+
+
Shares

किन पुटिन, ट्रम्प र सी नयाँ ‘बिग थ्री’ हुन सक्दैनन् ?

सेन्जेन शिखर सम्मेलनबाट निस्कन सक्ने सम्भावित त्रासदीपूर्ण परिणामको कल्पना गर्न पनि उत्तिकै सजिलो छ। यदि परिस्थिति नराम्ररी बिग्रियो भने तीनै जना नेताहरू एक-अर्काको  ‘मूल स्वार्थ ‘लाई मान्यता दिन सहमत हुन सक्छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १ गते १६:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फाइनान्सियल टाइम्समा प्रकाशित लेखले सी चिनफिङ, डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनको बैठकलाई १९४५ को याल्टा शिखर सम्मेलनसँग तुलना गर्दा त्यो भ्रामक भएको बताएको छ ।
  • लेखका अनुसार यो बैठकबाट युक्रेन, ताइवान, इरान र आणविक निःशस्त्रीकरणबारे केही प्रतीकात्मक सहमति हुन सक्छ, तर ठोस सम्झौता हुने सम्भावना कम छ ।
  • लेखले आजका अमेरिका, चीन र रुस विश्वमाथि आफ्ना सर्त लाद्ने अवस्थामा नरहेको र याल्टाजस्तो विश्व पुनर्निर्माणको युग समाप्त भइसकेको निष्कर्ष निकालेको छ ।

एक कम्युनिस्टका नाताले सी चिनफिङ मार्क्सको यो प्रसिद्ध भनाइसँग परिचित हुनुपर्छ – ‘विश्व इतिहासका सबै ठूला घटना र व्यक्तित्वहरू, भनौँ भने, दुई पटक देखा पर्छन्… पहिलो पटक त्रासदी (ट्र्याजेडी) को रूपमा, र दोस्रो पटक प्रहसन (फार्स ) को रूपमा। ‘

यस हप्ता सी चिनफिङ, डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीच हुन लागेको बैठकलाई सन् १९४५ मा चर्चिल, रुजवेल्ट र स्टालिनबीच भएको याल्टा शिखर सम्मेलनको दोस्रो संस्करण रूपमा व्यापक प्रचार गरिएको छ। त्यसो भए के सी, ट्रम्प र पुटिन नै नयाँ ‘बिग थ्री’ (तीन ठूला महाशक्ति) हुन् त? अनि उनीहरूको यो बैठक त्रासदीमा टुङ्गिने सम्भावना बढी छ कि प्रहसनमा?

जहाँ ट्रम्प संलग्न हुन्छन्, त्यहाँ प्रहसनको तत्त्व सधैँ एक बलियो सम्भावनाका रूपमा रहन्छ। वास्तवमा, मार्क्सले त्रासदी र प्रहसनबारे आफ्नो प्रसिद्ध टिप्पणी गरेको सोही कृति (द एटिन्थ ब्रुमेर अफ लुई बोनापार्ट) मा, उनले ती परिस्थितिहरूमाथि पनि चिन्तन गरेका थिए जसले  ‘एउटा औसत दर्जाको विद्रूप व्यक्ति(ग्रोतेस्क मिडिओक्रिटी) लाई नायकको भूमिका खेल्न सम्भव तुल्यायो। ‘ (त्यसबेला उनको दिमागमा फ्रान्सका नेपोलियन तृतीय थिए।)

सेन्जेन शिखर सम्मेलनबाट निस्कन सक्ने सम्भावित त्रासदीपूर्ण परिणामको कल्पना गर्न पनि उत्तिकै सजिलो छ। यदि परिस्थिति नराम्ररी बिग्रियो भने, चीनले रुचाउने शब्दावली प्रयोग गर्ने हो भने, तीनै जना नेताहरू एक-अर्काको  ‘मूल स्वार्थ ‘लाई मान्यता दिन सहमत हुन सक्छन्।

