+
+
Shares

चीनमा एकैसाथ देखिए ट्रम्प, सी र पुटिन

भिडियोमा ट्रम्प, सी जिनपिङ र उनकी पत्नी उभिइरहेको देखिन्छ । त्यही बेला पुटिन त्यहाँ पुग्छन् र ट्रम्पसँग हात मिलाउँछन् । त्यसपछि दुवै नेताले एकअर्काको काँधमा हात राखेर समेत अभिवादन गर्छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर २ गते २१:२८

चीनको सेन्जेनमा बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ र  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटघाट भएको छ ।  क्रेमलिनले टेलिग्राममार्फत सार्वजनिक गरेको भिडियोमा पुटिन, ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङ रेड कार्पेटमा सँगै देखिएका छन् ।

भिडियोमा ट्रम्प, सी जिनपिङ र उनकी पत्नी उभिइरहेको देखिन्छ । त्यही बेला पुटिन त्यहाँ पुग्छन् र ट्रम्पसँग हात मिलाउँछन् । त्यसपछि दुवै नेताले एकअर्काको काँधमा हात राखेर समेत अभिवादन गर्छन् ।

सन् २०२५ अगस्टमा अमेरिकाको अलास्कामा भएको रुस–अमेरिका शिखर बैठकपछि ट्रम्प र पुटिनबीच भएको यो पहिलो प्रत्यक्ष भेट हो । त्यसैले यस भेटलाई कूटनीतिक दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।

बिहीबार दिउँसो सी जिनपिङ, डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीच त्रिपक्षीय शिखर बैठक पनि प्रस्तावित छ । तीनै नेताले एकैसाथ औपचारिक बैठक गर्न लागेको यो पहिलो अवसर हुनेछ ।

यसअघि बुधबारै ट्रम्प चीन पुग्दा चिनियाँ राष्ट्रपति सी विमानस्थल पुगेर स्वागत गरेका थिए । मनिलादेखि सेन्जेनसम्म भ्रमणका लगभग हरेक गन्तव्यमा ट्रम्पका लागि रेड कार्पेट बिछ्याइएको थियो ।

रुसमा उत्साह

उता रुसी सञ्चारमाध्यमले ट्रम्प, सी र पुटिन एकै ठाउँमा उपस्थित भएको दृश्यलाई ठूलो कूटनीतिक उपलब्धिका रूपमा प्रस्तुत गरिरहेका छन् ।

केही रुसी सञ्चारमाध्यमले उक्त दृश्यलाई दिनकै सबैभन्दा महत्त्वपूर्ण तस्बिरका रूपमा प्रस्तुत गरेका छन् भने एक सरकारी समाचार एजेन्सीले यसलाई ‘ऐतिहासिक हात मिलाइ’ को संज्ञा दिएको छ ।

बीबीसी रुसीकी पत्रकार लिजा फोख्तका अनुसार, क्रेमलिनले विश्वसामु देखाउन चाहेको तस्बिर यही हो ।

रुस विश्वका तीन ठूला अर्थतन्त्रमध्येमा पर्दैन । तर यस मञ्चमा पुटिनले आफूलाई डोनल्ड ट्रम्प र सी जिनपिङकै बराबरको विश्वशक्तिको नेताका रूपमा स्थापित गर्ने प्रयास गरिरहेको देखिन्छ ।

रुसले यस अवसरमार्फत युक्रेन युद्धपछि आफूलाई अन्तर्राष्ट्रिय रूपमा एक्ल्याउने पश्चिमा मुलुकहरूको प्रयास सफल नभएको सन्देश दिन खोजेको छ । मस्कोले आफू अझै पनि विश्व राजनीतिका सबैभन्दा प्रभावशाली शक्तिहरूमध्ये एक रहेको देखाउन चाहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?