२ मंसिर, काठमाडौं । कोप–३१ चलिरहेको टर्कीएको आन्ताल्यामा नेपालीहरूले बाढीमा ज्यान गुमाएकाहरूको शवको नमुना राखेर प्रदर्शन गरेका छन् ।
बाढी र जलवायुजन्य विपद्ले निम्त्याउने मानवीय क्षति, परिवारले भोग्नुपर्ने पीडा र बेपत्ता आफन्तको अन्तिम संस्कारसमेत गर्न नपाउने अवस्थालाई दर्शाउन चार वटा नमुना शव राखेर प्रदर्शन गरिएको सहभागीहरूले बताएका छन् ।
प्रदर्शनमा सहभागी युवाहरूले ‘नेपाललाई जलवायु न्याय चाहिन्छ’, ‘ऋण होइन, क्षतिपूर्ति चाहिन्छ’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको गम्भीर असर नेपालले भोगिरहेको भन्दै उनीहरूले जलवायु संकटका लागि बढी जिम्मेवार पक्षले यसको आर्थिक दायित्व लिनुपर्नेमा जोड दिएका थिए ।
नेपाली वक्ताहरूले जलवायु परिवर्तनबाट प्रभावित नेपाललाई ऋण दिएर थप आर्थिक भार बोकाउनुको सट्टा प्रदूषणका लागि जिम्मेवार पक्षले क्षतिपूर्ति दिनुपर्ने बताए । कार्यक्रममा बोल्दै पेमा वाङ्मो तामाङले भनिन्, ‘हामीलाई सहानुभूति होइन, न्याय चाहिएको छ ।’
आन्ताल्यामा भएको यो प्रदर्शनले जलवायु परिवर्तनमा न्यून योगदान भए पनि यसको असमान र गम्भीर असर भोगिरहेका नेपालजस्ता देशको क्षतिपूर्ति र जलवायु न्यायसम्बन्धी आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाएको छ ।
प्रदर्शनमा रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएका नागरिकहरूको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम समेत गरिएको थियो ।
प्रतिक्रिया 4