उनीहरूले युक्रेन युद्धप्रतिको रुसी दृष्टिकोण र ताइवानको भविष्यप्रतिको चिनियाँ दृष्टिकोणलाई समर्थन गर्न सक्छन्। यसको बदलामा ट्रम्पलाई इरानका विषयमा केही सहयोग वा अमेरिकी अर्थतन्त्रका लागि केही  ‘उपलब्धिहरू ‘ (विन्स) दिन सकिन्छ।

यद्यपि, बैठकको छोटो अवधि र संरचनाका कारण कुनै ठोस नयाँ सम्झौताहरू हुने सम्भावना कम देखिन्छ। वास्तवमा, आ-आफ्नै कारणहरूले गर्दा, तीनै जना नेताहरू एउटा सामूहिक तस्बिरको प्रतीकात्मकतामै सन्तुष्ट हुन सक्छन्।

रुसले विश्वको एक महाशक्तिको रूपमा आफ्नो हैसियत गुमाउँदै गएको डरले पुटिनलाई लामो समयदेखि सताइरहेको छ। पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाले एकपटक भनेका थिए कि अन्तर्राष्ट्रिय जमघटहरूमा रुसी नेता कक्षाकोठाको पछाडि बसेको दिक्क मानेको बच्चा जस्तो देखिन्छन्। त्यसैले विश्वका दुई ठूला महाशक्तिहरू अमेरिका र चीनका नेताहरूको छेउमा उभिएको रुसी राष्ट्रपतिको तस्बिर पुटिनका लागि एक ठूलो प्रतीकात्मक जित हुनेछ।

शक्तिको प्रतीकात्मकता सीका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ। उनले  ‘चिनियाँ जनताको महान् पुनर्जागरण ‘ लाई आफ्नो मुख्य विषय बनाएका छन् ।  अर्को वर्ष कम्युनिस्ट पार्टीको नेताको रूपमा चौथो कार्यकाल सुरक्षित गर्ने स्पष्ट मनसाय राखेका छन्। सीको आन्तरिक वैधता र उनको अन्तर्राष्ट्रिय छवि एक-अर्कासँग गहिरो रूपमा गाँसिएका छन्। अमेरिका र रुसका भ्रमणकारी राष्ट्रपतिहरूका बीचमा घटनाक्रमको केन्द्रमा रहेका एक उदार आयोजकका रूपमा चित्रित गर्ने शिखर सम्मेलनको तस्बिरबाट यी दुवै पक्षलाई बल पुग्न सक्छ।

अमेरिकी मध्यावधि निर्वाचनको अपमानपछि, ट्रम्पले पनि विश्व मञ्चमा आफ्नो शक्ति र हैसियत पुनः स्थापित गर्ने अवसरको आनन्द लिन सक्छन्। चिनियाँ सरकार भ्रमणमा आउने विश्व नेताहरूको अहम्‌लाई सुम्सुम्याउन माहिर छ।

निस्सन्देह, तस्बिर खिचाउने अवसर (फोटो अपर्चुनिटी) कुनै ठोस उपलब्धिमा परिणत हुने सम्भावना सधैँ रहन्छ – विशेष गरी यदि बैठक निर्धारित समयभन्दा लम्बियो भने। पुटिनले युक्रेनको विषयलाई कार्यसूचीमा राख्ने प्रयास गर्न सक्छन्। अनि पुटिनसँग कुरा गरेपछि युक्रेनबारे रुसी दृष्टिकोणतर्फ ढल्किने ट्रम्पको पुरानै बानी छ।

त्यसैगरी, सीसँगका अघिल्ला बैठकहरूपछि ट्रम्पले ताइवानबारे चिनियाँ तर्कहरू दोहोर्‍याएका छन् । उदाहरणका लागि, गत मे महिनामा ताइवानीहरूलाई स्वतन्त्रताका लागि अस्थिरता निम्त्याउने कदम नचाल्न चेतावनी दिएका थिए। तर ट्रम्पका अभिव्यक्तिहरू यति अनिश्चित र उल्टिन सक्ने खालका हुन्छन् कि तिनले अघिल्ला अमेरिकी राष्ट्रपतिहरूका घोषणाहरूको जस्तो वजन बोक्दैनन्। यदि उनले सेन्जेनमा अप्रत्याशित सहुलियतहरू दिए पनि, कार्यक्रमपछि उनका सहयोगी र साझेदारहरूले तिनलाई कमजोर बनाउने सम्भावना रहन्छ।

