News Summary
Generated by OK AI. Editorially reviewed.- सुभाष घईले ज्याकी श्रफको गायन प्रतिभाको प्रशंसा गर्दै उनीमाथि संगीतप्रधान फिल्म बनाउने समय आएको बताएका छन्।
- घईले यसअघि पनि ज्याकी स्टुडियोमा गीत गाउँदै गरेको तस्बिर सार्वजनिक गर्दै कुन फिल्मका लागि भनेर प्रतीक्षा गर्नुपर्ने बताएका थिए।
काठमाडौं । अभिनेता ज्याकी श्रफको अभिनय क्षमता धेरैलाई थाहा छ । उनले पर्दामा एक्सन, कमेडी र भावनात्मक भूमिका निर्वाह गरेर दर्शकको मन जितेका छन् । तर, उनीभित्र गायन प्रतिभा पनि रहेको कुरा फिल्म निर्माता तथा निर्देशक सुभाष घईले सार्वजनिक गरेका छन् ।
घईले सामाजिक सञ्जालमा एउटा पोस्ट गर्दै ज्याकीको गायन प्रतिभाको प्रशंसा गरेका छन् । उनले ज्याकीमाथि एउटा संगीतप्रधान फिल्म नै बनाउनुपर्ने धारणा राखेका छन् । यस्तो फिल्म दर्शकले निकै रुचाउने र सफल हुने उनको विश्वास छ ।
सुभाष घईले आफ्नो पोस्टमा ज्याकी श्रफ गीत गाउँदै गरेको भिडियो सार्वजनिक गरेका छन् । त्यससँगै उनले रोचक टिप्पणी पनि लेखेका छन् ।
उनले लेखेका छन्, ‘के तपाईंले ज्याकी श्रफलाई गीत गाएको सुन्नुभएको छ ? गीत गाउँदा उनी आफैँमा हराउँछन् । कहिले आत्माजस्तै, कहिले बच्चाजस्तै त कहिले जेनेरेसन जेडका युवाजस्तै देखिन्छन् । उनी जसरी गीत गाउँछन्, त्यसले तपाईंलाई मोहित बनाउँछ । उनको गायकी सुन्दा रमाइलो लाग्छ ।’
घईले थप लेखेका छन्, ‘उनको सुर नमिले पनि आफ्नै सुर हुन्छ, ताल नमिले पनि आफ्नै ताल हुन्छ । उनले गाएको गीत सुन्दा मौलिक गीतभन्दा पनि बढी आनन्द आउन सक्छ । ज्याकीसँग हुँदा खुसी अझ बढ्छ । उनी संगीतलाई पूर्ण रूपमा आत्मसात् गर्छन् । अब उनीमाथि संगीतप्रधान फिल्म बनाउने समय आएको छ । यस्तो फिल्म पक्कै सफल हुनेछ ।’
घईको फिल्ममा गायकका रूपमा देखिएलान् ज्याकी ?
सुभाष घईले ज्याकीको गायन प्रतिभाको प्रशंसा गरेको यो पहिलोपटक भने होइन । यसअघि नोभेम्बर १ मा पनि उनले ज्याकीको तस्बिरसहित सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उक्त तस्बिरमा ज्याकी रेकर्डिङ स्टुडियोमा देखिएका थिए ।
त्यसबेला घईले लेखेका थिए, ‘के तपाईंलाई थाहा छ, ज्याकी श्रफ माइक्रोफोनअगाडि उभिएर गीत पनि गाउँछन् ? हो, उनले हाम्रो स्टुडियोमा मेरा लागि गीत गाएका थिए । उनको गायकीले त्यहाँ उपस्थित सबैलाई चकित बनाएको थियो । कुन फिल्मका लागि ? यसका लागि कहिलेकाहीँ प्रतीक्षा गर्नुपर्छ ।’
ज्याकी श्रफ र सुभाष घईबीच निकै राम्रो सम्बन्ध छ । ज्याकीलाई अभिनय क्षेत्रमा स्थापित गर्ने श्रेय पनि घईलाई नै जान्छ । उनले सन् १९८३ मा प्रदर्शन भएको फिल्म ‘हिरो’ मार्फत ज्याकीलाई मुख्य अभिनेताका रूपमा बलिउडमा प्रवेश गराएका थिए ।
प्रतिक्रिया 4