा सुनेपछि हर्क साम्पाङ चुप लागेर बस्छन् त ? उनको धैर्यको बाँध टुटिहाल्यो । अन्ततः उनले उही आफ्नो खरानी पृष्ठभूमिको फेसबुक टाइमलाइनमा लेखिहाले, ‘गौरी मल्ल, मनोज गजुरेल आदिलाई किन पक्रेको ?’ उनले यसमा चासो मात्र व्यक्त गरेनन् । बालेन सरकारलाई जवाफदेही बनाउन प्रश्न गरे, ‘जवाफ दे सरकार ।’
तर के जवाफ दिनु ? यसको कुनै जवाफ नै त थिएन । किनभने यो ‘काकाकिकी’ नामको फिल्म टिमले अपनाएको फन्डा थियो । ट्रेलर सार्वजनिकलाई धमाकेदार बनाउन कसैले अपनाएको जुक्ति थियो । फिल्म हो, फिल्मी शैली त अपनाउनै प¥यो ।
फिल्ममा कन्टेन्टभन्दा प्रचार बढी गर्ने जुन शैली छँदैछ । ‘बोल्नेको पीठो बिक्छ’ भन्ने उखान सुन्दै आएका फिल्म निर्माण टिम यो गुरुमन्त्रबाट किन पो पछि हट्थे र ? उनीहरूले ठूलै हल्लीखल्ली मच्चाउन यस्तो कोरियोग्राफी गरिदिए । ‘उल्लु बनाया, बडा मज्जा आया’ भने जसरी उनीहरूले सामाजिक सञ्जालमा ठूलै हल्लीखल्ली मच्चाइदिए ।
हर्क साम्पाङले आफूमाथि ‘अप्रिल फूल’ भएको धेरै पछि मात्र बुझेछन् । अनि त उनलाई बालेन सरकार होइन, फिल्म निर्माण टिमप्रति झोँक चलेछ । उनले पहिलो स्टाटस सर्लक्क मेटाए र दोस्रो स्टाटस लेखे, ‘गौरी मल्ल पक्राउ परेको छ्यापछ्याप्ती मिडियामा आयो । मैले सरकारलाई प्रश्न सोधें ।
केही घण्टापछि होइन, युट्युबमा अपलोड गरेको भनियो । त्यतिका पत्रकारका हूलले क्यामेरामा सुट गरे । अब भन्नुस्, प्राङ्कले जीवन चल्छ ? यो किसिमको हर्कतको सहारा लिएर बनाएको सामग्री कस्तो होला ? त्यो हाइटको नायिकाको यो खाले हर्कत ! अब गौरी मल्ल र त्यो टिमले जवाफ दिने कि नदिने ?
हर्क साम्पाङले जवाफ पनि यसरी मागिरहेका छन्, मानौँ उनी कक्षा एकका शिक्षक हुन् ।
हर्क सर, राजनीतिमा जस्तै फिल्ममा पनि लप्पनछप्पन चल्छ नि । नभए त करोडको लगानी कहाँबाट उठाउने ?
प्रतिक्रिया 4