+
+
Shares

इमरान खानले मागे उपचार, यातनाका कारण जीवित फर्कन नसक्ने अवस्था रहेको जिकिर

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १ गते १३:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानले यातनाका कारण आफू जीवित फर्कन नसक्ने भन्दै तत्काल उपचारको माग गरेका छन् ।
  • खानले आफ्नी पत्नी बुशरा बीबीको स्वास्थ्य पनि बिग्रँदै गएको भन्दै तत्काल उपचारको व्यवस्था गर्न आग्रह गरेका छन् ।
  • पाकिस्तानी अधिकारीहरूले खानको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको र उनलाई आवश्यक सबै सुविधा उपलब्ध गराइएको दाबी गरेका छन् ।

१ मंसिर, काठमाडौं । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले यातनाका कारण आफू जीवित फर्कन नसक्ने अवस्था रहेको भन्दै तत्काल उपचारको माग गरेका छन् ।

७४ वर्षीय खानले आफ्नो वकिल सलमान सफदरमार्फत सार्वजनिक गरेको पत्रमा आफ्नो र पत्नी बुशरा बीबीको स्वास्थ्य अवस्था बिग्रँदै गएको भन्दै तत्काल उपचारको व्यवस्था गर्न माग गरेका हुन् ।

इस्लामाबादका अधिकारीहरूले भने खानको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको दाबी गरेका छन् । उनलाई हरेक साता चिकित्सकले स्वास्थ्य परीक्षण गर्दै आएको अधिकारीहरूको भनाइ छ ।

१०० भन्दा बढी मुद्दा खेपिरहेका खान सन् २०२३ अगस्टदेखि जेलमा छन् । उनकी पत्नी बुशरा बीबी पनि गत वर्षदेखि जेलमा छिन् । खानले आफू र पत्नीविरुद्ध लगाइएका भ्रष्टाचार तथा सरकारी उपहार बिक्रीलगायतका आरोप राजनीतिक प्रतिशोधबाट प्रेरित रहेको दाबी गर्दै आएका छन् ।

पछिल्लो एक वर्षयता खानको स्वास्थ्य अवस्थाबारे चिन्ता बढ्दै गएको छ । उनको परिवारले जेल प्रशासनले समयमै उपचारको व्यवस्था नगर्दा दाहिने आँखाको अधिकांश दृष्टि गुमेको दाबी गरेको छ ।

आफ्नो पत्रमा खानले चिकित्सकहरूले आफूलाई मस्तिष्कमा रक्तस्राव र हृदयाघातको उच्च जोखिम रहेको जानकारी दिएको उल्लेख गरेका छन् । उनको मुटुमा समेत क्षति पुगिसकेको उनले बताएका छन् ।

खानले पत्नी बुशरा बीबीको स्वास्थ्य अवस्थाप्रति पनि चिन्ता व्यक्त गरेका छन् । उनका अनुसार बुशराको गत अप्रिलमा आँखाको रेटिनामा क्षति पुगेको थियो र गोप्य रूपमा शल्यक्रिया गरिएको थियो । थप शल्यक्रिया नगरिए उनले दृष्टि गुमाउन सक्ने खानको आशंका छ ।

‘मैले अनगिन्ती मुद्दामा असम्भवजस्ता कानुनी लडाइँ लडेको छु र अझै हार मानेको छैन । तर यो प्रणालीले मलाई न्याय दिन छाडेको छ,’ खानले पत्रमा लेखेका छन् ।

यसैबीच, खानले आफूलाई दिनको २२ घण्टासम्म एकान्त कारावासमा राखिएको दाबी गरेका छन् । यस्तो अवस्थामा परिवारका सदस्यसँग भेटघाट गर्न, पुस्तक पढ्न र टेलिभिजन हेर्नसमेत नदिइएको उनको भनाइ छ । यसले आफ्नो मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको उनले पत्रमा उल्लेख गरेका छन् ।

पछिल्लो एक वर्षमा आफूले वकिलहरूसँग जम्मा चार पटक मात्रै भेट्न पाएको पनि खानले दाबी गरेका छन् ।

‘म जीवित रहेँ भने मात्रै आफ्नो निर्दोषिता प्रमाणित गर्न सक्षम हुनेछु,’ उनले पत्रमा लेखेका छन् ।

तर पाकिस्तानका संसदीय मामिलामन्त्री तारिक फजल चौधरीले खानका दाबी अस्वीकार गरेका छन् । उनले खानलाई जेलभित्र आफूले रोजेको खानासहित आवश्यक सबै सुविधा उपलब्ध गराइएको बताएका छन् । ‘उहाँ अहिले पाकिस्तानकै सबैभन्दा बढी सुविधा पाउने कैदी हुनुहुन्छ,’ मन्त्री चौधरीले पत्रकारहरूसँग भनेका छन् ।

अधिकारीहरूका अनुसार एक साताअघि आँखामा औषधि (इन्जेक्सन) लगाउन खानलाई सरकारी अस्पताल लगिएको थियो । अस्पतालका चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था चिकित्सकीय दृष्टिले स्थिर रहेको बताएका थिए ।

पाकिस्तानको राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानसमेत रहेका खान सन् २०१८ देखि २०२२ सम्म देशको प्रधानमन्त्री थिए ।

सन् २०२३ मेमा उनको गिरफ्तारीपछि समर्थकहरूले देशका विभिन्न स्थानमा ठूलो स्तरका हिंसात्मक प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा लाहोरस्थित सैनिक कोर कमान्डरको निवासमा तोडफोड र लुटपाटसमेत भएको थियो । प्रदर्शनकारीहरूले झुमर फुटाउनुका साथै फर्निचर, चित्रकलादेखि मयूरसमेत लिएर गएको समाचारमा उल्लेख छ ।

प्रदर्शनका क्रममा कम्तीमा आठ जनाको मृत्यु भएको थियो भने हिंसा नियन्त्रणमा लिन सेनासमेत परिचालन गरिएको थियो ।

जेलभित्र रहे पनि खान पाकिस्तानी राजनीतिमा अझै प्रभावशाली व्यक्तित्वका रूपमा रहँदै आएका छन् ।

उनको रिहाइको माग गर्दै अक्टोबरको सुरुवातमा हजारौँ समर्थक सडकमा उत्रिएपछि अधिकारीहरूले प्रदर्शनमाथि दमन गर्ने आदेश दिएका थिए भने खानको पार्टीको बलियो पकड रहेको खैबर पख्तुनख्वा प्रान्तमा संकटकाल घोषणा गरेका थिए ।

यसैबीच, पूर्वअन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूले पछिल्ला केही महिनायता पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफलाई पटक–पटक अपिल गर्दै खानलाई उचित स्वास्थ्य उपचारको व्यवस्था गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?