ट्रम्पले आणविक निःशस्त्रीकरणबारे छलफल गर्न चाहेको बताएका छन्। यो एक महत्त्वपूर्ण विषय हो । कारण – मुख्य आणविक हतियार नियन्त्रण सन्धिहरूको म्याद सकिसकेको छ। आणविक हतियार रुसीहरूका लागि पनि मनपर्ने विषय हो । विश्वकै सबैभन्दा ठूलो मानिने उनीहरूको विशाल आणविक भण्डार महाशक्तिको हैसियत दाबी गर्ने केही बाँकी आधारहरूमध्ये एक हो। तर, आफ्नो सानो भण्डारलाई तीव्र गतिमा बढाइरहेको चीनले हाल आणविक हतियार सीमित गर्ने वार्तामा आफू इच्छुक नरहेको स्पष्ट पारिसकेको छ। त्यसैले त्यहाँ कुनै ठूलो सफलता हात लाग्ने सम्भावना न्यून छ।

अझ व्यापक रूपमा भन्नुपर्दा, चिनियाँ कूटनीतिको शैली खुला छलफल र अप्रत्याशित नतिजाहरूबाट टाढा रहनु हो। पहिले नै तयार पारिएको ‘स्क्रिप्ट’ मै कडाइका साथ अडिग रहने सीको प्राथमिकता नै सेन्जेनको त्रिपक्षीय बैठकले विश्व हल्लाउने नतिजा ननिकाल्ने अर्को कारण हो।

तर सन् १९४५ को ‘बिग थ्री’ बैठकसँगको तुलना भ्रामक हुनुको सबैभन्दा महत्त्वपूर्ण कारण संलग्न नेताहरूभन्दा निकै पर छ। हामी केवल नितान्त फरक समयमा बाँचिरहेका छौँ।

याल्टामा चर्चिल, रुजवेल्ट र स्टालिन विश्व व्यवस्थालाई पुनर्निर्माण गरिरहेको एक विश्वयुद्धको बीचमा भेटेका थिए। बेलायती र अमेरिकी सेनाहरू जर्मनीभित्र लड्दै छिरिसकेका थिए। रुसी सेना बर्लिन प्रवेश गर्न तीन महिनाभन्दा कम समय मात्र टाढा थियो। अमेरिका पहिलो परमाणु बम खसाल्न छ महिना मात्र टाढा थियो।

यसको विपरीत, आजका  ‘बिग थ्री ‘ विश्वमाथि आफ्नो हैकम थोपर्न निकै कम सक्षम देखिन्छन्। अफगानिस्तानमा तालिबानलाई पराजित गर्न असफल भएपछि अमेरिका इरानलाई पनि पराजित गर्न असफल भएको छ। चार वर्षभन्दा बढी समयको क्रूर युद्धपछि ( जुन स्टालिनलाई बर्लिन पुग्न लागेको समयभन्दा पनि लामो हो) पुटिनका सेनाहरू अझै पनि पूर्वी युक्रेनमै अड्किएका छन्। अनि सीले चीनबाट मात्र १०० माइल टाढा रहेको २ करोड ३० लाख जनसङ्ख्या भएको टापु ताइवानलाई कसरी आफ्नो अधीनमा ल्याउने भन्ने उपाय अझै निकाल्न सकेका छैनन्।

सौभाग्यवश, हामी अब त्यस्तो समयमा बाँचिरहेका छैनौँ जहाँ कुनै  ‘बिग थ्री ‘ ले बाँकी विश्वलाई आफ्ना सर्तहरू लाद्न सकुन्।

( फाइनान्सियल टाइम्समा प्रकाशित लेखको अनुवाद )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?