News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता कर्मा शाक्य र अभिनेत्री परीक्षा लिम्बु अभिनीत फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने भएको छ।
- फिल्ममा कर्माले ‘प्रकाश’ नामक नकारात्मक चरित्र र परीक्षा लिम्बुले ‘सोनाम’को भूमिका निर्वाह गरेकी छिन्।
काठमाडौं । अभिनेता कर्मा शाक्य र अभिनेत्री परीक्षा लिम्बुका लागि आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘हिमालयन गोल्ड’ विशेष बनेको छ । फरक कथावस्तु, हिमाली परिवेश र चुनौतीपूर्ण चरित्रका कारण दुवै कलाकारले यस फिल्मलाई आफ्नो करियरको नयाँ अनुभवका रूपमा लिएका छन् ।
फिल्ममा कर्मा ‘प्रकाश’ नामक नकारात्मक चरित्रमा देखिँदैछन् भने परीक्षा ‘सोनाम’ को भूमिकामा छिन् । कर्माका लागि यो चरित्र उनका यसअघिका केही फिल्ममा देखिएका खलपात्रभन्दा फरक अनुभव हो । उनी आफ्नो चरित्रलाई पुरानो भाषामा ‘गुण्डा’ भन्न रुचाउँछन् । यद्यपि, उनको बुझाइमा पात्रले गर्ने काम उसको परिस्थिति र अवस्थाले निर्धारण गर्छ ।
‘मेरो चरित्र नै नेगेटिभ सेडको छ । पहिलाको चलनचल्तीको भाषामा भन्नुपर्दा गुण्डाको छ । तर म त्यसलाई त्यसरी लिँदिनँ, किनकि यो एउटा पात्र हो । संयोगवश त्यो पात्रले आफ्नो परिस्थितिअनुसार काम गरेको हुन्छ,’ कर्मा भन्छन् । उनका अनुसार फिल्ममा उनको पात्रले यार्सागुम्बा लुट्नेदेखि अन्य आपराधिक गतिविधिसम्म गर्छ । यसअघि फिल्म ‘लुट’ मा बैंक लुट्ने पात्रको भूमिका निर्वाह गरेका कर्मा कुनै पनि चरित्रलाई उसको परिस्थितिबाट अलग गरेर हेर्न नहुने बताउँछन् ।

अभिनेत्री परीक्षा भने ‘सोनाम’ पात्रलाई फिल्मको महत्वपूर्ण आधारका रूपमा लिन्छिन् । उनका लागि हिमाली परिवेशमा आधारित कथामा काम गर्नु नयाँ अनुभवसँगै चुनौती पनि थियो । आफूले यसअघि प्रत्यक्ष रूपमा नभेटेको र नदेखेको परिवेश तथा पात्रलाई पर्दामा उतार्नुपर्ने भएकाले सुरुमा उत्साहसँगै केही नर्भसनेससमेत भएको उनी सुनाउँछिन् ।
‘म उत्साहित पनि थिएँ र अलिकति नर्भस पनि’ उनी भन्छिन्, ‘यस्तो परिवेशको कथा र चरित्र दर्शकमाझ आउनुपर्छ भन्ने लागेको थियो । हिमाली भेगको कथामा मैले आफूलाई कहिल्यै एक्सप्लोर गरेकी थिइनँ । त्यसैले यो चरित्र मेरा लागि चुनौतीपूर्ण थियो ।’
सोनाम पात्रलाई बुझ्न उनले त्यसको सोचाइ, व्यवहार, परिस्थिति र निर्णयपछाडिका कारणलाई केलाउने प्रयास गरेकी छन् । यसका लागि निर्देशक धिराज राजवंशीसँग चरित्रबारे लामो छलफलसमेत भएको थियो । परीक्षाका अनुसार टिमको सहयोग र निर्देशकको स्पष्ट भिजनले पात्रलाई पर्दामा उतार्न सहज बनाएको हो।

कर्मा र परीक्षा दुवैका लागि फिल्मको कथावस्तु र प्रस्तुति आकर्षणका अर्को पक्ष हुन् । निर्देशक धिराज राजवंशीको यो पहिलो निर्देशकीय फिल्म भए पनि कर्माले यसको स्क्रिप्ट र चरित्र निर्माणलाई पृथक् पाएका छन् । निर्देशकका पिता राजु राजवंशीसँग यसअघि फिल्म ‘शेरबहादुर’ मा काम गरिसकेका कर्मालाई धिराजसँग सहकार्य गर्न पनि सहज भएको थियो ।
यता, परीक्षा अग्रज कलाकारहरूसँग काम गर्नुलाई चुनौतीभन्दा पनि सिकाइको अवसर मान्छिन् । फिल्ममा सुनिल थापा, मेनुका प्रधानलगायतका कलाकारसँग पर्दा बाँड्न पाउँदा आफ्नो आत्मविश्वाससमेत बढेको उनको अनुभव छ । उनी दर्शकले फिल्म हेरिसकेपछि आफूलाई भन्दा पनि सोनाम पात्रलाई लामो समयसम्म सम्झिरहून् भन्ने चाहन्छिन् ।
फिल्मको छायांकनका क्रममा मुस्ताङको उच्च हिमाली क्षेत्र र गुफामा एक्सन दृश्य खिच्नु पनि कलाकारका लागि चुनौतीपूर्ण बनेको थियो । विशेषगरी अक्सिजनको कमी र धुलोका कारण सुटिङ सहज थिएन । उक्त गुफामा झन्डै पाँच दिन लगाएर एक्सन दृश्य खिचिएको कर्मा बताउँछन् । यार्सागुम्बा संकलन हुने डोल्पालगायतका क्षेत्रको परिवेशबारे यसअघि नै केही अनुभव बटुलेका कर्मालाई फिल्मले त्यो संसारलाई नजिकबाट बुझ्ने अवसरसमेत दिएको छ ।
ह्वाइट एलिफेन्ट मोसन पिक्चर प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘हिमालयन गोल्ड’ सर्भाइभल थ्रिलर विधाको फिल्म हो । हिमाली परिवेशमा अस्तित्वको संघर्ष, लोभ र विश्वासघातको कथा प्रस्तुत गर्ने फिल्ममा कर्मा शाक्य, परीक्षा लिम्बु र सुनिल थापासँगै मेनुका प्रधान, राहुल एन. मुखिया, अङ्कित खड्का, सुनिल तामाङ, तेन्जिङ ठकुरी, सविता अधिकारी र ऋषिकेश बस्याललगायतका कलाकारको अभिनय छ ।

फिल्मको सबैभन्दा भावनात्मक पक्ष वरिष्ठ अभिनेता सुनिल थापाको अन्तिम चलचित्र हुनु हो । निर्देशक धिराज राजवंशीका अनुसार थापाको अन्तिम अभिनयलाई नेपाल र भारतका दर्शकमाझ पुर्याउन पाउनु उनका लागि थापाप्रति श्रद्धाञ्जली अर्पण गर्ने अवसर हुनेछ ।
फिल्मका निर्माता मीनबहादुर भाम, लाइन प्रोड्युसर शैलेन्द्र डी. कार्की, सह-निर्माता सुयश ज्ञवाली र कार्यकारी निर्माता राजु राजवंशी हुन् । निर्देशक राजवंशीकै कथा रहेको फिल्ममा दीपेन्द्र गौचन र धिराज राजवंशीको पटकथा, विशिष्ट प्रधानको डीओपी तथा निमेश श्रेष्ठको सम्पादन रहेको छ । फिल्मको भिएफएक्स सजल लोप्चन र करुण थापाले गरेका छन् ।
नेपालमा एप्पल इन्टरटेनमेन्टले वितरण गर्ने फिल्मलाई भारतमा प्रतिष्ठित वितरण कम्पनी ए ए फिल्म्सले प्रदर्शन गर्नेछ । ए ए फिल्म्सले ‘बाहुबली’, ‘आरआरआर’ र ‘केजीएफ’जस्ता फिल्म वितरण गरिसकेको छ । यसबाहेक मध्यपूर्वमा फार्स फिल्म्स मोसन पिक्चर्स र जापानमा टोकियो ड्रिम इन्टरटेनमेन्टले फिल्म वितरणको जिम्मेवारी लिएका छन् ।
निर्माण टिमका अनुसार नेपाली फिल्मले ए ए फिल्म्सजस्तो प्रतिष्ठित कम्पनीमार्फत भारतव्यापी प्रदर्शनको अवसर पाउनु महत्वपूर्ण उपलब्धि हो । थडानीले फिल्मको कथावस्तुले भाषा र भौगोलिक सीमाभन्दा बाहिरका दर्शकसँग पनि जोडिन सक्ने विश्वास व्यक्त गरेका छन् ।
मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने ‘हिमालयन गोल्ड’ लाई कर्मा र परीक्षाले फरक कथावस्तु, नयाँ चरित्र र अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने सम्भावनासहितको विशेष फिल्मका रूपमा लिएका छन् ।
प्रतिक्रिया 4